Comments Add Comment

निर्माण व्यवसायीका जायज काममा हस्तक्षेप हुँदैनः मन्त्री महासेठ

२२ मङ्सिर,काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घले ११औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको प्रभातफेरी कार्यक्रममा उनले व्यवसायीका काममा सरकारी हस्तक्षेप हुन नदिने बताए । देश बनाउने जिम्मेवारी निर्माण व्यवसायीकै हो भन्दै मन्त्री महासेठले पूर्ण शक्तिका साथ देश निर्माणमा जुट्न व्यवसायीलाई अनुरोध गरे ।

“विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमी कमजोरी भए होेलान्, अब त्यस्ता कमी कमजोरी सच्यााएर अघि बढ्नुको विकल्प छैन”मन्त्री महासेठले भने । उनले २०५२ सालदेखि विभिन्न कारणले पूरा नभएका योजनाको म्याद थप गर्ने प्रक्रिया शुरु भइसकेको जानकारीे दिए ।”

महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायलाई स्थापित पेशा बनाउन वर्तमान नेतृत्व क्रियाशील रहेको बताए । अहिलेको सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार बनाउन महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निर्माणमैत्री वातावरण अहिलेको आवश्यकता भएको बताए । महासङ्घका उपाध्यक्ष आङदोर्जी लामा(एडी) ले भौतिक पूर्वाधारको निर्माणबिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताए । महासङ्घका महासचिव रोशन दाहालले सरकार र व्यवसायीबीचको सहकार्यबाट मात्र निर्माण क्षेत्रको विकास हुने बताए ।

उपमहासचिव टङ्कप्रसाद चौंलागाईले निर्माण दिवसको महत्वमाथि प्रकाश पारे । सो अवसरमा मन्त्री महासेठले महासङ्घको मुखपत्र ‘निर्माण समाचार’ को विमोचन गर्नुभयो । प्रभातफेरी त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै अनामनगरस्थित महासङ्घको सचिवलाय पुगेर टुङ्गिएको थियो ।

दिवसकै अवसरमा आज महासङ्घको सचिवालयमा रक्तदान कार्यक्रम गरियो । देशभर रगतको अभाव रहेको अवस्थामा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको महासङ्घका जनसम्पर्क अधिकृत रामचन्द्र गिरीले जानकारी दिए । सो अवसरमा निर्माण व्यवसायी तथा सर्वसाधारण गरी ५० जनाले रक्तदान गरेका थिए । रक्तदातालाई महासङ्घका अध्यक्ष सिंह, पूर्व अध्यक्ष तथा सल्लाहकार रमेश शर्मा लगायतले प्रमाणपत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment