News Summary
Generated by OK AI. Editorially reviewed.- मल्लिका शेरावत पटना आयोजित डान्डिया नाइट कार्यक्रममा सहभागी हुन जाँदा तेजप्रताप यादवसँग भेट भएको थियो।
- तेजप्रतापले मल्लिकालाई आफ्नो घरमा निम्तो दिएपछि उनले राबडी देवी र रोहिणी आचार्यसँग भेट गरेकी थिइन्।
- तेजप्रतापले भेटघाटको भिडियो सामाजिक सञ्जालमा राख्दै यसलाई आफ्नो परिवारका लागि विशेष र सम्झनालायक दिन भनेका छन्।
बलिउड अभिनेत्री मल्लिका शेरावत बिहारका नेता लालू यादवको घरमा पुगेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ । आखिर उनी त्यहाँ किन गएकी थिइन् ?
मल्लिका पटना आयोजित डान्डिया नाइट कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् । त्यही क्रममा उनको तेजप्रतापसँग भेट भएको थियो । उनी बिहारका पूर्वमुख्यमन्त्री लालू यादवका जेठा छोरा र जनशक्ति जनता दलका अध्यक्षसमेत हुन् ।
यसअघि जियोको एउटा कार्यक्रम र ‘भोजपुरी बवाल’ नामक कार्यक्रममा पनि मल्लिकासँग तेजप्रतापको भेट भएको थियो । पटना पुगेकी मल्लिकाले तेजप्रतापसँग उनको परिवारलाई भेट्ने इच्छा व्यक्त गरेकी थिइन् । त्यसपछि तेजप्रतापले उनलाई आफ्नो घरमा निम्तो दिएका हुन् ।
घरमा मल्लिकाको भेट लालूप्रसाद यादवकी पत्नी तथा बिहारकी पूर्वमुख्यमन्त्री राबडी देवी र रोहिणी आचार्यसँग भयो । तेजप्रतापले मल्लिकाको परिवारका अन्य सदस्यहरूसँग पनि भिडियो कलमार्फत कुराकानी गराएका थिए । भेटघाटको भिडियो उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

भिडियोसँगै उनले यो दिन आफू र आफ्नो परिवारका लागि विशेष तथा सम्झनलायक रहेको उल्लेख गरेका छन् । मल्लिकाको सरल स्वभाव, आत्मीयता र परिवारप्रतिको सम्मानबाट आफू प्रभावित भएको पनि उनले बताएका छन् ।तेजप्रतापका अनुसार, उनका आमाबुबा पनि मल्लिकासँग भेटेर खुसी भएका थिए । उनले केही भेटघाट सामान्य भेटमा मात्र सीमित नरहने र जीवनभर सम्झनलायक बन्ने भाव व्यक्त गर्दै अभिनेत्रीलाई धन्यवाद दिएका छन् ।
यसअघि मल्लिका शेरावत र तेजप्रताप यादवलाई ‘भोजपुरी बवाल’ कार्यक्रममा पनि सँगै देखिएको थियो । उक्त कार्यक्रममा उनीहरूबीच भएको कुराकानीले पनि दर्शकको ध्यान खिचेको थियो ।
तेजप्रताप र मल्लिकाको अनौठो सहकार्यले सामाजिक सञ्जालमा चर्चा पाउँदै आएको छ । केही समयअघि रियालिटी शो ‘भोजपुरी बवाल’ को एउटा भिडियो भाइरल भएको थियो । भिडियोमा मल्लिका फिटनेस प्रशिक्षकको भूमिकामा देखिएकी थिइन् भने उनले तेजप्रतापलाई योगका विभिन्न आसन र शारीरिक व्यायाम गर्न सिकाइरहेको देखिन्थ्यो ।
भिडियोमा मल्लिकाले सहज रूपमा योगका आसन र स्ट्रेचिङ गरिरहँदा तेजप्रताप भने रमाइलो पारामा उनलाई पछ्याउन संघर्ष गरिरहेका देखिन्थे । त्यस क्रममा दुवैबीच भएको संवाद र हाँसीमजाकले धेरैको ध्यान तानेको थियो ।
प्रतिक्रिया 4