Comments Add Comment

आयरल्यान्डलाई हराउँदै अफगानिस्तानले जित्यो इतिहासमै पहिलो टेस्ट

४ चैत, काठमाडौं । अफगानिस्तानले आयरल्यान्डलाई सात विकेटले हराउँदै आफ्नो पहिलो टेस्ट जितको स्वाद चाखेको छ । यो अफगानिस्तानले खेलेको मात्र दोस्रो टेस्ट हो । यसअघि आफ्नो पहिलो टेस्टमा अफगानिस्तान भारतसँग पराजित भएको थियो ।

चौथो इनिङमा ब्याटिङ गर्दा अफगानिस्तानलाई जितका निम्ति एक सय ४७ रन चाहिएको थियो । पहिलो विकेटका रुपमा विष्फोटक ब्याट्सम्यान मोहम्मद सहजादलाई सस्तैमा गुमाए पनि इहसान्नुल्लाह र रहमत साहले दोस्रो विकेटका लागि बलियो साझेदारी गरेका थिए । उनीहरुले एक सय ३९ रनका साझेदारी गर्दै टिमलाई जित नजिक पुर्‍याए ।

रहमत साह ७६ रनमा आउट भएपछि आएका मोहम्मद नाबी १ रनमै रन आउट भए । त्यसपछि इहसानुल्लाहले हस्मातुल्लाह सहिदीसँग मिलेर लक्ष्य भेट्टाए । इहसानुल्लाहले अविजित ६५ रनको योगदान दिएका थिए ।

अफगानिस्तानले जितको आधार पहिलो इनिङमै खडा गरेको थियो । अफगानिस्तानका बलरहरुसामु आयरल्यान्डका ब्याट्सम्यान टिक्न नसक्दा एक सय ७२ रनमै अलआउट भएको थियो । त्यो स्कोर पनि ११ नम्बरका ब्याट्सम्यानले ५४ रन हानेपछि सम्भव भएको हो ।

पहिलो इनिङमा अफगानिस्तानले ३ सय १४ रन बनायो जसमा रहमत साहको ९८ रन समावेश थियो । दोस्रो इनिङमा आयरल्यान्ड केही सम्हालिएर खेल्यो । तर अफगानिस्तानका स्टार स्पिनर रसिद खानले आयरल्यान्डलाई ठूलो स्कोरतर्फ लम्किन दिएनन् । उनले पाँच विकेट लिँदै आयरल्यान्डलाई २८८ रनमा समेटे । त्यसपछि जितका लागि अफगानिस्तानलाई १ सय ४७ रनको चुनौति प्राप्त भएको थियो जुन उसले सहजै हासिल गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment