Comments Add Comment

सरकारलाई गच्छदारको प्रश्न–कांग्रेसको अस्तित्व मेटाउन खोजेको हो ?

७ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रस्तावमाथि छलफल हुनुअघिनै संसद बैठक अवरुद्ध गरेको छ ।

कांग्रेसका दुई पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई संघीय सरकारको मातहतमा ल्याउनुपर्ने माग गर्दै कांग्रेसले सोमबार संसद बैठक अवरुद्ध गरेको छ ।

सरकारले तनहुँको जिपी कोइराला स्वास प्रश्वास केन्द्र र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहत नराखेर खारेज गर्न खोजिएको भन्दै कांग्रेसले तत्कालै संघको मातहत ल्याउने निर्णय गर्नुपर्ने अडान राखेको छ ।

सोमबार प्रतिनिधिसभा बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुखले संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बोल्ने समय दिएका थिए । गच्छदारले नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणका अग्रज गिरिजाप्रसाद र सुशील केइरालाको नामका अस्पताल खारेज गर्न खोजिएको आरोप लगाए ।

गच्छदारले भने ‘कांग्रेसको नेतृत्वमा अहिलेसम्मका आन्दोलन र क्रान्तिहरुको उपलव्धी संस्थागत भएका हुन् । के यो सरकारले कांग्रेसको अस्थित्व मेटाउन चाहेको हो ? होइन भने सरकारले यी दुई अस्पतालको अस्तित्व जोगाउन तत्काल गठन आदेशमार्फत केन्द्र सरकारको मातहत रहने निर्णय गरोस्, नत्र संसद अघि बढ्न सक्दैन ।

गच्छदारले वीपी कोइरालाको नाममा बनेपादेखि बर्दिबाससम्मको राजमार्ग सञ्चालनमा रहेको भन्दै हिम्मत भए वीपी राजमार्गको नाम केपी ओली राजमार्ग नामकारण गर्न चुनौती दिए । उनले सरकारले घोर अराजनीतिक काम गरेको भन्दै यसरी बिगतका निर्णय उल्ट्याउने हो भने सेनामा समायोजन भएका माओवादी लडाकुलाई पनि फिर्ता गर्नुपर्ने बताए ।

गच्छदारले डा. गोविन्द केसीसँगको सहमति विपरीत चिकित्सा शिक्षा बिधेयक ल्याइएकोमा समेत आपत्ति जनाएका थिए । कांग्रेस सांसदहरु गच्छदारले बोलेपछि पनि आ–आफ्नो स्थानमा उभिएर बसेपछि सभामुखले अवरोधको स्थिति भन्दै १५ मिनेटलाई बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment