+
+
Shares

प्रियंका भन्छिन्, ‘बच्चालाई पढेर वा बोलेर सिकाउने होइन, बाँचेर सिकाउनुहोस्’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रियंका कार्कीले छोरी आयांकाले आफ्नै व्यवहारबाट सिक्ने भन्दै आमाबुबाको बोली र आनीबानीले बालबालिकामा सिधा प्रभाव पार्ने बताइन्।
  • उनले घरमा हुने दुर्व्यवहार बच्चाले देखेपछि पछि त्यसैलाई सामान्य ठान्न सक्ने र त्यसले सम्बन्धमा असर पार्ने उल्लेख गरिन्।
  • प्रियंकाले बच्चालाई पढेर वा बोलेर होइन, अभिभावकको व्यवहार बाँचेर सिकाउनुपर्ने बताइन्।

त्यसो त अभिनेत्री प्रियंका कार्की यतिबेला पारिवारिक जीवनमा बढी व्यस्त देखिन्छिन् । छोरीको जन्मपछि उनी अक्सर घर र परिवारसँग रमाइरहेको देखिन्छिन् । कहिले छोरीसँगै खेलिरहेको त कहिले घुमफिर गरिरहेकी देखिन्छिन् । सामाजिक सञ्जालमा उनको प्यारेन्टिङ शैली धेरैले रुचाएका पनि छन् ।

बालबच्चा कसरी हुर्काउने ? कसरी उनीहरूलाई सही दिशाबोध गराउने ? यस्तै सन्दर्भमा उनले बोलेका कुरा पनि निकै घतलाग्दा छन् । एक पोडकास्टमा प्रियंका भन्छिन्, ‘हेर्नुहोस्, मसँग तीनवटा कुकुर छन् । तिनीहरूलाई म कस्तो व्यवहार गर्छु ? छोरी आयांकाले त्यही सिक्ने हो । मेरो बोलीको तौरतरिका कस्तो छ ? कति ठूलो वा सानो आवाजले बोलेको छु ? त्यो कति रुखो वा मधुर छ ?

मैले जसरी बोल्छु वा जे गर्छु, बच्चाले त्यही सिक्ने हो ।’

घरपरिवारमा आमाबुबाले गर्ने व्यवहारको सोझो प्रभाव बच्चामा पर्ने उनको अनुभव छ । बच्चा सानो छँदा आफ्नी आमालाई कुन रूपमा देखेको थियो ? बुबालाई कस्तो अवस्थामा देखेको थियो  ? उनीहरूको व्यवहार कस्तो थियो ? यी कुरा एकदमै महत्त्वपूर्ण हुने उनको बुझाइ  छ ।

प्रियंका भन्छिन्, ‘जस्तो, हामी सुन्छौँ नि, कतिपय घरपरिवारभित्र अनेक दुर्व्यवहार हुन्छ । श्रीमान्ले श्रीमतीलाई कुटपिट गर्छ । बच्चाले यो कुरा देखेको छ भने मानौँ, उनी छोरी हुन् भने पछि आफ्नो श्रीमान्ले कुट्दा उनले त्यसलाई सामान्य ठान्छिन् । किनभने उनलाई लाग्छ, मेरी आमाले पनि यसरी कुटाइ खाएकी थिइन् । त्यसैले उनी सहेर बस्छिन् ।

यस्तै, छोरो हो भने उसले आफ्नी श्रीमतीलाई कुट्न सक्छ । किनभने उसले पनि बुबाले आमालाई कुटेको देखेको थियो । यसरी कुट्नु कुनै ठूलो कुरा होइन भन्ने उसलाई लाग्छ ।

अर्थात्, हामीले गर्ने कुनै पनि व्यवहारले बालबच्चाको सिकाइमा प्रभाव पार्छ । हामी जस्तो व्यवहार गर्छौँ, उनीहरूको आनीबानी पनि त्यस्तै विकास हुने हो। त्यसैले बच्चालाई पढेर वा बोलेर सिकाउने होइन, उनीहरूलाई हामीले बाँचेर सिकाउने हो ।’

करियरसँगै उनी एउटी असल आमाको भूमिका पनि उत्तिकै जिम्मेवारीका साथ निभाइरहेकी छिन् । छोरीलाई उनी प्रायः घुमफिरमा लैजाने गर्छिन् । नयाँ ठाउँ र परिवेशसँग परिचित गराउनुका साथै नयाँनयाँ कुरा अवलोकन गर्ने अवसर पनि दिइरहेकी हुन्छिन् ।

केही समयअघि उनले छोरीसँग थाइल्यान्ड, फुकेटमा जीवजन्तुसँग बिताएका क्षणहरू सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । त्यहाँ छोरी विभिन्न प्रजातिका जीवजन्तुसँग खेलिरहेको र उनीहरूप्रति माया दर्शाइरहेको देखिन्छ । घरमा पनि उनले छोरीलाई जीवजन्तुबाट टाढा राख्नुको सट्टा उनीहरूसँग घुलमिल हुन र सहअस्तित्वको भावना विकास गर्न सिकाइरहेकी देखिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?