Comments Add Comment

कांग्रेसको तर्क- यसकारण सांसदलाई निलम्बन गर्न मिल्दैन

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सांसदको योग्यता र अयोग्यताको विषय संविधानमा नै किटान गरेकाले नियमावली लगाएर सांसदहरुको निलम्बन गर्न नमिल्ने बताएका छन् ।

नियमावली मस्यौदामाथि छलफल गर्दै रिजालले संविधानमा सांसदको अयोग्यताको विषय संघीय कानुनले मात्र किटान गर्न सक्ने भन्दै उनले नियमावलीमा निलम्वनको व्यवस्था राख्न नहुने बताएका हुन् ।

‘सांसदको अयोग्यताको विषय संघीय कानुनले तोकेको हुनुपर्‍यो । त्यसको व्यवस्था नियमावलीबाट हुन सक्दैन’ रिजालले भने, ‘नियमावली संविधानको धारा १०४ बमोजिम संसदको कार्य सञ्चालन गर्नका लागि मात्र बनेको हो । नियमावली त्यसभन्दा अगाडि जान सक्दैन ।’

नियमावलीबाटै सांसद पद समाप्त हुने हो भने ७० वर्षको उपलब्धि खेर फाल्नुसरह हुने डा. रिजालले बताए ।

एउटा सांसदले उसका मतदाताले भन्दा बढी सहुलियत पाउनुहुँदैन भन्नेमा आफूहरु सहमत भए पनि संसदको कार्यसञ्चालनका लागि बनेको नियमावलीले सांसदको अयोग्यताबारे व्यवस्था गरेमा गलत नजीर बस्ने रिजालको तर्क छ ।

सांसद रिजालले सांसदको अयोग्यतासम्बन्धी सरकारले छुट्टै ऐन ल्याउनुपर्ने बताए । उनले भने- ‘सरकारले अयोग्यता सम्बन्धी संघीय कानुन ल्याओस् । त्यसमा निलम्बनको व्यवस्था ल्याओस् हामी मान्छौं । तर संसद सञ्चालन गर्ने नियमावलीमा त्यो कुरा राख्न पाइँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment