Comments Add Comment

मूल्य नपाएपछि मुला र बन्दा खेतिमाथि डोजर

१२ माघ, चितवन । बजार मूल्यभन्दा पन्ध्र गुणा कम मूल्यमा पनि विचौलिया दलालहरुले लगाएको तरकारी नउठाएपछि पूर्वी चितवनका एक तरकारी किसानले आफ्नो तरकारी वारीमा डोजर लगाएका छन् ।

खैरहनी नगरपालिका वडा नं ६ तुलसीपुरका किसान पुरन महतोले तरकारीको मुल्य नपाएको भन्दै खेतमै डोजर लगाएर तरकारी नष्ट गरे । उपभोक्ताले बजारमा प्रतिकेजी १५ रुपैयामा किनिरहेको मुला र ३० रुपैया प्रतिकेजीमा किनिरहेको बन्दालाई बिचौलिया ब्यापारीले प्रतिकेजी दुई रुपैयामा पनि नलगेपछि महतोले खेतमै डोजर लगाए ।

‘लगानी र मेहनत नै नउठेपछि डोजर लगाएँ’ महतोले भने ‘व्यापारीले आफु खुसी तोकेको मुल्यमा दिनुभन्दा नष्ट गर्न उचित लाग्यो । बरु सित्तैमा लैजाउ भन्दा पनि मानेन् ।’

महतोले अर्काको जग्गा भाडामा लिएर तरकारी लगाएका थिए । मल, बीउ, सिंचाई, औषधि र श्रमशक्ति खर्च गरेर उत्पादन गरेको तरकारी सित्तैमा लैजाउ भन्दा पनि व्यापारी लैजान नमानेको महतोको भनाई छ ।

किसान महतोले १६ कठ्ठा क्षेत्रफलमा लगाएको बन्दा र मुलामा डोजर लगाएका हुन । उनले १० लाख बरावरको घाटा भएको बताए ।

‘ट्याक्टरले जोत्यो भनेपनि अर्काे तरकारीमा किरा लाग्ने सम्भावना हुन्छ’ उनले भने ‘त्यही भएर डोजर लगाएर बन्दा र मुला नष्ट गरेको हुँ ।’ २६ कठ्ठा क्षेत्रफलमा उत्पादन गरेको बन्दा र मुलाको मूल्य नपाउँदा अहिलेसम्म करिब १५ लाख रुपैयाँ नोक्सान भएको महतोेको भनाई छ ।

‘मौसम अनुसारको अर्को तरकारी लगाउने बेला भइसक्यो, खेतको तयारी तरकारी बिकेन’ महतोले भने ‘मुल्य आउँछ की भनेर १५ दिनसम्म कुरेँ, यहाँका व्यापारीले तरकारी नउठाएपछि काठमाडौंको कालिमाटी तरकारी मण्डीमा पुगे सबैका कुरा उहि भएपछि नष्ट गरेँ ।’

महतोको अझै १० कठ्ठामा लगाएको बन्दा तयारी अबस्थामा छ । उनी अझै पनि तरकारीको भाउ आउनेमा आशावादी छन् ।

अब १० दिनसम्म पनि बन्दा र मुलाको भाउ आएन भने बाँकी १० कठ्ठामा पनि डोजर लगाएर तरकारी नष्ट गर्ने योजना उनले बनाएका छन् ।

महतोले खेतमा बन्दा,काउली,भेन्टा,केराउ, खुर्सानी, आलु र राजमा लगाएका छन् । सबै तरकारीहरु बजार पठाउने बेला भइसकेको छ । उनले अब बोडी,करेला र घिरौला लगाउने योजना रहेका छन् ।

‘हामीले उत्पादन गरेको तरकारी व्यापारी बिचौलियाले लिनै मान्दैनन्’ महतोले भने ‘तरकारीको आयात बढदै गएका कारण हाम्रो उत्पादनले बजार नपाएको होला ।’

अहिलेसम्म यस्तो अबस्था नआएको महतोले दुखेसो छ । किसान महतोको तरकारी खेती पूख्यौली पेशा हो । बुवाले गर्दै आएको पेशालाई आफुले पनि निरन्तरता दिएको उनले बताए । महतोले अहिले ५ विगाहा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् ।

आफ्नो जग्गा १६ कठ्ठा मात्रैं छ । बाँकी जमिन भाडामा लिएर तरकारी खेति गर्दै आएका छन् महतोले । भारतबाट अत्याधिक तरकारी आयत हुने गरेका कारण नेपालका किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो महतोको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment