Comments Add Comment

म्याद सकिएका सामान भएको गोदाममा वाणिज्य विभाग र प्रहरीको रेड

म्याद गुज्रिएको मिति मेटेर नयाँ उपभाेग्य म्याद !

रिलेबलिङ भइरहेको गोदाममा पुगेका सरकारी अधिकारीहरु

१६ असोज, काठमाडौं । व्यापारिक समूह विशाल ग्रुपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको छ ।

बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त अप्रेशनमा यस्तो अपराध खुलेको हो ।

म्याद सकिएको खाद्य वस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा मेशिनसहित बिहीबार विभागले ९ जनालाई रङ्गेहात पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा आयन इन्टरनेश्नल नामक वितरक समूहका प्रमुख बताउने रोशन बात्रासहित नयाँ म्याद टाँस्ने काममा संलग्न कर्मचारीहरु छन् ।

स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित बजारमा नियमित प्रयोगमा रहेका आधा दर्जन खाद्य वस्तुमा म्याद सकिएपछि पनि पुनः नयाँ म्याद राखेर बजार पठाउने गरेको भेटिएको वाणिज्य विभागले जनाएको छ । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने लेवलमा खेलबाड गरेको पाइएपछि थप अनुसन्धान अघि बढाइएको विभाग स्रोतले जानकारी दिएको छ ।

आयन इन्टरनेशनलका सञ्चालक पुष्पादेवी अग्रवाल रहेको र उनका दुई जना छोराहरुले व्यापार सम्हालिरहेको पाइयो,’ वाणिज्य स्रोतले भन्यो, ‘अनुसन्धान अझै जारी रहेकाले धेरै विषय खुल्दै जाने छ ।’

पक्राउ परेकालाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा राखेर अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका ९ मध्ये बात्रा भारत राजस्थानका नागरिक हुन् भने अन्य नेपाली कामदारहरु रहेको विभागले जनाएको छ ।

 स्नेकर्स, ट्याङ जुस र प्रिङ्गल्समा नयाँ स्टिकर

बजारमा छ्यापछ्याप्ती पाइने  स्नेकर्स चकलेट, प्रिङ्गल्स चिप्स र ट्याङ जुसमा धमाधम नयाँ म्याद टाँस्दै गरेको भेटिएको थियो । खाद्य कानुन अनुसार म्याद सकिएको वस्तु आयातकर्ताले बजारबाट फिर्ता मगाएर नष्ट गर्नुपर्छ ।

काठमाडौंमा बिहीबार फेला परेका वस्तुहरु पसलबाट म्याद नाघ्नेबितिक्कै सस्तोमा फिर्ता लिएर पुनः नयाँ लेबल लेख्ने गरेको पाइएको वाणिज्य विभागले जनाएको छ ।

ठूलो परिमाणमा खान अयोग्य यस्ता वस्तु भेटिएपछि बजारमा गएका स्नेकर्स चकलेट, प्रिङ्गल्स चिप्स र ट्याङ जुसको गुणस्तरमा पनि प्रश्न उठेको भन्दै विभागले चिन्ता व्यक्त गरेको छ ।

‘नयाँ मिति राखेर बजारमा पठाउन खोज्नु जनस्वास्थ्यमाथिको गम्भीर खेलवाड हो,’ वाणिज्य विभागका एक अधिकारीले भने ।

विशाल समूहसँग आयनको कनेक्सन

आयन डिष्ट्रिब्युटर लोकल वितरक रहेको र उसले सबैखाले खाद्य वस्तु तथा सामाग्री विशाल समूहको युनाइटेड डिष्ट्रिब्युटर र अर्को एक वितरक लाइफ केयर इन्टरनेशनलबाट खरिद गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

स्नेकर्स, ओरियो बिस्कुट, हर्लिक्स, मार्स चकलेट, किल्डे, बण्टी तथा मिल्की र प्रिङ्गल्सको नेपाल आयातकर्ता विशाल समूह रहेको र यसको भगिनी संस्था युनाइटेड डिष्ट्रिब्यूटरले बजारमा यी सामान फैलाउने काम गर्ने गरेको अनुसन्धानमा देखिएको स्रोतले बतायो । ‘म्याद गुज्रेर नष्ट गर्नु पर्ने वस्तु आयानले रि–लेबलिङ गरेको र आयनले उक्त वस्तु युनाइटेडमार्फत किनेको देखिएकाले अनुसन्धानको सुई विशाल समूहतर्फ घुमेको छ,’ विभागका उच्च एक अधिकारीले भने ।

करिब एक करोड रुपैयाँभन्दा धेरै मूल्यका त्यस्ता वस्तुहरुसहितको गोदाम सिल गरिएको र थप अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । गोदाममा युनिलिभरका उत्पादनहरु रिलेबलिङ गरेको भेटिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment