+
+
Shares

आईओएस २७ : आईफोनको क्यामेरा एपमा तीन शक्तिशाली नयाँ फिचर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एप्पलले आईओएस २७ मा क्यामेरा एपमा एआई सपोर्ट भएको ‘सिरी’ मोड थपेर वस्तु, स्थान र सामग्रीबारे प्रश्न गर्न मिल्ने सुविधा ल्याएको छ।
  • नयाँ अपडेटले फोटो, भिडियो र पोर्ट्रेट मोडका क्यामेरा कन्ट्रोल प्रयोगकर्ताले आफूअनुकूल मिलाउन सक्ने व्यवस्था गरेको छ।
  • आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्समा लेन्स, सटर स्पिड, ह्वाइट ब्यालेन्स र हिस्टोग्राम म्यानुअल रूपमा नियन्त्रण गर्ने ‘प्रो’ क्यामेरा सुविधा उपलब्ध हुने एप्पलले जनाएको छ।

३१ भदौ काठमाडौं । एप्पलले आईफोनका लागि सार्वजनिक गरेको नयाँ अपरेटिङ सिस्टम आईओएस २७ मा क्यामेरा एपमा तीन महत्वपूर्ण फिचर थपेको छ।

नयाँ अपडेटले क्यामेरालाई एआई प्रयोग गर्ने उपकरणका रूपमा विकास गर्नुका साथै प्रयोगकर्तालाई क्यामेरा नियन्त्रणमा थप सुविधा दिनेछ।

क्यामेरा एपमा ‘सिरी’ मोड

आईओएस २७ मा एआई सपोर्ट भएका आईफोनका लागि क्यामेरा एपमै नयाँ ‘सिरी’ मोड थपिएको छ।

यसमार्फत प्रयोगकर्ताले क्यामेराले देखेको वस्तु, स्थान वा सामग्रीबारे सिरीसँग प्रश्न गर्न र त्यसअनुसारका काम गर्न सक्नेछन्।

उदाहरणका लागि, क्यामेराले खिचेको विदेशी भाषाका अक्षर अनुवाद गर्न, कुनै कार्यक्रमको पोस्टरबाट मिति र समय पहिचान गरी क्यालेन्डरमा राख्न, बोटबिरुवाको हेरचाहसम्बन्धी जानकारी लिन तथा खानाको पोषणसम्बन्धी विवरण हेर्न सकिनेछ। यो फिचर एप्पलको भिजुअल इन्टेलिजेन्स प्रविधिमा आधारित छ।

यसका लागि प्रयोगकर्ताले पहिले सिरी एआई सपोर्ट सक्रिय गर्नुपर्नेछ। यो सुविधा आईफोन १५ प्रो र त्यसपछिका मोडल तथा आईफोन १६ सिरिजका मोडलमा उपलब्ध हुने एप्पलले जनाएको छ।

क्यामेरा कन्ट्रोल आफूअनुकूल बनाउन सकिने

नयाँ अपडेटमा क्यामेरा एपका विभिन्न मोडमा देखिने कन्ट्रोललाई प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार परिवर्तन गर्न सक्नेछन्।

फोटो, भिडियो, पोर्ट्रेटलगायत मोडमा क्यामेरा कन्ट्रोल प्यानल खोलेर प्रयोगकर्ताले आफूलाई आवश्यक पर्ने विकल्प माथि राख्न वा कम प्रयोग हुने विकल्प हटाउन सक्नेछन्। यसले बारम्बार प्रयोग गर्ने फिचरमा छिटो पहुँच पाउन सहयोग गर्नेछ। कन्ट्रोल प्यानलमा रहेको ‘एडिट’ अप्सनमार्फत प्रयोगकर्ताले क्यामेराको मुख्य स्क्रिनमा देखिने टुल्सहरू मिलाउन सक्नेछन्।

‘आईफोन १८ प्रो’मा ‘प्रो’ क्यामेरा कन्ट्रोल

आईओएसका केही एड्भान्स क्यामेरा फिचर भने आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स मा मात्र उपलब्ध हुनेछन्।

यी मोडलमा प्रयोगकर्ताले लेन्सको एपर्चर, सटर स्पिड, ह्वाइट ब्यालेन्स र हिस्टोग्रामजस्ता सेटिङ म्यानुअल रूपमा नियन्त्रण गर्न सक्नेछन्। यसले आईफोनबाट फोटो तथा भिडियो खिच्दा लाइट, एक्सपोजर र दृश्यमा थप नियन्त्रण दिनेछ।

नयाँ आईफोन प्रो मोडलमा फोटोग्राफिक स्टाइल्स-३ पनि उपलब्ध हुनेछ। यसमा फोटोको टेक्स्चर र ग्रेन नियन्त्रण गर्ने थप विकल्प राखिएको छ।

त्यसैगरी, मुख्य क्यामेराका लागि नयाँ ‘एप्पल रेफरेन्स इमेज’ सुविधा थपिएको छ। यसले तस्बिर साँच्चिकै आईफोनको क्यामेराबाटै खिचिएको हो भन्ने प्रमाणित गर्न पिक्सेल स्तरमै प्रामाणिकतासम्बन्धी डेटा समावेश गर्छ।

एआईले बनाएका नक्कली तस्बिर बढ्दै गएको सन्दर्भमा यो सुविधा ल्याइएको हो, जसलाई गुगल पिक्सेलमा रहेको सी टु पीए ‘कन्टेन्ट क्रेडेन्सियल्स’को जवाफका रूपमा हेरिएको छ। यो छुट्टै मोडका रूपमा राखिएकाले प्रयोगकर्ताले आफैँ सक्रिय गर्नुपर्छ।

एप्पलले आईओएस २७ सेप्टेम्बर १४ देखि सार्वजनिक गरेको हो। यद्यपि क्यामेरा र एआईसम्बन्धी सबै फिचर प्रत्येक आईफोन मोडल तथा सबै क्षेत्रमा उपलब्ध नहुन सक्ने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?