Comments Add Comment

रुसलाई धम्काउँदै अमेरिकाले तोड्यो आईएनएफ सन्धि, परमाणु निरस्त्रीकरणमा झट्का

Photo Credit : AP

१९ माघ, काठमाडौं । अमेरिकाले इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स (आईएनएफ­) सन्धि तोडेको घोषणा गरेको छ ।

१९८७ मा तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोभाचोभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले यस सन्धिमा हस्ताक्षर गरेका थिए । आईएनएफले जमिनबाट मार हान्ने मध्यम दुरीको मिसाइलको परीक्षण र परिचालनलाई रोक्दछ । यी मिसाइलबाट ५ सयदेखि ५ हजार ५ सय किलोमिटर टाढासम्म मार हान्न सकिन्छ ।

शीत युद्धको क्रममा भएको परमाणु हतियारसँग सम्बन्धित यो सन्धि तोडिनुलाई परमाणु निरस्त्रीकरणमा ठूलो झट्का मानिएको छ ।

लामो समयदेखि रुसलाई धम्काउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तमा कडा रवैया देखाउँदै आईएनएफ सन्धि स्थगित गरिदिएको बीबीसीले लेखेको छ । रुसले वर्षौंसम्म यस सन्धिको उल्लंघन गरेर अमेरिका र यूरोपको सुुरक्षालाई संकटमा पारेको आरोप अमेरिकाले लगाएको छ ।

ट्रम्पले भनेका छन्, ‘एक पक्षले यस सन्धिको पालना गरिरहेको छैन । हामीले पालना गरिरहेका छौं । तर दोस्रो पक्षले गरिरहेको छैन । जबसम्म उसले यसको पालना गर्दैन, हामीले पनि गर्दैनौं ।’

उनले अब एक नयाँ सन्धिको आवश्यकता औंल्याएका छन् र सबैले त्यसलाई पालना गर्नुपर्ने बताएका छन् । अमेरिकाले सन्धि तोडेको निर्णयमा नेटोले पनि समर्थन गरेको छ ।

रुसले भने अमेरिकाको निर्णयको निन्दा गरेको छ । रुसी विदेश मन्त्रालयले अमेरिकाको यो निर्णयलाई अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धताको हनन भनेको छ । उसले अमेरिकाले रुसलाई लगाएको आरोप आधारहिन भनेर टिप्पणीसमेत गरेको छ ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले अमेरिकाले कुनै प्रमाण विना रुसलाई आरोपित गरेको बताएकी छन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ब्यंग्य गर्दै भनेकी छन्, ‘रुसले कथित रुपमा यस सन्धिको उल्लंघन गरेको भनेर हामीले सुन्दै आएका छौं, तपाईंले आफ्नो ट्वीट बाहेक अरु केही प्रमाण देखाउन सक्नु हुन्छ ? यो कसरी भयो, यसको उल्लंघन कहिले भयो ? प्रमाणको एक टुक्रो पनि छैन, प्रमाणको रुपमा स्याटलाइटको तस्वीरसमेत छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment