Comments Add Comment

फेवाताल किनारमा रोपाईं महोत्सव हुने

१२ असार, पोखरा । पोखरामा हरेक वर्ष हुँदै आएको रोपाईं महोत्सव यस वर्ष फेवाताल किनार पामेमा हुने भएको छ ।

पोखरा पर्यटन परिषदले वर्षेनी आयोजना गर्दै आएको असारे रोपाई महोत्सव यस वर्ष पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ फेवाताल किनार पामेस्थित अशोक पालिखे र कृष्णमोहन पराजुलीको ४ रोपनी जोग्गामा गर्न लागिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ यही असार १५ गते हुने महोत्सवको प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष तथा कार्यक्रम संयोजक केदारनाथ शर्माले जानकारी दिए ।

खेती योग्य जमिनको संरक्षण, कृषिलाई ब्यबसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गदर्ैै परम्परागत नेपाली कृषि प्राणालीमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा आन्तरिक ३० हजार र विदेशी पर्यटक ५ सयको सहभागिता रहने अनुमान गरिएको संयोजक शर्माले बताए ।

महोत्सवमा हलगोरु दौड, आमा समूहबीच असारे गीत तथा रोपाईं प्रतियोगिता, माछा समात्ने खुल्ला प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता पुरुष तथा महिला, हिलोमा महिला तथा पुरुष पर्यटक दौड प्रतियोगिता, माछा समात्ने प्रतियोगिता, रस्साकस्सी, पत्रकारहरुको हिले दौड प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिने उनले बताउ । उनका अनुसार महोत्सवको अवसरमा विविध सांस्कृतिक प्रस्तुती राखिनुका साथै स्थानीय एवम् कास्की जिल्लामा उत्कृष्ट हुने कृषकलाईसमेत सम्मान गरिनेछ ।

हलगोरु दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ३ हजार, २ हजार, १ हजार र सान्त्वनालाई ५ सयसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने जनाइएको छ । रोपाइँ तथा असारे गीत गाउने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र सान्त्वनालाई १ हजार प्रदान गरिने छ । दौड प्रतियोगितामा विजयी हुनेलाई ट्रफी प्रदान गरिने आयोजक पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुलीले बताए ।

रोपाईं महोत्सवमा खाजाका स्टलहरु राखिने आयोजकले जनाएको छ ।

महोत्सव सम्पन्न गर्न यसअघि परिषदका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा १९ सदस्यीय मुल आयोजक समिति तथा विभिन्न १८ वटा उपसमितिहरु गठन गरिएको परिषदका उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment