Comments Add Comment

आवाजको चित्र, यो कस्तो विचित्र ?

बच्चा जन्मिनासाथ उसको पहिलो रुवाईले आमाको अनुहारमा मुस्कान ल्याउँछ । यो एक मात्र त्यस्तो क्षण हो, जब सन्तान रुँदा आमा हाँस्छिन् । त्यो रुवाईको आवाज यति प्यारो हुन्छ कि त्यसलाई कुनै आमाले भुल्दिनन् ।

अब सोच्नुस् त, यो मिठो आवाजलाई सँधैका लागि कसरी संगालेर राख्न सकिएला ? मोबाइलमा वा रेकर्डरमा रेकर्ड गरेर राख्ने उपाय त छ तर, यो धेरै पटक सुनेपछि वाक्क लाग्न सक्छ । अब सोच्नुस्, कसैले यो आवाजलाई चित्रमा ढालेर तपाईंलाई उपहार दियो भने ?

हो, युवा इन्जिनियर तथा डिजाइनर कुशल पोखरेलले व्यवसायकै रुपमा यो काम सुरु गरेका छन् । उनको सुरु गरेको व्यवसायले मानिस वा अन्य कुनै स्रोतबाट निस्कने आवाजलाई कलात्मक तस्वीरमा रूपान्तर गर्न सक्छ । यसलाई चिनोका रूपमा कसैलाई उपहार दिन वा आफैं राख्न पनि सकिन्छ ।

नेपालमा नसोचिएको व्यवसाय

गत वर्ष मात्र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानबाट स्नातक उत्तीर्ण पोखरेलले स्थापना गरेको इक्लिप्स ल्याब्स नामको कम्पनीले मानिसका यस्तै अनौठा चाहनामा टेकेर व्यापार गर्ने लक्ष्य राखेको छ ।

‘तपाईँले आफ्ना प्रेमीप्रेमिकालाई ‘आई लभ यू’ यति धेरै पटक भनिसक्नुभो कि अब यो वाक्यले कुनै उत्साह भर्दैन । तपाईँले केही नयाँ गर्नुपर्छ । टिसर्ट अथवा कपमा उनको फोटो छापेर दिने प्रविधि पनि पुरानो भइसक्यो’ २३ वर्षका पोखरेल भन्छन्, ‘तर अब नयाँ उपाय तपाईंसँग छ । आफ्नै आवाजको चित्र बनाउनुहोस् ।’

हुन त विश्वका कतिपय भागमा ‘अन्तरक्रियात्मक कला’ का नाममा यस्तो व्यवसाय अभ्यासमा छ । तर नेपालमा भने यस्तो सिर्जना गर्ने सम्भवत उनी पहिलो हुन् ।

विश्वका अन्य ठाउँमा प्रयोग भइरहेकोभन्दा आफ्नो प्रविधि उच्चस्तरको रहेको पोखरेलको दाबी छ । ‘यस क्षेत्रका औसत प्रविधिभन्दा मेरो प्रविधि चार गुणा उन्नत छ’ उनी भन्छन् ।

उनको कम्पनीले ग्राहकहरूका मागअनुसार सेवा प्रदान गर्न लागेको केही दिन मात्र भयो । इच्छुक जो कोहीले आफूले चित्र बनाउन चाहेको आवाजको रेकर्ड उपलब्ध गराउपछि निर्धारित शुल्कमा तस्वीर पाइन्छ ।

पोखरेल व्याख्या गर्छन्, ‘कुनै उत्पादनको ढाँचामा परिवर्तन ल्याउन, लोगो तथा छाप बनाउनका लागि पनि यसको प्रयोग गर्न सकिन्छ ।’

कसरी हुन्छ सिर्जना ?

तपाईंलाई खुल्दुली लागिसक्यो होला, आफ्नो यस्तो सिर्जना आखिर गरिन्छ कसरी ?

‘हामीले निकाल्ने आवाजले एउटा ‘वेभलेन्थ’ बनाउँछ भन्ने कुरा त हामीले सानैमा पढेका हौं । अब हाम्रो प्रविधिको अल्गोरिदम (कम्प्युटरमा कुनै काम सम्पन्न गर्न दिइने निर्देशन) ले त्यो वेभलेन्थलाई एउटा निश्चित आकार दिन्छ र चित्र बन्छ ।’

वैज्ञानिकहरू भन्छन् कि उर्जालाई न त सिर्जना गर्न सकिन्छ न त विनाश । एउटा स्वरूपको उर्जालाई अर्को स्वरूपमा रूपान्तरण गर्नु भने सदैव सम्भव रहन्छ । त्यसैगरी उपयुक्त प्रविधिको प्रयोग गरेर आवाजलाई दृश्यमा र दृश्यलाई आवाजमा परिवर्तन गर्न सकिने पोखरेल बताउँछन् ।

यस प्रक्रियाको सहजिकरणका लागि आफूले एन्ड्रोइड एप्लिकेसन तयार पारेको जानकारी दिँदै उनी भन्छन्, ‘तत्काललाई भने यो सर्वसाधारणको प्रयोगका लागि उपलब्ध छैन । म अझै पनि योजना निर्माणमा व्यस्त छु ।’

आगामी दिनमा यो एप्लिकेसनलाई बिक्रीमा राख्ने वा आफूले मात्र प्रयोग गर्ने भनेर उनी निस्कर्षमा पुगेका छैनन् । ‘यदि बिक्री गर्ने हो भने त्यसबाट मैले कसरी निरन्तर आम्दानी गर्न सक्छु भनेर मैले सोच्नै बाँकी छ’ उनले भने ।

पोखरेलका अनुसार हाल उनलाई एक शब्द वा एक वाक्यबाट चित्र बनाउन करिब आधा घण्टा लाग्छ । आफ्नो प्रविधिलाई अझ विकास गर्दै जाँदा समय बिस्तारै घट्ने र पछि तत्कालै आवाज चित्रमा बदल्न सकिनेमा उनी विश्वस्त छन् ।

मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा यस्ता सामग्रीको मूल्य तीन सयदेखि चार सय अमेरिकी डलर पर्ने पोखरेलको दाबी छ ।

‘तर यहाँ त्यति धेरै मूल्य राख्न सकिदैन, हामी एउटा चित्र दुईदेखि पाँच हजार रुपैयाँमा बेच्नेछौं’ उनले भने । चित्र छाप्न प्रयोग गरिने कागज, चित्रको आकार, फ्रेमको गुणस्तर आदि तत्वहरूको हिसाब गरेर मूल्य निर्धारण गरिने उनको भनाइ छ ।

प्रविधिको विकास र प्रयोगमा लागेको खर्च, ज्याला तथा कार्यालय सञ्चालनमा लागेको खर्चसमेतको हिसाब गरेर उनको कम्पनीले प्रारम्भिक मूल्य सूची पनि बनाइसकेको छ । ‘हाम्रो सामग्री बजारमा कत्तिको लोकप्रिय हन्छ, त्यसअनुसार मूल्य पनि थपघट हुँदै जानेछ’ उनी भन्छन् ।

पोखरेलका अनुसार एक शब्ददेखि एक वाक्यसम्मको चित्र बनाइएका छन् । तर, कुनै ग्राहकले त्योभन्दा लामो वा छोटो आवाजलाई चित्रमा उतार्न चाहे भने पनि कम्पनीले निराश बनाएर फर्काउनेवाला छैन ।

कसैलाई आफ्ना प्रेमी–प्रेमिकालाई ‘आई लभ यू’ भनेर मात्र चित्त नबुझ्ला । बीस हरफको एउटा कविता कोर्न मन लाग्ला र कविताको आवाजलाई चित्रमा रूपान्तरण गर्न मन लाग्ला । त्यो पनि सम्भव छ ।

पोखरेल भन्छन्, ‘हो, सिङ्गै कवितालाई पनि चित्रमा रूपान्तर गर्न सकिन्छ । त्यसमा तपाईँसँग दुई विकल्प हुन्छन् । एथ्री वा एफोर कागजको एउटा पानामा सिङ्गै कविता अटाए पनि भयो अथवा कवितालाई टुक्राटुक्रा बनाएर लामो चित्र बनाए पनि भयो । एउटै पानामा धेरै लामो आवाज अटाउँदा आवाजको उतारचढाव सबै त देखिँदैन तर, पनि उत्तिकै कलात्मक नै हुन्छ । होइन छुट्टाछुट्टै गर्ने हो भने हरेक शब्द वा हरफ कागजमा प्रतिबिम्बित हुन्छन् तर चित्र एकदमै लामो बन्न जान्छ ।’

डिमान्ड बमोजिम आवाजको चित्रलाई छोट्याउन तथा लम्ब्याउन सकिने जानकारी उनले दिए ।

साझेदारको खोजी

पोखरेलको इक्लिप्स ल्याब्स एक निजी कम्पनीका रूपमा दुई महिना अगाडि मात्र दर्ता भएको हो । अनुसन्धान र प्रविधि विकासमा लगाइएको समय र उर्जाका अतिरिक्त उनले हालसम्म करिब ६० हजार रुपैयाँ यसमा लगानी गरेका छन् । ‘यस कार्यमा मैले अनुसन्धान सुरु गरेको तीन वर्ष भयो । यसकै लागि भनेर मैले जागिर पनि छाडेँ’ उनी भन्छन्, ‘अबको एक–दुई महिनाभित्रै यसलाई पूर्ण विकसित व्यापारमा बदल्ने लक्ष्य छ ।’

आवाजको चित्रणबाहेक आफूसँग यसै प्रविधिसँग सम्बन्धित अन्य विषयमा पनि जानकारी रहेको र तिनलाई पनि व्यवसायकारूपमा विकसित गर्न सकिने उनी बताउँछन् । उत्साही पोखरेल आफ्नो निराशा पनि व्यक्त गर्न पछि पर्दैनन्, ‘तर यो व्यवसायलाई अगाडि बढाउने स्रोतसाधन मसँग छ्रैन ।’

उनी आफ्नो व्यवसायमा लगानी गरिदिने साझेदार खोजिरहेका छन् । ‘यदि कसैले ५० लाख रुपैयाँजति लगानी गर्ने हो भने मैले चाहेजस्तै गरी यो व्यवसाय अगाडि बढ्थ्यो’ उनी भन्छन्, ‘यदि १५ लाख जति मात्र पाइए पनि यो आवाजको चित्रण गर्ने कामलाई व्यावसायिक रूप दिन सकिन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment