Comments Add Comment

सहकारीबाटै हुण्डी कारोवार, अध्यक्ष र म्यानेजर पक्राउ

२९ पुस, विराटनगर । विराटनगरमा सञ्चालित एक सहकरी संस्थाबाट हुण्डीको कारोवार हुने गरेको पाइएको छ । हुण्डीका लागि प्रयोग भएको ६९ लाख  रूपैयाँसहित प्रहरीले सहकारीबाटै तीन जनालाई पक्राउ गरेपछि हुण्डी कारोवार हुने गरेको खुलेको हो ।

आइतबार मोरङ प्रहरीले विराटनगर महानगरपालिका- ७ मा सञ्चालित आस्था नेपाल बहुदेश्यी सहकारी संस्थाका अध्यक्ष सहित तीन जना हुण्डी कारोवारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानपालिका -७ का ३२ वर्षीय  राजेश हेडा, विराटनगर ११ का २५ वर्षीय सुमित साह र विराटनगर-१२ का ४१ वर्षीय दिपककुमार कर्ण रहेका छन् । पक्राउ परेका मध्ये हेडा सोही सहकारीका अध्यक्ष हुन् । कर्ण सहकारीको म्यानेजर हुन् ।

प्रहरीले सहकारीबाट ५९ लाख ७ हजार ६०० र  पक्राउ परेका साहबाट ९ लाख ५० हजार रुपैयाँ बरामत गरेको छ ।

विराटनगरमा बचत तथा ऋणको कारोवार गर्दै आएको सहकारीमा आइतबार विहान प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा हुण्डीमा प्रयोग भएको रकमसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक ( डीएसपी) घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्ने मध्ये अध्यक्ष हेडा मुख्य हुण्डी कारोवारी हुन् ।

पक्राउ परेका तीन जनालाई थप राजस्व अनुसन्धान विभाग इटहरीमा पठाइएको श्रेष्ठले जानकारी दिए ।

विराटनगर ७ अस्पताल लाइनमा कार्यलय स्थापना गरेको संस्थाले बचत तथा ऋणको पनि कारोवार गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment