Comments Add Comment

जापान भर्सेस सेनेगल : दुई विजेताको भिडन्त

१० असार, काठमाडौं । पहिलो खेलमा समूह ‘एच’ कै बलियो मानिएको कोलम्बियालाई २-१ ले हराएको जापानले आइतबार राति पौने ९ बजे सेनेगलसँग खेल्दै छ । सेनेगलले पनि आˆनो पहिलो खेलमा पोल्याण्डलाई २-१ गोलले नै हराएको थियो ।

अघिल्लो रचणमा जानका लागि महत्वपूर्ण रहेको सेनेगलविरुद्धको खेलमा जापानका मिडफिल्डर केसुके होन्डा हुने छैनन् । पहिलो खेलमा दास्रो रोजाइमा मैदान आएका उनी घाइते भएका थिए । यस्तै ओकाजाकीको स्थानमा भने ओसाकालाई खेलाइँदै छ ।

सेनेगलले पहिलो खेलमा पोल्याण्डसँग खेलाएको टोली नै जापानविरुद्ध उतार्दैछ ।

यसअघि जापानसँग भएको तीन मैत्रीपूर्ण खेलमा सेनेगल अपराजित रहेको छ । दुई खेल जितेको थियो भने एक खेल बराबरी भएको थियो । सेनेगलले जापानलाई सन् २००१ मा २-० ले साथै २००३ मा १-० ले हराएको थियो ।

जापानले सेनेगललाई हराएमा विश्वकप समूह चरणमा लगातार पहिलो दुई खेल जित्ने एसियन देश हुने छ ।

जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेपछि लगातार सहभागिता जनाइरहेको छ । त्यसबेला समूह चरणबाटै बाहिरिएको जापान त्यसपछि २००२ मा अन्तिम १६ सम्म पुग्यो ।

सन् २००६ मा समूह चरणबाटै बाहिरिएको जापान २०१० मा अन्तिम १६ मा पुगेको थियो । गएको ब्राजिल विश्वकप २०१४ मा पनि जापान समूह चरणबाटै बाहिरियो । समग्रमा जापानको विश्वकप सहभागिता मात्रै बनिरहेको छ ।

यसपटक युरोपमा फुटबल खेल्ने केही अनुभवी खेलाडी रहेको जापान टिमले सम्झनलायक खेल प्रदर्शन गर्दै अघिल्लो चरणसम्म पुग्ने अनुमान गरिएको छ । त्यसमा पहिलो खेलमा देखाएको लयलाई निरन्तरता दिन आवश्यक छ ।

जापानले विश्वकपमा ५ खेल जितेको छ । ४ खेल बराबरी गरेको छ । ९ खेल हारेको छ । जसमा १६ गोल गरेको जापानले २३ गोल खाएको छ ।
जापानले विश्वकप छनोटमा ६ खेल जितेको थियो । २ खेल बराबरी गरेको थियो भने २ खेल हारेको थियो । जसमा १७ गोल गरेको जापानले ७ खेल हारेको थियो ।

उता फिफा वरियतामा २७ औं स्थानमा रहेको सेनेगल दोस्रोपटक विश्वकपमा सहभागी हुँदै छ । १२ पटक विश्वकप छनोटमा सहभागी भएको सेनेगलले यसअघि सन् २००२ को विश्वकप खेलेको थियो ।

सन् २००२ मा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराएर सनसनी मच्चाएको सेनेगलले समूह चरणमा डेनमार्क र उरुग्वेसँग बराबरी खेलेको थियो । अन्तिम १६ को खेलमा स्वीडेनलाई २-१ ले हराएको सेनेगल क्वाटरफाइनलमा टर्कीसँग १-० ले पराजित भएको थियो ।

विश्वकपको पहिलो सहभागितामै क्वाटरफाइनलसम्म पुगेको सेनेगेल यसपटक पनि त्यही लय फर्काउन सक्षम देखिन्छ । पहिलो खेलमा पोल्याण्डलाई हराएबाट पनि त्यो प्रस्ट हुन्छ ।

सेनेगलले विश्वकपमा अहिलेसम्म ३ खेल जितेको छ । २ खेल बराबरी खेलेको छ । १ खेल हारेको छ । जसमा ९ गोल गरेको सेनेगलले ७ गोल खाएको छ ।

सेनेगलले विश्वकप छनोटमा ४ खेल जितेको थियो । दुई खेल बराबरी खेलेको थियो । जसमा १० गोल गरेको सेनेगलले ३ गोल खाएको थियो ।

प्रमुख खेलाडी

सडियो माने – सेनेगल

अफ्रिकन फुटबल इतिहासकै सबैभन्दा महंगा खेलाडीको कीर्तिमान बनाउँदै सन् २०१६ मा ३४ मिलियन पाउण्डमा इंग्लिस क्लब साउथहृयाम्टनबाट लिभरपुल गएका माने आफ्नो खेलशैलीका लागि चर्चित छन् ।

लिभरपुलमा जस्तै सेनेगलको राष्ट्रिय टिममा पनि तीब्रता, पास र बल बढाउने कौशलका कारण माने प्रमुख खेलाडी बनेका छन् । सन् २०१२ देखि सेनेगलको राष्ट्रिय टिममा रहेका उनले ५० खेलमा १४ गोल गरेका छन् ।

माया योसिदा – जापान

सभ्य र स्टाइलिस सेन्टर ब्याक खेलाडी हुन् माया योसिदा । उनको खेल मैदानमा प्रत्यक्ष गएर हेर्ने हुन् या टेलिभिजनको पर्दामा, विपक्षी नै भए पनि मोहित बनाइदिन्छन् ।

सन् २०१० देखि जापानको राष्ट्रिय टिममा रहेका योसिदा भरपर्दा खेलाडी हुन् । उनी सन् २०१२ देखि इंग्लिस क्लब साउथहृयाम्टनमा व्यावसायिक फुटबलमा आबद्ध छन् । त्यसअघि उनी २००७ देखि २००९ सम्म जापानमा र २०१० देखि २०१२ सम्म नेदरल्याण्ड्समा क्लब फुटबल खेल्थे । राष्ट्रिय टिमबाट खेलेका ८१ खेलमा उनले १० गोल पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment