Comments Add Comment

बेकहृयामको क्लबको नाम जुर्‍यो

२० भदौ, काठमाडौं । ईंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकहृयामको मेजर लिग सकर (एमएलएस) टिमको नाम इन्टरनेसनल डी फुटबल मायामी वा इन्टर मायामी हुने भएको छ । इन्टर मायामीले एमएलएसमा २०२० मा डेब्यू गर्नेछ ।

बेकहृयामले क्लब स्थापनामा यो अर्को महत्वपूर्ण कदम भएको बताएका छन् । इन्टर मायामीले इन्स्टाग्राममा लोगोको डिजाइन पनि सार्वजनिक गरेको छ । उक्त पोष्टमा क्याप्सन लेखिएको छ, ‘चार वर्षअगाडि हामीले एउटा सकर क्लबको सपना देख्यौं । अहिले यसको आधिकारिक लोगो सार्वजनिक गरिरहँदा गौरवान्वित छौं ।’

मौलिक देखिने लोगोमा मियामीको स्थानीय चरा हेरोन्सका दुई चित्र छन्, जसको खुट्टा आपसमा जकडिएको छ । लोगोको सतहमा रोमन अंक एमएक्सएक्स लेखिएको छ, जसले २०२० लाई ईंगित गर्छ । सन् २०२० मा यो फ्रेन्चाइज लन्च गरिने र एमएलएसमा सहभागी हुने योजना छ ।

धेरैले प्रतिक्षा गरिरहेको घोषणापछि बोल्दै बेकह्यामले भने, ‘यो म र मेरो सम्पूर्ण टिमका लागि गौरवको दिन हो । नाम र लोगोको घोषणाले हाम्रो क्लब स्थापना प्रक्रियालाई एक कदम अगाडि बढाएको छ ।’

उनले थपे, ‘क्लब इन्टरनेसनल डि फुटबोल मायामी यस्तो नाम छ, जसले विश्वको एउटा उत्कृष्ट शहरलाई प्रतिनिधित्व गर्छ र स्वतः उर्जा प्रदान गर्छ । यो यस्तो शहर हो, जसले मलाई र अन्य धेरैलाई न्यानो आतिथ्यता दिँदै आएको छ ।’

बेकह्यामको फ्रेन्चाइजले मायामी फ्रिडम पार्कमा फुटबल खेल्ने अपेक्षा गरिएको छ । यो रंगशाला १ सय १० एकडको हरियो मैदानभित्र समाहित छ । रंगशाला निर्माणमा जनताको पैसा प्रयोग नगरिने पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment