Comments Add Comment

घैलाडुब्बा सबस्टेसन सञ्चालनमा

१८ फागुन, काठमाडौं । झापाको सुरुङ्गा, घैलाडुब्बा, कुमारथोक,राजगढ लगायतका स्थानमा विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको घैलाडुब्बा सबस्टेसन संचालनमा आएको छ । सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको ३३/११ केभी घैलाडुब्बा सबस्टेसन शनिबारबाट संचालन(चार्ज)मा आएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन संचालनमा आएपछि लामो दुरी र ओभरलोडिङका कारणले पटकपटक लाइन टि्रप हुने र लाइन हुँदा पनि कम भोल्टेजका कारण त्यस क्षेत्रमा वत्ति, पंखा, मोटरलगायतका विद्युतीय उपकरण नचल्ने समस्या समाधान हुने बताए । ‘अब त्यस क्षेत्रको भोल्टेज सुधार हुन्छ, प्रणालीको चुहावट घट्छ र विद्युत् आपूर्तिको विश्वनसीयता बढ्छ,’ घिसिङले भने ।

प्राधिकरणले अब अनारमनी सबस्टेसनबाट ३३ केभी वितरण लाइनमार्फत घैलाडुब्बा सबस्टेसनमा विद्युत् ल्याउने छ । घैलाडुब्बा सबस्टेसनबाट ११ केभी एउटा वितरण लाइनमार्फत घैलाडुब्बातर्फ र ११ केभीको अर्को लाइनमार्फत सुरुङ्गातर्फका क्षेत्रमा विद्युत् आपूर्ति गरिने इन्जिनियर शैलेस सापकोटाले जानकारी दिए । अहिले अनारमनीबाट ११ केभी वितरण लाइनमार्फत घैलाडुब्बा र सुरुङ्गातर्फका क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।

लामो दूरी र ओभरलोडिङको कारणले त्यस क्षेत्रमा पटकपटक लाइन टि्रप हुने र लाइन भएको समयमा पनि भोल्टेज निकै कम हुने समस्याले उपभोक्ता समस्यामा थिए । घैलाडुब्बा सबस्टेसनबाट विद्युत वितरण सुरु भएपछि उपभोक्ताले अविछिन्न रुपमा गुणस्तरीय विद्युत् सेवा उपभोग गर्न पाउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा गि्रड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ ।

चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले एक वर्षमा १९ वटा गि्रड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment