Comments Add Comment

पूर्वराष्ट्रपति रामवरणको गुनासोः म आफैं खाल्डोप्रेमी भएँ !

२२ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मधेस र पहाड भनेर क्षेत्रीय राजनीति नगर्न र तराई झर्न काठमाडौंका नेता, पत्रकार र बुद्धिजीवीसँग आग्रह गरेका छन् ।

पूर्वराष्ट्रपति यादवले क्षेत्रीय राजनीति नगर्न मधेसकेन्दि्रत दलहरुलाई आग्रह गरेका छन् । लेखक, पत्रकारजस्ता बौद्धिक वर्गलाई उनले तराई/मधेस झरेर क्षेत्रीय राजनीतिले कसैको हित नगर्ने जनतालाई बुझाउन आग्रह गरे ।

वीपी कोइराला स्मृति प्रतिष्ठानले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा यादवले नेतृत्वको कार्यशैली देख्दा म किन कांग्रेस भएँछु भनेजस्तो लाग्ने गरेको सुनाए ।

‘अहिले कोही तराई जाँदैनन्, म आफैं खाल्डोप्रेमी भएँ’, यादवले भने- ‘अहिले तराईलाई अलग गरिएको छ । कि त्यो अर्कै देश हो ? भनिदिनुस् । नभए किन कोही तल जाँदैन ? पत्रकार जादैन । लेखकहरु जाँदैनन् ।’

नेपाली कांग्रेसका पूर्वनेतासमेत रहेका पूर्वराष्ट्रपति यादवले शीर्षनेताहरुले तराईमा गएर राष्ट्रियताको विषयमा जनतालाई आश्वस्त पार्न सक्नुपर्ने सुझाव दिए । उनले भने- ‘वीपी, किशुनजी, गिरिजाप्रसाद कोइराला तराई जान्थे, सबैले भेट्थे । अहिले कोही तराई जाँदैन ।’

आफू ०५१ सालको चुनावमा हारेपछि मेची गएको उल्लेख गर्दै यादवले भने, ‘अहिलेजस्तो पहाड र मधेस भन्ने थिएन । म ०५१ सालमा चुनाव हारेपछि मेची गएको थिएँ ।

अहिले कोही तराई जाँदैनन्, म आफैं खाल्डोप्रेमी भएँ’, यादवले भने- ‘अहिले तराईलाई अलग गरिएको छ । कि त्यो अर्कै देश हो ?

जनकपुरमा संस्कृत पढ्न पहाडियाहरु जाने गरेको र जनकपुरको मेलामा पहाडियाहरुको बाक्लो उपस्थिति हुने गरेको यादवले सम्झे ।

पछिल्लो समय जातीयता र क्षेत्रीयताका कुरा निक्कै सुन्ने गरिएको भन्दै यादवले राष्ट्रियता सबैको एउटै भएको उल्लेख गरे । यादवले भने, ‘वीपीले क्षेत्रीयता र जातीयता मन पराउनुहुन्नथ्यो’, अहिले नश्लवाद, केके भनिरहेका छन् ।’

आफुले मधेसी भएर पनि अवसर पाएको भन्दै उनले अगाडि भने, ‘म भाग्यमानी रहेंछु । ‘०१७ सालदेखि ०२० सालसम्म जनकपुरमा बिद्रोहीका रुपका कांग्रेसको समर्थक थिएँ । त्यसपछि ०२० सालमा पढ्न काठमाडौं आएपछि पनि कांग्रेस समर्थक नै भएँ । भाग्यमानी रहेंछु जस्तो लाग्छ । विभिन्न संयोगले डाक्टर पढे ।’

कांग्रेसमा हरँदा पार्टीभित्र पनि जिम्मेवारी लिने सन्दर्भमा अगाडि रहँदै आएको यादवले बताए । ‘सँगैका सहपाठीहरु पनि थिए । तर, म कहिले केन्द्रीय सदस्य, कहिले महामन्त्री भएँ । म जिम्मेवारीमै रहेँ’,उनले भने, ‘अरुभन्दा केही बढी क्षमता भएरै त दिइएको होला ।’

म किन कांग्रेस भएँछु !

पूर्वराष्ट्रपति यादवले कांग्रेसको नेतृत्वप्रति इंगित गर्दै कहिलेकाँही आफूलाई किन कांग्रेस भएँछु जस्तो लाग्ने गरेको बताए ।

पार्टीभित्रको अन्तरविरोध र गुटगत राजनीतितर्फ इंगित गर्दै यादवले भने, ‘कहिलेकाहीँ म काङ्ग्रेमा किन लागें भनेजस्तो लाग्छ ।’

वि.स.२००७ साल, ०१७ साल, ०४६, ०६२/०६३ सालको परिवर्तनले नै अहिले देश गणतन्त्रमा आइपुगेको स्मरण गर्दै यादवले कांग्रेसकै नेतृत्वमा देशमा ठूला-ठूला परिवर्तन भएको जिकिर गरे ।

‘वीपी भन्नुहुन्थ्यो- यो देशमा प्रजातन्त्रको भविश्य राम्रो छ । हामी डाक्टर पढ्न भारतमा छँदा उहाँ भनुहुन्थ्यो कि घर जाँदा पनि प्रजातन्त्रको कुरा गर्नू’, यादवले भने, ‘हामी त्यस्ता नेतालाई देखेर कांग्रेसमा लाग्यौं ।’

कांग्रेसकै बाटो पछ्याएर देशमा परिवर्तन भए पनि अहिले कांग्रेसका नेताहरुले वीपीको मार्गनिर्देशन भुलेको यादवको टिप्पणी छ । पार्टी गुट-उपगुटमा रमाइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘०६४ सालमा म महामन्त्री थिएँ । त्योबेला चुनावमा टिकट दिँदा ६०/४० को कुरा हुन्थ्यो’ यादवले भने, ‘एउटै पार्टीमा दुईटा पार्टीजस्तो ।’
कार्यक्रममा बोल्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलदेव शर्मा मजगैया र नेता रामचन्द्र पोखरेलले पनि कांग्रेसले वीपीको बाटो छोडेको भन्दै रोष प्रकट गरे ।

कार्यक्रममा वीपी कोइराला स्मृति ट्रष्टका तर्फबाट चक्रप्रसाद बास्तोलालाई बीपी सेनानी सम्मान र रोचक घिमिरेलाई वीपी साहित्य सम्मान दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment