
३ असोज, काठमाडौं । जेनजी आन्दोलनका कारण विश्वविद्यालयदेखि विद्यालयतहसम्मको शैक्षिक क्यालेन्डर प्रभावित भएको छ । गत २३ र २४ भदौमा आन्दोलन चल्दै गर्दा त्रिभिुवन विश्वविद्यालयको ४ वर्षे स्नातक तहको परीक्षा थियो ।
तर आन्दोलनका कारण त्रिविले परीक्षा स्थगित गर्यो । २४, २५ र २६ भदौको परीक्षा २, ४ र ५ असोजलाई सारिएको थियो । तर परिस्थिति थप असहज भएपछि परीक्षा नै स्थगित गरियो ।
‘अब दशैं र तिहारपछि मात्र परीक्षा हुन्छ । आन्दोलनका कारण परीक्षा स्थगित गर्नुपर्यो,’ परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले भने ।
परीक्षा नियन्त्रण कार्यालयले चौथो वर्षको नतिजा पनि सार्वजनिक गर्ने कार्यतालिका थियो तर रोकिएको छ ।
‘चौथो वर्षको नतिजा निकालेर दुई विषय लागेकाको पूरक परीक्षा गर्नुपर्ने थियो । यसले स्नातकोत्तरको भर्नामा पनि असर पर्ने भयो,’ उनले भने ।
स्नातक तहको दोस्रो वर्षको परीक्षा फारम पनि त्रिविले खुलाएको थियो । तर आन्दोलनका कारण प्रभावित भएको छ । त्रिविको दीक्षान्त समारोह १५ पुसभित्र गरिसक्नु पर्ने हुन्छ । तर परीक्षा र नितजा प्रकाशनमा प्रभावित भएकाले दीक्षान्त समारोह पनि समयभित्र हुने कि नहुने भन्नेमा अन्योल भएको छ ।
आन्दोलनका कारण प्रभावित भएकाले जाडो बिदामा पढाउने तयारी त्रिविको छ ।
‘आन्दोलनले शैक्षिक क्यालेन्डरमा असर परेको छ । ७ दिन प्रभावित भएको छ । यो जाडो बिदामा मिलाउने योजान छ,’ त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले भने, ‘डिन र क्याम्पस प्रमुखहरूसँग छलफल गरेर क्यालेन्डर मिलाउँछौं ।’
त्रिविमा कक्षा भने छठपछि मात्र सुरु हुनेछ ।
निजी विद्यालयमा दशैं-तिहार बीचमा पनि कक्षा
निजी विद्यालयहरूले दशैं र तिहारको बीचमा पनि कक्षा सञ्चालन गर्ने भएका छन् ।
आन्दोलनका कारण एक साता कक्षा प्रभावित भएकाले दशैं र तिहारको बीचमा कक्षा चलाउन लागेका हुन् ।
‘दशैं र तिहारको बीचमा बिदा हुन्थ्यो । यसपटक कक्षा हुन्छ । अतिरिक्त गतिविधि कटौती गरेर पनि कोर्स पूरा गर्छौं,’ एनप्याब्सन अध्यक्ष सुवास न्यौपानेले भने ।
आगामी फागुनका लागि चुनाव तोकिएकाले त्यसबेला पनि विद्यालय बन्द हुने भएकाले अगाडि नै कोर्स पूरा गर्ने योजना विद्यालयहरूको छ ।
‘फागुनमा चुनाव भनेको छ । चुनावले पनि पठनपाठनमा असर पर्छ । दशैं र तिहारको बीचमा पढाइ गर्नुको विकल्प छैन,’ उनले भने ।
निजी विद्यालयहरूले जेनजीको आन्दोलनका कारण परीक्षा प्रभावित भएकाले शनिबार पनि परीक्षा लिइरहेका छन् । ‘अहिले परीक्षा चलिरहेको छ । सार्वजनिक बिदामा पनि परीक्षा लिइरहेका छौं,’ न्यौपाने भने ।
सामुदायिक विद्यालयमा पनि स्थानीय तहले प्रभावित भएको विद्यालयहरूमा आवश्यकताको आधारमा निर्णय गरेर कक्षा सञ्चालन गर्ने छन् ।
शहरी क्षेत्रमा प्रभाव भएपनि कतिपय ग्रामिण भेगमा आन्दोलनको असर परेको थिएन । ‘स्थानीय तहले निर्णय गर्ने छ,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।
सरकारले पनि आन्दोलनले प्रभावित भएको ठाउँमा बिदाको समयमा मिलाएर कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
‘पाठ्यक्रम अनुसार पढाउनै पर्छ । प्रभावित भएको ठाउँमा बिदाको समयमा पढाउन परिपत्र गर्छौं । हिउँदे र बर्खे बिदामा मिलाएर कक्षा हुन्छ,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले भने ।
प्रतिक्रिया 4