Comments Add Comment

‘बल्क कार्गो’ सुविधा विस्तारको तयारी, भारतसँग समझदारी हुने


६ भदौ, काठमाडौं । नेपालले वीरगञ्जबाहेकका अन्य प्रमुख नाकाहरुसम्म पनि ‘बल्क कार्गो’ को प्राप्त गर्ने भएको छ । अहिले बल्क कार्गो कोलकाता बन्दरगाहबाट वीरगञ्ज नाकासम्म मात्र ल्याउन पाउने व्यवस्था छ ।

अब भने त्यसलाई अन्य प्रमुख नाकाहरुमा पनि विस्तार गर्ने गरी भारतसँग समझदारीपत्र अादान-प्रदान (एलओई) गर्न लागिएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंमा भदौ १४ र १५ गते हुने बेमिस्टेक बैठकमै भारतसँग यस्तो समझदारी कायम गर्न लागिएको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर शैँजुले अनलाइनखबरलाई जानकारी दिए ।

बल्क कार्गोमा मल, चिनी, भटमास, नून, पिना, प्लाष्टिकका दाना, सिमेन्ट, कोइला, क्लिंकर, तरकारी, फलफूल लगायतका ठूलो परिमाणमा ल्याइने वस्तुहरु मात्रै ल्याउन पाइन्छ । अहिलेसम्म रेल-वे सेवा सम्झौताअनुसार कोलकाताबाट वीरगन्ज नाकामा मात्र रेलमार्फत ढुवानी गर्न पाइने व्यवस्था छ ।

तेस्रो मुलुकको बल्क कार्गो सिधै रेलमार्गबाट वीरगञ्ज(रक्साैल) बाहेक विराटनगर  (जोगबनी) , भैरहवा (नाैतन्वा) र नेपालगञ्ज(रूपैडिया) सम्म पुर्‍याउने सुविधाका लागि नेपालले प्रस्ताव गरेको छ । अहिले बल्क कार्गोको सुविधा वीरगञ्जबाट मात्रै उपलब्ध छ । अन्य नाकाबाट पनि बल्क कार्गो सुविधा दिने विषयमा लामो समयदेखि नेपालले भारतलाई आग्रह गर्दै आएको छ ।

अब कोलकाताबाहेक विशाखापटनम बन्दरगाह हुँदै तेस्रो मुलुकबाट समेत आयात हुने यी सामानहरु पनि बल्क कार्गोमार्फत नेपाली नाकासम्म ल्याउन दिन नेपालको जोड छ ।

वीरगञ्जबाट मात्रै आयात गर्नुपर्ने बाध्यताले नेपाल आउने कच्चा पदार्थको लागत वर्षैपिच्छे बढ्दै गएको छ । कच्चा पदार्थ आयातको लागत बढ्दा नेपाली उत्पादनलाई प्रतिस्पर्धामा उत्रिन अप्ठेरो परिरहेको छ । व्यवसायीले पनि लामो समयदेखि बल्क कार्गोको सुविधा अन्य नाकाहरुमा पनि समेत विस्तार गर्नुपर्ने माग गरिरहेका थिए ।

सन् २०१२मा बसेको नेपाल-भारत अन्तर सरकारी समिति (आईजीसी) को बैठकमा विराटनगर र भैरहवा (नाैतन्वा) नाकासम्म पनि बल्क कार्गो सुविधा विस्तार गर्ने सहमति भएको थियो । तर, एलओई नहुँदा नहुँदा कार्यान्वयनमा समस्या कायम छ । भारतसँग बेमिस्टेक बैठकमा यसबारे समझदारी गर्न सहमति जुटिसेकेको वाणिज्य मन्त्रालयका प्रवक्ता शैँजुले बताए ।

उद्योगी व्यवसायीहरूले सामुन्द्रिक बन्दरगाहबाट आउने कन्टेनर र बल्क कार्गो रेलबाट ल्याउने व्यवस्था मिलाउन मिलाउन आग्रह गर्दै आएका छन् । भारतसँग तेस्रो मुलुकबाट आउने सामान पनि रेलमार्गबाट सीमासम्म ल्याउन दिन नेपालले प्रस्ताव गरेको छ । सहमति जुटाएर समझदारीमा हस्ताक्षर गर्ने योजनामा मन्त्रालय छ ।

व्यवसायीले हाल तेस्रो मुलकुबाहेकबाट ल्याउने समान कन्टेनरबाटै ल्याउनुपर्ने बाध्यता छ । केही वस्तु बल्क कार्गोमा ल्याउन पाइन्छ । तर, अब भारतले तेस्रो मुलुकबाट आउने समानलाई पनि आफ्नो रेल्वे प्रयोग गर्ने सुविधा दिने गरी एलओई गर्ने योजना बनेको छ ।

यसअघि विभिन्न पटक प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदा यो समझदारी गर्ने योजना भएको थियो । तर, सम्भव भएको थिएन । यसपटक भने भारत बेमिस्टेक शिखर सम्मेलननकै समयमा बल्क कार्गो सेवा विस्तार गर्ने समझदारी गर्न सहमत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment