Comments Add Comment

भूकम्पले भत्किएका सिन्धुपाल्चोकका विद्यालयमा शौचालय

७ असोज, काठमाडौं । भूकम्पबाट भत्किएका सिन्धुपाल्चोकका विद्यालयमा भवनसँगै शौचालय पनि निर्माण भएपछि विद्यार्थी तथा शिक्षक खुसी भएका छन् ।

शिक्षा मन्त्रालय र विभिन्न संघ–संस्थाको पहलमा विद्यालय भवन र पक्की शौचालय निर्माण गरिएपछि सिन्धुपाल्चोकका विद्यालयमा खुसीयाली छाएको हो ।

भूकम्पका कारण भत्किएका विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गरिरहेको संस्था जनहित ग्रामिण सेवा समितिले साझेदार संस्था अक्फामसंग मिलेर यसबर्ष निर्माण सम्पन्न गरेका मध्ये तीनवटा शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए ।

शर्माका अनुसार सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय कुविण्डेमा निर्मित ६ कोठे पक्की शौचालय, सिंहमाई आधारभूत विद्यालय कदमबासमा निर्मित ४ कोठे पक्की शौचालय र कल्लेरी आधारभूत विद्यालय कल्लेरीमा निर्मित ४ कोठे पक्की शौचालय भवन विद्यालय व्यवस्थापन समितिमार्फत् विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

तीनवटै विद्यालयको शौचालय हस्तान्तरणका बेला सार्वजनिक लेखा परिक्षण गरिएको थियो । गत वर्ष सम्झौता भई काम सुरु गरिएका विद्यालयहरुमा छात्र, छात्राका लागि फरक फरक शौचालयको व्यबस्था गरिएको, सबै शौचालय अपांग मैत्री रहेको, शौचालयमा हातधुने धारा र पानीको व्यबस्था गरिएको जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

सबै माध्यमिक विद्यालयमा महिनावारीका बेला छात्राहरुले प्रयोग गर्ने स्यानीटरी प्याड फाल्ने र जलाउने इन्सिनेटरको समेत व्यबस्था गरिएको छ ।

न्यौपानेका अनुसार यो वर्ष मात्रै जनहितले अक्सफामसंगको साझेदारीमा मात्रै विभिन्न ११ वटा विद्यालयमा शौचालय निर्माण गरिरहेको छ । जसमध्ये ७ वटा विद्यालयमा शौचालय निर्माण सम्पन्न गरि हस्तान्तरण गरिसकिएको छ भने एकसाता भित्रै बाँकि ४ वटा विद्यालयमा निर्माण सम्पन्न भएको शौचालय हस्तान्तरण गरिने छ । जनहितका जनस्वास्थ्य प्रवद्धन इन्जिनियर मदन सुवेदीका अनुसार कार्यक्षेत्रका विद्यालयको माग र तत्कालीन जिल्ला शिक्षा कार्यालयसंगको समन्वयमा विद्यालयमा शौचालय निर्माण गरिएको हो ।

सबै विद्यालयमा निर्माण गरिएका शौचालय नेपाल सरकारको शिक्षा मन्त्रालयले जारी गरेको मापदण्ड अनुरुपका रहेका छन् । जनहितले शौचालय निर्माण गरेका विद्यालयमा जनस्वास्थ्य प्रवद्धनका कार्यक्रम पनि संचालन गरिरहेको छ ।

भूकम्प अघि र पछि खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रका अग्रीणी संस्थाको रुपमा काम गरिरहेको जनहितले ओल्डभिजन, युनिसेफ, कारीतास नेपाल, अक्सफाम, सेवक नेपाल लगाएतसंगको साझेदारीमा काम गरिरहेको संस्थाका कार्यकारी निर्देशक राजेन्द्र शर्माको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment