Comments Add Comment

सिन्धुपाल्चोकका विद्यालयहरुमा विपद कोष स्थापना

शिक्षक र विद्यार्थीलाई आपतमा सहयोग गरिने

२९ जेठ, सिन्धुपाल्चोक । एक वर्षअघि विद्यालयमा छोरोको हात भाँचिदा उपचारका लागि मलङगाई तामाङको परिवारसँग पैसा थिएन । रोजगारीको सिलसिलामा भारतमा रहेका उनले गाउँलेसँग पैसाको जोहो गरेर भोलिपल्ट मात्रै छोरोको उपचार सुरु गराए ।

यस्तो अवस्था अरुलाई पर्न नदिने उपाय खोजिरहेका मलङगाईले हेलम्बु गाउँपालिका-५ मा रहेको आफ्नो छोरा पढ्ने उर्लेनी आधारभूत विद्यालयलाई विपद व्यबस्थापन कोष स्थापनाका लागि ३ हजार रुपैंयाँ सहयोग गरे । ‘स्कुलमैं भएको बेला दिउँसो ३/४ बजेतिर छोरा रमित तामाङको लडेर हात भाँचिएछ । श्रीमतीसँग साथमा पैसा नभएका कारण तुरुन्तै उपचारमा पठाउन सकिएन,’ तामाङले भने, ‘घटनाको बारेमा मैंले साँझ मात्रै थाहा पाएँ । गाउँलेलाई फोन गरेर पैसाको जोहो भएपछि भोलिपल्ट मात्रै उपचार गरायौं । यस्तै अवस्था हुँदा काम लाग्छ भनेर विद्यालयको विपद व्यबस्थापन कोष बनाउन ३ हजार रुपैंयाँ सहयोग गरेको हुँ ।’

विद्यार्थीलाई चोटपटक लागेको बेला साथमा रकम नहुने अभिभावकलाई कोषको पैसा निकालेर सहयोग गर्ने र पछि अभिभावकबाट उक्त रकम कोषमा राख्ने व्यबस्था गर्नु पर्ने मलङगाईको भनाइ छ ।

भारतमा होटल मज्दुरका रुपमा कार्यरत तामाङ नेपाल आउनासाथ विद्यालयमा गएर रकम सहयोग गरेका थिए ।

विद्यालयमा भएका बेला विपदमा परेका विद्यार्थी वा शिक्षकलाई तत्काल सहयोग उपलब्ध गराउने उदेश्यले कोष स्थापना गरिएको अर्का अभिभावक काले तामाङ बताउँछन् । ‘विद्यालयमा बच्चालाई चोट पटक लाग्ला, बिरामी होला, उपचार गराउनलाई चाहिन्छ भनेर कोही अभिभावकले पनि खल्तिमा पैसा बोकेर बसेको हुँदैन । मेरो छोरो यहि विद्यालयमा कक्षा १ मा पढ्छ,’ उनी भन्छन्, ‘बच्चालाई केही भयो भनेर शिक्षकले खबर गर्ने बेला हामी तत्काल उपस्थित नहुन पनि सक्छौं । त्यस्तो बेला पैसा निकालेर सर मिसले हाम्रो बच्चालाई तत्काल उपचारका लागि पठाउन सजिलो हुन्छ भनेर कोष बनाएको हो ।’

अहिले कोषका लागि एक हजार रुपैंयाँ सहयोग गरेका काले तामाङ हरेक अभिभावकले मासिक बचत मार्फत कोष बृद्धि गर्नु पर्ने बताउँछन् । ‘विपद व्यबस्थापन कोषलाई बृद्धि गर्नका लागि म त हरेक अभिभावकले मासिक ५० रुपैंयाँका दरले बचत गर्नु पर्छ भन्छु । हामी विपद व्यबस्थापन समितिको बैठक बसालेरै मासिक बचतका बारेमा निर्णय गर्छौं’ उनले भने ।

उर्लेनी आधारभूत विद्यालयमा २५ हजार ५५ रुपैंयाँ बराबरको कोष स्थापना भएको प्रधानाध्यापक सूर्जेमान तामाङले बताए । ‘विद्यालयको विपद व्यबस्थापन योजना निर्माणका लागि आयोजना गरेको कार्यशालामा अभिभावक, शिक्षक तथा कर्मचारीबाट २५ हजार ५५ रुपैंयाँ बराबरको कोष स्थापना भयो । मैंले पनि उक्त कोषका लागि ५ हजार ५ सय ५५ रुपैंयाँ उपलब्ध गराएको छु,’ सूर्जेमानले भने, ‘संकलन भएको रकमलाई हामी नजिकैको सहकारी संस्थामा विपद व्यबस्थापन समितिको नाममा खाता खोलेर जम्मा गर्छौं ।’

मासिक बचत गर्ने निर्णय भयो भने त्यसलाई पनि कोषमैं जम्मा गर्छौं र कोष सञ्चालन तथा व्यबस्थापन कार्यविधि बनाएर कोषलाई व्यबस्थित रुपमा परिचालन गर्ने योजना बनाएको प्रधानध्यापक तामाङले जानकारी दिए ।

विद्यालयमा स्थापना भएको कोष बृद्धिका लागि वडा कार्यालय, गाउँपालिका तथा साझेदार गैरसरकारी संघ संस्थासँग पनि समन्वय गरेर अघि बढ्ने योजना रहेको तामाङले बताए ।

पञ्चकन्या आधारभूत विद्यालय -तालामाराङ) मा ०७२ फागुनमा अतिरिक्त कि्रयाकलाप अन्तर्गत हाइजम्प प्रतियोगितामा सहभागी दिपीका कार्कीको लडेर हात भाँचियो ।

विद्यालयमैं भएको प्रतियोगितामा घाइते कार्कीको उपचारका लागि शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी समेतले ८ हजार ५ सय रुपैंयाँ संकलन गरे । ‘हाइजम्पका लागि उपि|mएकी कक्षा ३ की छात्रा दिपीका असन्तुलित भएर लडीन् र हात भाँचियो । परिवारको पनि आर्थिक अवस्था कमजोर भएको र विद्यालयमा घटेको घटना भएकोले हामीलाई पनि केहि गर्न दबाब थियो,’ प्रधानाध्यापक सूर्यप्रसाद सिग्देलले भने-‘हामीसँग विपद व्यबस्थापन, पूर्वतयारी लगायतको ज्ञान पनि नभएको र विद्यालयमा कुनै स्रोत नभएकोले रकम संकलन गर्‍यौं ।’

विद्यालयको विपद कोषमा स्थानीय सामुदायिक विकास तथा वातवरण संरषण मञ्च सिडिइसिएफले विपद व्यबस्थापन कोष स्थापनाका लागि सहजिकरण गरेको प्रधानध्यपक सिग्देलले जानकारी दिए ।

विपद व्यबस्थापन योजना निर्माणका लागि विद्यालयमा आयोजित कार्यशालामा सहभागी शिक्षक र अभिभावक ले स्वेच्छीक रुपमा सहयोग विपद कोषमा सहयोग गरेका थिए ।

हाल उक्त कोषमा २७ हजार एक सय ९५ रुपैंयाँ जम्मा भएको छ । कोषमा प्रधानाध्यापक सिग्देलले मात्रै ५ हजार रुपैंयाँ उपलब्ध गराए । विद्यालय समयमा भएका घटना दुर्घटनाबाट प्रभावित विद्यार्थी तथा शिक्षकलाई व्यबस्थित रुपमा तत्काल सहयोग उपलब्ध गराउन कोष स्थापना गरिएको प्रधानध्यापक सिग्देलको भनाइ थियो ।

कोष मात्रै होइन विपद् सम्बन्धी चेतना

विद्यालयमा खोलिएको विपद कोषमा रकम मात्रै जम्मा भएको छैन,स्कुल समयमा केही विपद भयो भने त्यसबाट कसरी जोगिने भनेर विद्यार्थीहरुमा चेतना पनि फैलाउन थालिएको छ ।

भूकम्प, आगलागी, चट्याङ, बाढी पहिरो लगायत प्राकृति विपत्तमा कसरी सुरक्षित हुन सकिन्छ भनेर विद्यालयमा यस्तो कार्यक्रमहरु समेत सुरु गरिएको छ ।

विद्यालयमा मात्रै होइन विद्यार्थीको माध्यमबाट समुदाय स्तरमासमेत चेतना फिजाउने गरिएको तेर्से मावि तालमारङका प्रधानध्यापक कृष्ण ढुगानाले जानकारी दिए ।

३६ विद्यालयमा यस्तो कोष

भूकम्प लगतै कारितास स्वीटजरल्याण्डको आर्थिक सहयोगमा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च -सीडीइसीइफ) ले सञ्चालन गरेको सिन्धुपाल्चोकका भूकम्प प्रभावित विद्यालयको पुनस्र्थापना परियोजना सुरु गरिरहेको छ ।

जिल्लाका पश्चिीम क्षेत्रको मेलम्ची नगरपालिका,हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकाको ३६ विद्यालय पुनर्निर्माण भइरहेको छ ।

३६ मध्ये २३ वटा विद्यालयमा विपद व्यबस्थापन योजना निर्माण भएकोमा १५ विद्यालयमा विपद व्यबस्थापन कोष स्थापना भएका छन् । ‘मेलम्ची नगरपालिका वडा नम्बर ६, ७ र ८ तथा हेलम्बु गाउँपालिकाका वडा नम्बर १, ३, ४, ५, ६ र ७ का ११ वटा आधारभूत र ४ वटा माध्यामिक विद्यालयमा गरी जम्मा २ लाख २५ हजार ७ सय ३१ रुपैंयाँ बराबरको विपद व्यबस्थापन कोष स्थापना भएको हो ।’ कार्यक्रम संयोजक इच्छाराम सापकोटाले भने, ‘शिक्षक, अभिभावक, कर्मचारी तथा विद्यार्थीबाट संकलित रकमबाट कम्तिमा २ हजार ५ सय रुपैंयाँ -जागेश्वरी आधारभुत विद्यालय तालामाराङ) देखि बढीमा ४० हजार ७ सय ६० रुपैंयाँ -बालसुधार माध्यामिक विद्यालय दुवाचौर) सम्म संकलन भएर कोष स्थापना भएको छ ।’

विद्यालय सुधार योजनामैं विपद जोखिम न्यूनिकरण सम्बन्धी कृयाकलापहरु अनिवार्य रुपमा समावेश गरेर कार्यान्वयन गर्नु पर्ने कानुनी व्यबस्था कार्यान्वयनका क्रममा विद्यालयमा कोष स्थापना र परिचालन हुन थालेका छन् ।

स्थानीय अभिभावक र विद्यालयको सक्रियतामा विद्यालयमा यस्तो कोष खडा भएपछि स्थानीय तहले समेत विद्यालयको यस्तो कोषका लागि आगामी वर्षदेखि बजेट विनियोजन गर्ने योजना बनाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्यालजेन शेर्पाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment