Comments Add Comment

यो वर्ष सरकारको योजना : १० अर्ब लगानी, १ लाख युवा स्वरोजगार

१७ साउन, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आर्थिक वर्ष २०७५/७६ मा १ लाख युवालाई स्वरोजगार बनाउने निर्णय गरेको छ ।

कोषका अध्यक्ष एवंम युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको कोषको बोर्ड बैठकले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँलगानी गरेर १ लाख युवालाई स्वरोजगार बनाउने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा भएका कोष गतिविधि तथा प्रगतिको समीक्षा गर्न बसेको बैठकले उक्त निर्णय गरेको कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेमप्रसाद दंगालले जानकारी दिए ।

डा. दंगालका अनुसार समग्रमा गत आर्थिक वर्षमा १ सय ७० प्रतिशत कोषले लक्ष्य हासिल गरेको छ । कोषले गत आर्थिक वर्ष करिब २० हजार युवाहरुलाई स्वरोजगार बनाएको छ ।

कोषले २ अर्ब ५० कराेड रुपैयाँ लगानी गर्दै करिब २० हजारकाे हाराहारीमा युवाहरुलाई स्वरोजगार बनाएको उनले बताए । गत आर्थिक वर्षमा कोषबाट कर्जा लिएर उद्यमी बनेका युवाहरुलाई ५ करोड रुपैयँ ब्याज अनुदान वितरण गरिएको समेत उपाध्यक्ष दंगालले जानकारी दिए ।

सातै प्रदेशमा प्रादेशिक कार्यालय

बुधबार बसेको कोषको बोर्ड बैठकले सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्ने निर्णय समेत गरेको छ । कोष लगानी तथा अनुगमनलाई प्रभावकारी बनाउन प्रादेशिक कार्यालय स्थापना गर्ने निर्णय गरिएको दंगालले बताए ।

बैठकले कोषबाट कर्जा लिएर समयमा नै भुक्तानी नगर्ने ६ वटा सहकारी संस्थाहरुलाई कालोसूचीमा राख्ने निर्णय समेत गरेको छ । कोषको बर्जाबाट हालसम्म करिब ६० हजार युवाहरु स्वरोजगार बनेका छन् ।

स्रोत व्यवस्थापन तथा कार्यालय स्थापनका लाथि थप निर्णय गर्न आगामी सोमबार कोषको बोर्ड बैठक बस्ने भएको छ । सोमबार बस्ने बैठकले चालु आर्थिक वर्षका लागि श्रोत व्यवस्थापन तथा भावी रणनीति तयार गर्नेछ ।

कोषले बैंक तथा वित्तीय संस्थाहरु मार्फत युवाहरुका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउदै आएको छ । कोषको कर्जाबाट उद्यमशील बनेका तथा नियमित कर्जा भुक्तानी गर्नेलाई व्याजदरमा ६० प्रतिशतको अनुदान समेत दिने गरेको छ ।

२०६५ सालमा तत्कालिन अर्थमन्त्री डा. बावुराम भट्टराईको सक्रियतामा युवा शक्तिलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यसहित कोषको स्थापना गरिएको थियो । कोषको अध्यक्ष युवा तथा खेलकुद मन्त्री हुने कानूनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment