Comments Add Comment

सिंगो गाउँपालिका दुई कर्मचारीका भरमा

८ असोज, बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको कामकाज दुईजना कर्मचारीको भरमा सञ्चालन भएको छ ।

जनतालाई आफ्नै घर आँगनमा सेवा दिने उद्देश्यले गठन भएका स्थानीय तहले कर्मचारी अभावका कारण सेवाग्राहीले चाहेअनुसार सेवा दिन कठिनाई भएको हो । प्रदेश नं ३ अन्तर्गतको विकट सो गाउँपालिकामा १७ जनाको दरबन्दी रहेको छ । तर अहिले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मात्रै रहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमोण्ड थापामगरले पनि गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी नभएको बताए । वडा सचिवसमेत नहुँदा गाउँपालिकाको प्रशासनिक काम तथा सेवाप्रवाहमा धेरै समस्या व्यहोर्नु परेको उनको भनाइ छ ।

‘कर्मचारी पर्याप्त नहुँदा प्रभावकारी रुपमा सेवा दिन सकिरहेका छैनौँ’, उनले भने, ‘जसका कारण यसक्षेत्रका सेवाग्राहीको गुनासो धेरै आइरहेको छ ।’ गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले दरबन्दीअनुसार कर्मचारी नहुनु र वडामा वडा सचिव नहुँदा निकै समस्या खेपिरहनु परेको बताए ।

‘दरबन्दीअनुसार कर्मचारी उपलब्ध गराउन र वडा सचिव पर्याप्त मात्रामा उपलब्ध गराउन भनेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक/पटक निवेदन पेश गरिरहेका छौं, तर कुनै प्रतिक्रियासमेत पाइरहेका छैनौं”, अध्यक्ष जिम्बाले भने, ‘सधैँजसो हामी व्यवस्थापन गरिरहेका छौं भन्ने मात्रै जवाफ दिइरहनुभएको छ ।’

उनका अनुसार गाउँपालिकाको आठ वडामा अहिले तीन जना मात्रै वडा सचिवले काम गरिरहेका छन् । पर्याप्त वडा सचिव नहुँदा सेवाग्राहीले भन्ने बेलैमा सेवा लिन नपाएको अध्यक्ष जिम्बाले बताए ।

सचिव पर्याप्त नहुँदा सेवाग्राहीलाई भन्ने बेलामा सेवा दिन नसकेको वडा नं– ६ का वडा अध्यक्ष रमेशकुमार लुङ्गेलीले बताए । ‘वडा सचिव पर्याप्त नभएका कारण सिफारिस लेख्नेदेखि सबै काम आफूले नै गर्नुपर्दा समस्या खेप्नु परिरहेको छ’, उनले भने, ‘सेवाग्राहीलाई भन्ने बेलामा सेवा नै दिन गाह्रो भइरहेको छ ।’

वडा सचिवमध्ये अहिले रेवतीरमण निरौलाले वडा नं १, २ र ८, रामचन्द्र ढकालले वडा नं ३, ४ र ५ तथा भरत बस्नेतले ६ र ७ नं वडाको जिम्मा लिएर काम गरिरहेको कार्यालयले जनाएको छ ।

वडा सचिवको अभावमा जनताको काम प्रभावित नहोस् भन्ने उद्देश्यले अहिले कार्यालय सहयोगी नियुक्त गरी काम गरिरहेको अध्यक्ष जिम्बाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment