Comments Add Comment

कोरोनाबाट चिकित्सक र ६ वर्षीय बालकसहित १५ जनाको मृत्यु

१५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट चिकित्सक र ६ वर्षीय बालकसहित १५ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार रुपन्देहीका ३ जना, काठमाडौं, सुनसरी र बाँकेका २/२ जना, भक्तपुर, ललितपुर, धनुषा, रौतहट, मोरङ र सुर्खेतका एक-एक जनाको मृत्यु भएको हो ।

  • बुधबार लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएका कोटहीमाई-८, रुपन्देहीमा ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बुधबार दिउँसो फिभर क्लिनिकमा ल्याइएको थियो ।
  • बुटवल उपमहानरपालिका-८, रुपन्देहीका ८० वर्षीय पुरुषको बुधबार राति कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचापका बिरामी उनी ज्वरो, श्वासप्रश्वासमा समस्या दिएर १२ गते अस्पताल भर्ना भएका थिए ।
  • सिद्धार्थनगर नगरपालिका-१, रुपन्देहीका ६५ वर्षीय पुरुषको बिहीबार युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनिया भएर सोमबार अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको थियो ।
  • लाजिम्पाट, काठमाडौंकी ७८ वर्षीय पुरुषको नर्भिक अस्पतालमा बिहीबार निधन भएको छ । उच्च रक्तचाप र टाउकोको समस्याबाट ग्रसित उनलाई कोरोना संक्रमण भएको ११ असोजमा पुष्टि भएको थियो भने निमोनिया भएर १२ गते अस्पताल भर्ना भएका थिए ।
  • लगन, काठमाडौंका ६८ वर्षीय पुरुषको बुधबार पाटन अस्पतालमा मृत्यु भएको छ । कलेजोको समस्याले ३ असोजमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको ४ गते पुष्टि भएको थियो ।
  • इटहरी नगरपालिका-६, सुनसरीका ५६ वर्षीय पुरुषको बुधबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएका उनी विराट मेडिकल कलेजबाट रिफर भएर धरान पुगेका थिए ।
  • कोशी अस्पतालमा मृत्यु भएका मोरङ कारागारमा रहेका सुनसरीकै २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि बुधबार अस्पताल पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
  • नेपालगञ्ज उपमहानगरपालिका-४, बाँकेका ५२ वर्षीय पुरुषको बिहीबार नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा मृत्यु भएको छ । १० गते कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएपछि १२ गते अस्पताल भर्ना भएका थिए ।
  • खजुरा गाउँपालिका-३, बाँकेका ५९ वर्षीय पुरुषको बिहीबार भेरी अस्पतालमा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल, सुर्खेतका चिकित्सक समेत रहेका उनलाई भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने १ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई प्लाज्माका साथै रेमडिसिभिर चलाइएको थियो ।
  • थिमी, भक्तपुरका ६८ वर्षीय पुरुषको बुधबार पाटन अस्पतालमा मृत्यु भएको छ । उनी श्वासप्रश्वासमा समस्या भएपछि २ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • ललितपुर महानगरपालिका-२०, ललितपुरका ४८ वर्षीय पुरुषको बिहीबार वीर अस्पतालमा मृत्यु भएको छ । उनलाई बिहीबार नै अस्पताल लगिएको थियो ।
  • जनकपुर उपमहानगरपालिका-२, धनुषाका ६ वर्षीय बालकको बिहीबार विराट मेडिकल कलेजमा मृत्यु भएको छ । ज्वरो आएर अस्पतल पुगेका उनलाई ८ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • ईशनाथ नगरपालिका-४, रौतहटका ७४ वर्षीय पुरुषको बिहीबार नेशनल मेडिकल कलेज, वीरगञ्जमा मृत्यु भएको छ । असोज ८ गते नारायणी अस्पताल भर्ना भएका उनलाई कोरोना पुष्टि भएपछि नेशनलमा सारिएको थियो ।
  • उर्लाबारी नगरपालिका-२, मोरङकी ८४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । विराट मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेकी थिइन् ।
  • भेरिगंगा नगरपालिका-५, सुर्खेतकी ७५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । पित्तथैलीसम्बन्धी रोगबाट पीडित उनलाई ६ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८ गते अस्पताल भर्ना भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment