Comments Add Comment

क्रोएसियासँग आइसल्याण्डको भाग्य परीक्षा

काठमाडौं । रसियाको सेन्ट पिटसवर्ग रंगशालामा मंगलबार राति पौने १२ बजे अर्जेन्टिनाले नाइजेरियाको सामना गरिरहँदा त्यसको १८ सय किलोमिटर पर रोस्तोभमा आइसल्याण्डले क्रोएसियासँग भाग्य परीक्षा गरिरहेको हुनेछ ।

समूह ‘डी’ कै बलियो टोलीसँग पहिलोपटक विश्वकपमा गएको आइसल्याण्डलाई सहज नभए पनि असम्भव भने छैन । युरोकप २०१६ देखि नै ठूला टिमलाई निराश पारिरहेको आइसल्याण्डले यसपटक अर्जेन्टिनालाई बराबरीमा रोकेर अघिल्लो चरणको सम्भावना बनाइरहेको छ ।

क्रोएसियासँगको पछिल्लो ६ खेलमा एक खेल मात्रै आइसल्याण्डले जितेको छ । एक खेल बराबरी भएको छ भने चार खेल हारेको छ । यो सबै विश्वकप छनोटमा भएका भेट हुन् ।

आइसल्याण्डले पहिलो खेलमा अर्जेन्टिनासँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा नाइजेरियासँग २-० ले पराजित भएको थियो ।

क्रोएसियाले भने पहिलो खेलमा नाइजेरियालाई २-० ले हराएको थियो भने दोस्रोमा अर्जेन्टिनालाई ३-० ले हराएर अघिल्लो चरण सुरक्षित गरेको थियो ।

अब नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनामध्ये एक टिम अघिल्लो चरणमा जाने छन् । अघिल्लो चरणमा जान आइसल्याण्डले क्रोएसियालाई धेरै अन्तरमा जित्नुपर्ने छ । तर नाइजेरियाले अर्जेन्टिनालाई हराउन भने हुने छैन ।

अर्जेन्टिना र नाइजेरियाको खेल बराबरी भएको अवस्थामा पनि आइसल्याण्डको सम्भावना भने रहन्छ । त्यसका लागि पनि आइसल्याण्डले क्रोएसियालाई फराकिलो अन्तरले हराउनुपर्नेछ ।

आइसल्याण्डका सेन्टर डिफेन्डर रागनर सिगार्डसन क्रोएसियाविरुद्ध खेल्ने वा नखेल्ने पक्का छैन । नाइजेरियासँगको खेलमा उनको टाउकोमा चोट लागेको थियो ।

पहिलोपटक विश्वकप खेलिरहेको आइसल्याण्ड टोलीको डिफेन्सलाइन निकै बलियो देखिन्छ । दुई वर्षअघि भएको युरोकप फुटबलमा इंग्ल्याण्डलाई हराएर आइसल्याण्डले क्वाटरफाइनल पुग्दै सबैलाई चकित पारेको थियो ।

त्यो प्रमुख प्रतियोगितामा पाएको आइसल्याण्डको ठूलो उपलब्धी थियो । अहिले विश्वकपको पहिलो खेलमा अर्जेन्टिनालाई रोकेर आइसल्याण्डले सम्भावना देखाएको छ ।

पहिलोपटक विश्वकप खेलेकाले पनि आइसल्याण्डका लागि विश्वकपमा कुनै दबाव छैन । उनीहरुको मनोबल निकै उच्च छ । एकजुट भएर खेल्ने शैलीले उनीहरुले राम्रा भनिएका टिमलाई निराश पार्न सक्छन् ।

आइसल्याण्ड टिममा युरोकपमा राम्रो गरेका धेरै खेलाडी अहिले विश्वकपमा पनि छन् । विश्वकप छनोटमा युरोपियन क्षेत्रको समूह ‘आई’ को विजेताको रुपमा विश्वकपमा स्थान बनाएको आइसल्याण्डसँग सबै टिमले चुनौती महसुस गरेका छन् । यसैले पनि क्रोएसियालाई सहज हुने छैन ।

क्रोएसिया अघिल्लो रचणमा पुगिसकेकाले प्रशिक्षक जाल्ट्को डेलिकले टिममा धेरै नै परिवर्तन गर्न लागिरहेका छन् । इभान र्‍याकिटिक, एन्टे रेबिक, सिम भरसालज्को, मारियो म्यान्जुकिज, मार्सेलो ब्रोजोभिक र भेडरान कोरलुकालाई आराम गराउने उनको तयारी छ ।

विश्वकपमा क्रोएसियाले कहिल्यै पनि समूह चरण विजेता बनेर अघिल्लो चरणमा पुगेको छैन । विश्वकप समूहमा क्रोएसियाले लगातार तीन खेल पनि कहिल्यै जितेको छैन । यसैले इतिहास बनाउने अवसर क्रोएसियासँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment