Comments Add Comment

ओलीद्वारा ब्रिटेनकी प्रधानमन्त्रीसँग भेटवार्ता, गोर्खा सैनिकको सुविधाबारे चासो

११ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेसँग भेटवार्ता गरेका छन् ।

बुधबार भएको भेटमा प्रधानमन्त्री ओलीले भूतपूर्व गोर्खा सैनिकहरूको हकहित र उनीहरुका मागबारे चासो राखेको उनको सचिवालयले जनाएको छ ।

तर यसबारे ब्रिटिश सरकारको धारणा भने सार्वजनिक भइसकेको छैन । यद्यपि ब्रिटिश सरकारले पेन्सन लगायतका सुविधामा गोर्खा सैनिकहरुलाई विभेद नगरिएको बताउँदै आएको छ ।

करिब दुई सय वर्ष अघिदेखि ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिकहरुले पेन्सन लगायतका सेवा सुविधामा विभेद गरिएको गुनासो गर्दछन् । यसबारे कानुनी लडाइँ लड्दा पनि अदालतको फैसला सकारात्मक नआएपछि उनीहरुले नेपाल सरकारले कुटनीतिक पहलमार्फत् समस्या समाधान गरिदिनुपर्ने माग राख्दै आएका छन् ।

भेटवार्तामा ओलीले नेपालको विकासमा ब्रिटेन सरकारको सहयोगको प्रशंसा गर्दै प्रधानमन्त्री टेरिजा मेलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् ।

बिहीबार साँझ राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुअघि ओलीले बिभिन्न देशका नेताहरुसँग भेटवार्ता जारी राखेका छन् । ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, स्विजरल्याण्डका राष्ट्रपति एलेन बर्सेट, क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो, भारतीय विदेशमन्त्री सुष्मा स्वराज लगायतसँग पनि भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment