+
+
Shares
करदाता प्रोत्साहन उपहार कार्यक्रम :

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्।
  • दसैँमा नुवाकोटको एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान किनेकी तामाङको कुपन नम्बर गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको थियो।
  • विभागले १६ दैनिक विजेतासमेत छनोट गरेको छ र उनीहरूले कात्तिक १५ गतेभित्र सक्कल बिलसहित कर्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्ने जनाएको छ।

१ कात्तिक, काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् ।

दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो ।

काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताको घोषणा गरेका थिए । विजेता घोषणा भएलगत्तै उनीहरूले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए ।

सुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङलाई कलाकारद्वयले यो नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको बताएपछि आफूले उपहार जितेको विश्वास लागेको थियो ।

आन्तरिक राजस्व विभागका अनुसार कार्यक्रममा बम्पर उपहारबाहेक १६ जना दैनिक विजेता पनि छनोट भएका छन् । असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका एक–एक जना विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

दैनिक उपहारको घोषित राशि जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि कर कट्टीपछि विजेताको खातामा १ लाख रुपैयाँ जम्मा हुनेछ ।

विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा बिल लिने बानीको विकास गराउन कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनका अनुसार असोज १६ देखि ३१ गतेसम्मको अवधिमा २ लाख ७५ हजार ८८४ कारोबार बिल प्रविष्ट गरेर कार्यक्रममा सहभागी भएका थिए । क्यूआर भुक्तानीमार्फत स्वत: दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत जोड्दा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए ।

बम्पर तथा दैनिक उपहारका सबै विजेताले आगामी कात्तिक १५ गतेभित्र आफूले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?