Comments Add Comment
सामुदायिक विद्यालयमा चहलपहल सुरु :

६ महिनापछि विद्यालय खुल्दा विद्यार्थी फुरुङ्ग

शिक्षक भन्छन्- विद्यार्थी उफ्रेको देख्दा मन चंगा हुँदोरहेछ

१२ असोज, काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७, महादेवस्थानस्थित प्रभात माध्यमिक विद्यालयले गत असारमा अनलाइन कक्षा सञ्चालनका लागि विद्यार्थीहरूको लगत संकलन गर्‍यो । इन्टरनेट र मोवाइल-ल्यापटप भएका विद्यार्थी संख्या एउटा कक्षामा ६/७ जना भन्दा बढी भएनन् ।

‘हाम्रा विद्यार्थीसँग पनि इन्टरनेट र डिभाइस भएन, हामीले किनेर दिन पनि सकेनौं’ विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद रुपाखेती भन्छन्, ‘कुनै विकल्प नभएपछि चाहेर पनि विद्यार्थीलाई पढाउन सकेनौं ।’

निरन्तरको लकडाउन र निषेधाज्ञा कारण हात बाँधेर बस्नुको विकल्प थिएन । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै चन्द्रागिरि नगरपालिकाले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन अनुमति दियो । त्यतिमात्रै होइन, नगरपालिकाले शिक्षक-विद्यार्थीमा संक्रमण देखिइहाले उपचार गर्छौं भनेर आडभरोसा समेत दियो ।

असोज १ गतेदेखि विद्यालय सञ्चालनमा आयो । प्रधानाध्यापक भन्छन्, ‘६ महिनापछि विद्यार्थीहरू उफ्रेको देख्दा मन पनि चंगा हुँदोरहेछ ।’

८५० मध्ये ५५० विद्यार्थी भर्ना भइसकेका छन् । उनीहरू पालैपालो विद्यालय जान्छन् । बिहान १० बजे र १२ बजे गरी दुई सिफ्ट सञ्चालन भएको छ ।

विद्यार्थीलाई एक हप्ताभरिलाई पुग्ने गृहकार्य दिएर पठाउने गरिएको प्रधानाध्यापक रुपाखेतीले जानकारी दिए ।

विद्यालयमा प्रवेश गर्दा ज्वरो नाप्ने, मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । एउटा बेन्चमा एकजना मात्रै विद्यार्थी बस्छन् । माथिल्लो कक्षामा भने एउटा बेन्चमा दुई जनासम्म विद्यार्थी राखिएको जनसंख्या शिक्षक रेखा खनालले जानकारी दिइन् ।

कपडाको मास्क लगाएर आउने विद्यार्थीलाई विद्यालय नै सर्जिकलको मास्क उपब्ध गराएको शिक्षक खनाल बताउँछिन् । जोखिमका बावजुद विद्यार्थीको भविष्य हेरेर पढाइलाई निरन्तरता दिएको उनको भनाइ छ ।

भर्ना भएका विद्यार्थीहरू सबैले पाठ्यपुस्तक प्राप्त गरिसकेको रुपाखेती बताउँछन् ।

प्रधानाध्यापक रुपाखेती भन्छन्, ‘अन्य विकल्प नभएपछि शैक्षिक सत्र खेर जान नदिन सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका हौं ।’

प्रभात माध्यमिक विद्यालय एउटा उदाहरण हो । यसरी स्थानीय सरकारसँग अनुमति लिएर कक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयहरूको संख्या ठूलो छ ।

गोरखाको बोर्लाङस्थित सरस्वती मावि, सुर्खेतको वीरेन्द्रनगर-९, स्थित कोपिला माविलगायतले पनि विद्यालय सञ्चालन गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने जिल्ला समन्वय इकाइमार्फत विद्यालय सञ्चालन गरे कारबाही गर्ने चेतावनी दिइरहेको छ ।

यो पनि पढ्नुहोस विद्यार्थीलाई पढाए कारबाही गर्ने लमजुङ प्रशासनको चेतावनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment