Comments Add Comment

सर्वोच्चका न्यायाधीशको घरझगडाः श्रीमती पक्राउ, श्रीमान भन्छन्- छाँगाबाट खसेँ !

१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउतलाई सोमबार उदयपुर प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै श्रीमानको हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललिता र उनका आफन्तहरु पक्राउ परेका हुन् । बुहारी ललिताले छोरा प्रकाशमानसिंह राउतलाई थाहा नदिइ हस्ताक्षर र औंठाछापसमेत किर्ते गरेर अरुकै बच्चालाई आफ्नो भनेर जन्मदर्ता गराएको भन्दै न्यायाधीश राउतका पिताले  उजुरी दिएपछि प्रहरीले उनीहरुलाई समातेको हो ।

न्यायाधीश राउतको हस्ताक्षर किर्ते गरेर अर्कैको बच्चालाई उनको बनाउने कार्यमा संलग्न भएको आरोपमा श्रीमती ललितासहित उनका दाजु बाबुराम चौहान र भाउजुलाई उदयपुर प्रहरीले पक्राउ गरेको हो ।

कटारी नगरपालिका वडा नम्बर ३ बाट नक्कली जन्मदर्ता गराएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि किर्ते मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए ।

प्रहरी प्रमुखले ललिता न्यायाधीशकी श्रीमती भन्ने आफूलाई थाहा नभएको तर उनीहरुले अर्काको सही र औंठाछाप किर्ते गरी नक्कली जन्मदर्ता गराएको पाइएकाले पक्राउ गरिएको बताए ।

अर्कैलाई बाबुआमा कायम गरेर जन्म प्रमाणपत्र दिने काठमाडौं मेडिकल कलेजलाई समेत प्रहरीले अनुसन्धानमा तानेको छ ।

स्रोतका अनुसार न्यायाधीशकी पत्नी पक्राउ गरिएकाले प्रहरीले यससम्बन्धी विवरण सार्वजनिक गर्न मानेको छैन ।

अनलाइनखबरले कटारीका डीएसपी ध्रुवकुमार श्रेष्ठसँग यसबारे बुझ्न खोज्दा उनले एसपीसँग कुरा गर्न आग्रह गरे । एसपी राईले किर्ते मुद्दामा पक्राउ गरेर म्याद थप गरिएको बाहेक अरु विवरण कटारीका डीएसपीबाटै लिन भने । प्रहरीले पक्राउ परेका व्यक्तिको विस्तृत विवरण दिनसमेत मानेको छैन ।

यसैबीच कटारी नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले भने किर्ते पुष्टि भएपछि जन्मदर्ता बदर भइसकेको जनाएको छ । किर्ते गरेर अरुकै बच्चाको जन्मदर्ता गराएको देखिएकाले बदर गरिएको वडाध्यक्ष रामवहादुर पोखरेलले बताएका छन् ।

न्यायाधीशका पिताको जाहेरी

यसैबीच कटारी प्रहरीले तीन दिनपछि न्यायाधीश पत्नी पक्राउ परेको सार्वजनिक गरेको छ । सही छाप किर्ते गरी दस्तखत गरेको आरोपमा प्रकाशमान सिंह राउत पत्नी ललितकुमार राउत चौहान, दाजु बाबुराम चौहान, शिवशंकर चौहान, भाउजू बुनु चौहान र भोजकुमारी पोखरेललाई पक्राउ गरिएको जनाएको छ ।

उनीहरुले गत असोज १० र ११ गते कटारी नगरपालिका वडा नम्बर ३ को कार्यालयबाट बाबु प्रकाशमान सिंह राउत र आमा ललिताकुमारी राउत, बाजे बलबहादुर राउत हो भनी कीर्ते सही छाप ल्याप्चेसमेत लगाई नवजात शिशु दक्ष्य राउतको जन्मदर्ता बनाएको आरोप छ ।

न्यायाधीशका पिता बलबहादुरको जाहेरी अनुसार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कसरी भयो जन्मदर्ता ?

गत साउन १८ गते ललिताका दाजु शिवराम चौहानकी पत्नीले काठमाडौं मेडिकल कलेजमा छोरालाई जन्म दिएकी थिइन् । बच्चा जन्माउनकै लागि जनकपुरबाट आएका दाजु-भाउजू न्यायाधीशकै घरमा बसेका थिए । तर, बच्चा जन्मिनु अघिल्लो दिन दिदीको घर मूलपानीमा जाने भन्दै आफू पनि सँगै गएको न्यायाधीशको घरकी सहयोगी रविनाले बताइन् ।

अस्पतालबाट बच्चा निकाल्ने बेलामा बाबुको नाम प्रकाशमानसिंह राउत र आमाको नाम ललिता राउत राखिएको छ । यद्यपि यो कुरा आफूले एक डेढ महिनापछि मात्रै थाहा पाएको न्यायाधीश राउतले अनलाइनखबरसँग बताए ।

कटारीबाट नक्कली जन्मदर्ता गरेको भन्ने जानकारी आफन्तले सूचना दिएपछि बुझ्दा पुष्टि भएको उनले जानकारी दिए ।

न्यायाधीश राउत कटारीका स्थायी बासिन्दा हुन् । उनका ८० वर्षे पितासहित परिवारका अन्य सदस्य कटारीमै बस्छन् ।

जन्मदर्ता गराउने क्रममा जनकपुरका बासिन्दा चारजना दाजु-भाउजु सहित ललिता कटारी पुगेको र घरमा आमा बुबासँगै बसेको खुलेको छ । तर, उनीहरुले जन्मदर्ता गराउन आएको भन्ने जानकारी भने घरमा नदिएको न्यायाधीशले बताए ।

ललिता भन्छिन्- ‘डबल श्रीमान’बाट हिंसा भयो

कटारी प्रहरी चौकीको हिरासतमा रहेकी ४४ वर्षीया ललिता राउत चौहानले सर्वोच्चका श्रीमान प्रकाशमानसिंह राउतबाट जायजन्म नभएकाले आफूले धर्मपुत्र राख्न चाहेको बताएकी छन् ।

अनलाइनखबरकर्मीसँग कुरा गर्दै ललिताले अरुको बच्चा लिने कुरामा न्यायाधीशले पनि समर्थन जनाएको तर पछि उनले अस्वीकार गरेको बताएकी छन् । उनले भनिन्- ‘बच्चा एडप्ट गर्ने कुरा भएको थियो । तर, यो बच्चा एडप्ट गरेको थाहा पाएपछि सर्वोच्च अदालतका श्रीमान र मेरा श्रीमान (डबल श्रीमान) ले मलाई घरबाट निकाल्नुभयो । घरमा जाँदा गेटबाट फर्काइयो । ममाथि घरेलु हिंसा भएको छ । यो उमेरमा म सम्बन्धविच्छेद गरेर पनि कहाँ जाने ? उहाँकै आदेशमा प्रहरीले हामीलाई पक्राउ गरेको हो ।’

श्रीमान-श्रीमतीबीच १४ वर्षको उमेर अन्तर रहेको र श्रीमानले शारीरिक सम्बन्धसमेत नराखेका कारण आफूले दाजु-भाउजूको नवजात शिशुलाई छोराका रुपमा लिन चाहेको ललिताले बताइन् । तर, श्रीमानको असहमति रहेकाले जन्मदर्ता गर्ने उनलाई जानकारी नदिर्इ एक्लै गरेको ललिताले स्वीकार गरेकी छन् ।

उनले आफूलाई श्रीमानले बेवास्ता गरेको र पछिल्लो समय हिंसा समेत गरेको आरोप लगाएकी छन् । ०६१ सालमा बिहे भएको भन्दै उनले सुरुमा आफूले सम्बन्ध विच्छेद चाहँदा श्रीमानले नदिएको र अहिले श्रीमानबाट आफूमाथि सम्बन्ध विच्छेदका लागि दबाव आएको बताएकी छन् । उनले आफूलाई घरमा बस्न र खान लाउन नदिएको आरोपसमेत लगाएकी छन् ।

न्यायाधीश भन्छन्- म त छाँगाबाट खसें !

हामीले यो सबै प्रकरणको विवरणपछि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतसँग सम्पर्क गर्‍यौं । न्यायिक क्षेत्रमा स्वच्छ छबिका र विवादमा नपरेको श्रीमान मानिने राउतले श्रीमतीलाई थुनाएको समाचारको पुष्टि गर्न हामीले उनलाई सम्पर्क गरेका थियौं ।

राउतले अनलाइनखबरसँग कुरा गर्दै आफू पीडा र तनावमा रहेको बताए । श्रीमती र ससुरालीका कारण आफ्नो मान प्रतिष्ठामै धक्का लागेको भन्दै उनले अरुले किर्ते गरेको मुद्दामा सजाय दिनुपर्ने आफैं यस्तो प्रकरणमा फसेको बताए । उनले श्रीमती भए पनि किर्ते गर्ने व्यक्तिलाई छाड्न नमिल्ने र आफैंविरुद्ध साजिस गर्ने व्यक्तिलाई घरमा राख्दा आफू असुरक्षित हुने भएकाले केस गरेको प्रष्ट पारे ।

न्यायाधीश राउतले आफूविरुद्ध षडयन्त्र भएको र हस्ताक्षरसमेत किर्ते गरेर आफूलाई फसाउन खोजिएकाले श्रीमती ललितासँगै रहँदा उनले भोलि बैबाहिक बलात्कारको अभियोग लगाउन सक्ने वा खानामा विष मिसाउन पनि सक्ने खतरा रहेको दाबी गरे ।

न्यायाधीशले अनलाइनखबरसँग यसरी प्रष्टीकरण दिए

वास्तवमा ललिता चौहान राउत मेरो पत्नी हुन् । तर, हेर्नुस न मेरो हस्ताक्षर र ल्याप्चेसमेत किर्ते भएछ । हेर्नुस म त त ठूलो भूमरीमा परेँ । उनले मात्र गरेको होइन उनको परिवार दाजु-भाउजु सबै मिलेर गरेका हुन् । बच्चा एडप्ट गरेको पनि होइन । एडप्ट नै गर्ने हो भने त मेरो सहमति चाहियो । मेरो घर परिवारको सल्लाह हुनुपर्‍यो । तर, यो सबै कुरामा मलाई गुमरामा राखियो ।

अस्पतालबाट पनि जाली बर्थ सर्टिफिकेट बनाएछन् । जन्मदर्ता पनि नक्कली गरेछन् । मसँग सबै डकुमेन्ट छन् यी हर्कत गरेका । मिडियालाई चाहियो भने म सबै दिन्छु । तर, मेरो पत्नी र उनका दाजु-भाउजू सबै लागेर मलाई अप्ठेरोमा पारेका छन् । मेरो मान सम्मान र प्रतिष्ठामै अप्ठेरो परेको अवस्था छ हेर्नुस् ।

फेरि मैले आजसम्म उनलाई कुनै नराम्रो व्यवहार गरेको छैन । उनलाई मैले फि्रडम दिएको चाहिँ हो । मैले उनलाई घरबाट निकालेको होइन । खान लाउन नदिएको पनि होइन । कुनै प्रकारको हिंसा पनि गरेको होइन । उनलाई मैले मनमौजी गर्न छुट दिएको हो ।

साउनतिर होला, उनले भाउजूहरु लिएर आइन् । बिरामी भएकाले उपचारका लागि ल्याएको भनेपछि घरमा कोठा खाली नै थिए । एक महिनाजति बस्न दिनुपर्‍यो भनेपछि ससुरालीलाई नदिने कुरा भएन । कोठा पनि चार/पाँचवटा खाली थिए । मैले उनीहरु बस्नु भनेँ । मलाई त डेलिभरी केस भन्ने पछिमात्र थाहा भयो ।

केही समय बसेपछि दिदीको घरमा जाने भने । उनीहरुको एउटा दिदीको घर कुपण्डोलमा छ अर्कोको मूलपानीमा छ । मूलपानी जाने भनेपछि मैले किन मूलपानी जाने, कुपण्डोलबाट प्रसुतीगृह नजिक छ उतै जानु भनेँ । तर, उनीहरुको कुरा अर्कैनै रहेछ । डाक्टरहरुसँग मिलेमतोमा कागजपत्र मिलाउन यस्तो साजिस गरेछन् ।

यो साउन १८ तिरको घटना हो । उनीहरु साउन २० तिर बर्थ सर्टिफिकेटमा मेरो पनि नाम राखेर जनकपुर गएछन् । मैले धेरैपछिमात्र यो कुरा थाहा पाएँ । उनीहरु जन्मदर्ता गराउन कटारी जानुपर्ने भयो । गत महिना मेरो घरमा पनि फोन गरेछन् उदयपुरमा । बुबाले आमा बिरामी छ भन्नुभएछ । उनीहरु आमालाई पनि हेर्ने भन्दै घरमा गए ।

बुबाआमाले बुहारी आउने भएपछि केही भन्ने कुरा भएन । उनीहरु वडा कार्यालयमा सचिव नभेटेपछि घरमा गएछन् । त्यहाँ मेरी भाउजूले बोर्डिङ स्कूल चलाउनुहुन्छ ।

गएका बेला उनले भाउजुसँग पनि भेटेर सचिव आएपछि कागज बनाएर जनकपुर फर्किएछन् । त्यतिञ्जेल उनीहरु जन्मदर्ताका लागि आएको भन्ने कसैलाई शंका भएन ।

तर, केही दिनपछि मेरो भाउजूलाई शंका भएछ । भाउजूसँग उनले यो बच्चा हामी लिनुपर्छ कि के हो भनिछन् । त्यसले भाउजूलाई चिसो पस्यो । भाउजूले आमासँग पनि भन्नुभएछ । यो कुरा मलाई भाउजूले भनेपछि मलाई पनि चासो भयो । मलाई नसोधी किन उनी गइन् भन्ने मलाई पनि मनमा पस्यो ।

मैले त्यसपछि मेरो दाइलाई वडा कार्यालयमा गएर बुझ्नुस त भन्दा जन्म दर्ता गराइसकेछन् । मेरो नाम र ल्याप्चे पनि किर्ते गरेको पाइयो । यो त गम्भीर कुरा भयो । त्यसपछि मैले अस्पतालमा पनि बुझेँ । अस्पतालबाट पनि किर्ते भएको पुष्टि भयो । म त छाँगाबाट खसेँ हेर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment