Comments Add Comment

विदेशमा कोमामा रहेका कामदारलाई अब नेपाल फर्काएर उपचार


३१ जेठ, काठमाडौं । सरकारले रोजगारी क्रममा विभिन्न मुलुकमा गम्भीर बिरामी भएर ‘कोमा’मा रहेका बिरामीलाई नेपाल ल्याउने भएको छ । यसका लागि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले कार्यविधिक निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

विदशेमा यस्ता बिरामी २५ जनाभन्दा बढी रहेको अनुमान छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांकअनुसार २३ जना कामदार विदेशी अस्पतालमै कोमामा छन् । कतारमा सबैभन्दा धेरै नेपाली कोमा छन् भने साउदी अरेबिया, कुवेत, ओमान, जापान लगायतका देशमा पनि कामदारहरु गम्भीर विरामी परेर अलपत्र छन् ।

यस्ता बिरामी ल्याएपछि निश्चित समयसम्म सरकारकै खर्चमा नेपालकै अस्पतालमा उपचार गराउने योजना छ । अहिलेसम्म सरकारले यस्ता बिरामीको जिम्मा लिन तत्परता देखाएको थिएन । सरकारले अब चासो दिएर उद्धारको तयारी अघि बढाएको श्रम मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञावालीले जानकारी दिए ।

अहिले विभिन्न दशेमा २ दर्जभन्दा बढी नेपाली कोमामा रहेको अवस्थामा उपचाररत छन् । यस्ता बिरामीलाई नेपाल ल्याउन स्वास्थ्य र श्रम मन्त्रालयले संयुक्त रुपमा प्रक्रिया थालेका हुन् ।

‘गम्भीर बिरामीलाई नेपाल ल्याएर उपचार गर्ने गरी कार्यविधि बनाउने काम धमाधम गरिरहेका छौं,’ श्रम मन्त्रालयका प्रवक्ता ज्ञावालीले भने,’केही समयभित्रै यसलाई टुंगोमा पुर्‍याउँछौं ।’

कामका सिलसिलामा दुर्घटनामा परेर वा गम्भीर बिरामी भएर कोमा रहेका धेरै कामदारलाई आफन्तले पनि भेट्न पाएका छैनन् । त्यसैले अब नेपाल नै ल्याएर नेपालकै सुविधायुक्त अस्पतालहरुमा उपचार गर्ने गरी तयारी गरिएको हो ।

यसका लागि एउटा विशेष समितिले कार्यविधि निर्माणका गरिरहेको छ । यही समितिले विदेश जाने कामदारको मेडिकल सेन्टरलाई प्रविधियुक्त र विश्वसनीय बनाउन नयाँ मापदण्ड पनि तयार गर्दैछ ।

‘हाम्रा मेडिकल सेन्टरहरु विश्वसनीय नहुँदा यहाँ पास भएर गएका पनि विदेश गएपछि फेल भएर फर्किने भए । यसले गर्दा सिन्डिकेट लाद्न पनि बाहना मिल्यो,’ ज्ञावालीले भने,’त्यसैले पनि यहाँका मेडिकललाई विश्वस्तरीय होस् भनेर नयाँ मापदण्ड बनाएका हौं ।’

अहिले नेपालमा मेडिकलमा पास भएर जाने कामदार विदशेमा भने फेल भएर फर्किने समस्या छ । यसलाई समाधान गर्न र नेपालका स्वास्थ्य संस्थाको मेडिकल रिपोर्टलाई विश्वसनीय बनाउन नयाा मापदण्डको गृहकार्य गरिएको मन्त्रालय बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment