Comments Add Comment

काम कुरो एकातिर, रेल चढी ल्हासातिर !

धुलिखेल जाने बस कोटेश्वर पुगेर समातेपछि गठ्ठाघर पुग्नासाथ एउटा खाली सिट भेटियो । झ्यालपट्टि एउटी युवती, फेब्रुअरीको महिना, भर्खरै पानी परेर रुकेको मौसम अनि खुल्दै गरेको आकाश, मनै फुरुङ्ग भयो । अन्यथा नसोच्नुहोला, युवती, महिना तथा मौसम केवल जानकारी हुन् भने भिडम् भिड बसमा बस्ने सिट पाउनु फुरुङ्ग हुने कारण । मन त हरदम विचलित नै छ आजभोलि । यो विचलन केवल मेरो मात्रै हैन, एक आम युवा तप्काको हो, जो विदेश हैन, यहीँ गरौँ, केही सानो गरौँ सकेसम्म नौलो गरौँ भन्ने एउटा जमातको हो।

छेउमा बसेकी उनी, कृषि तथा वन विज्ञानमा स्नातक गरेकी रहेछिन्, रामपुरबाट। रामपुर भन्नासाथ हालसालै विभिन्न विवाद तथा बन्दको सिकार भएको सरकारी उच्च शिक्षण संस्था सम्झिएँ।

कृषि बिषयमा मेरो विशेष रुची भएकाले सोधेँ: “ओहो, तपाईंहरु त यो देशको भविष्य कायापलट गर्न सक्ने क्ष्यमता भएको जनशक्ति, के छ योजना ? आफ्नै केही गर्ने कि लोकसेवा भिड्ने ?” मेरो प्रश्नले उनलाई असहज महसुस भएजस्तो लाग्यो, एकछिनपछि जवाफ दिइन् “हेर्नुस् न, ४ बर्षमा सकिनुपर्ने पढाइ ५ बर्ष लाग्यो, खासै पढाइ पनि भएन, परीक्षाको बेला धेरै नै मेहनत गर्नुपर्‍यो र जेनतेन पास भइयो, खै ! यहाँ बसेर त के होला र ? अमेरिकाको लागि तैयारी गर्दैछु, यहाँ खासै केही त छैन।” मेरो मनै अमिलो भएर आयो।

सानोमा कृषिलाई हेय भावले हेरी इन्जिनियरिङ शिक्षा तथा पेशा चुनेकोमा आज पनि पश्चाताप गर्दै थिएँ म। तर, स्वयं कृषि पढेकी ती क्षणिक मित्रको कृषिप्रतिको वितृष्णाले मलाई सोच्न वाध्य बनायो। फेरि उनैलाई सोधेँ: “हेर्स्नुस्,सरकारले यति धेरै कृषिमा आश्रित कार्यक्रमहरु ल्याएको छ, युवा स्वरोजगार कार्यक्रमहरु छन्, यति सुन्दर देश छ, सबैभन्दा ठूलो कुरा त यो देश अनि म जस्तालाई तपाईंको खाँचो छ।”

उनी केवल मुस्कुराइन् तर जवाफ पाइनँ। सोचेँ- कसैलाई कुनै क्षेत्रत्प्रति आकर्षण नै छैन भने म बबुरोको ५ मिनेटको अर्तिले किन कसैको टाउको खानु ? छुट्टिने बेलामा उनको इमेल ठेगाना लिएँ, मैले कुनै दिन कृषि पेशा अँगालौँला र उनको आवश्यकता होला कि भनेर।

विगतका १० दिन, कृषि क्षेत्रका समाचारहरुले मन झनै तरंगित बनाएको छ। किसानले उत्पादन गरेको तरकारी किनिदिने कोही नहुँदा बारीमै नष्ट गर्नुपर्ने अवस्था थियो भने सोही उत्पादन आयातको अंक आँङै सिरिङ्ग हुनेखालको थियो। कृषिप्रधान देशको कृषि मन्त्रालयले आफ्नो बजेटको झन्डै ५० प्रतिशत रकम अनुदानमै खर्च गरिरहँदा कृषि उपजको आयात गुणात्मक रुपले बढिरहेको छ भने उत्पादन निराशाजनक।

आश्चर्य त के लाग्छ भने, किसानले आफ्नो पेशाको कारणले कस्टका आँशु झार्नुपर्ने अवस्था आउँदा पनि सम्बन्धित सरकारी निकायले भेटेर सहानुभुतिको एउटा औपचारिकता पूरा गर्नु पनि आवश्यक ठान्दैन, धन्य छ मेरो देश। ऐन, नियम र कार्यविधिमा लेखिएका तमाम अक्षरहरुले न उखु किसानलाई समेट्न सकेका छन्, न त साना तथा मझौला किसानलाई नै। यद्यपि बजेट्को ठूलो हिस्सा खर्च त भैरहेको छ नै।

डियर सरकार, मलाई तपाईंको नियतमा कुनै संका छैन, शंका लाग्छ त मेरै नियतिमा। न त परदेश भासिन मनले मान्छ, न मलाई यो देशले उपयुक्त ठान्छ।

समाचारमा आउने अर्बौंका कृषि उपज ( चामल, दाल लगायत) आयातले मलाई यहीँ उत्पादन गर्ने अवसर त देखाउँछ, सँगै अर्को पानामा, सडकमा खन्याईएका दूध तथा बिक्री नभएर बिग्रिएका कृषि उपजका समाचारले झनै झस्क्याउँछ। केही प्रश्नहरु (विगतका अनुभवका आधारमा) ले हरदम पछ्याइरहन्छन् जब ब्यावसायिक कृषि उत्पादनमा लाग्ने जोश भरिएर आउँछ।

१) कहाँ जाउँ म कुनै कृषि उपजको उत्पादनबारे ज्ञान, शिप वा तालिम हासिल गर्न ? के काठमाडौं नधाइकनै आफ्नै स्थानीय क्षेत्रमा मैले आवश्यक तालिम प्राप्त गर्न सक्छु ?

२) उत्पादित कृषि उपज बिक्री हुने ग्यारेन्टी के छ ? कम्तिमा लागत बराबरको मूल्य प्राप्त गर्ने आधार के ?

३) मैले पालेको पशु अकस्मात् बिरामी भयो, त्यसको उपचारको के व्यवस्था छ ? के सबैतिर पशु स्वास्थ्य वीमा लागु भइसक्यो ? (कतिपयले भन्नुहोला, मान्छेको स्वास्थ्य बिमा त टुँगो छैन, पशुको कुरा गर्छ।)

४) मेरो अन्नबाली, वा अन्य कृषि बालीमा रोग-किरा लाग्यो भने तत्कालै सहजीकरणको ब्यवस्था के छ ?

५) जमीन (धितो) नहुने किसानले कृषि कर्जा कसरी प्राप्त गर्न सक्छन् ?

६) गुणस्तरीय मल, बिउ तथा पशु कहाँबाट प्राप्त गर्न सकिन्छ ?

ती प्रतिनिधि प्रश्नहरु व्यवसाय अनुरुप फरक हुन सक्दछन् । तर, के सरकारले ती समस्याको सहज समाधानका निम्ति केही गरेको छ त ? कहिलेकाहीँ समाधान करोड-अरब मा हैन, सामान्य व्यवस्थापनमा हुन सक्छ। उदाहरणका लागि लोडसेडिङ हटाउने कुलमान।

सरकारले एउटै हटलाइनमार्फत कृषिसम्बन्धी यावत समस्या समाधान गर्न सक्दछ। प्रहरी कन्ट्रोल को १०० नम्बरमा नेपालभरि जहाँबाट पनि फोन गरी सहयोग लिन सकिन्छ। त्यस्तै किसान हटलाइन नम्बर नेपाल अधिराज्यभरि सञ्चालन गरी किसानको साथी बन्न सकिन्छ।

पशु अस्पताल, पशु एम्बुलेन्स, बिउ बैंक, चिस्यान केन्द्रहरु, मल कारखाना, बाली भन्डारण आदिको व्यवस्था आजको टड्कारो आवश्यकता हो, ती चिज हुनुमात्रै समाधान चाहिँ हैन, तिनको यथोचित जानकारी किसानसम्म पुर्‍याउनु र किसानको भरोशा जित्नु झनै महत्वपूर्ण हुन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रलाई राज्यले आफ्नो गर्विलो आधार बनाउनुपर्नेमा, राज्यको हेलचेक्र्याइँले आज अस्तव्यस्त छ । हिजोसम्म आत्मनिर्भर कृषि क्षेत्र आज रेमिट्यान्स र विदेशी ऋणले खरिदेको कृषि उपजमा निर्भर छ।

अझै पनि समय छ, हाम्रो जमीन हामीसँगै छ, विदेशबाट देखेर, भोगेर र सिकेर आएका युवा अवसरको खोजीमा छन्, स्वदेसबाट निरास प्रमाणपत्रधारी एक जमात पनि अवसरको खोजीमा छ। सबैजना अवसरलाई समातेर आफैं ठडिने क्षमताका हुँदैनन्, केहीका लागि राज्य संयन्त्र सहारा बनी उभिइदियोस भन्ने अपेक्षा हुन्छ।

अब कृषिमा राज्यको लगानी, प्रतक्ष्य देखिने किसिमको हुनुपर्दछ। कृषि नेपालीको मौलिक पहिचान हो, यो केवल कसैको लहड हैन, युवाको रुची र राज्यको प्राथमिकता हुनुपर्छ। कोही व्यक्ति वा संस्थाले कृषि क्षेत्रसम्बन्धी कुनै पनि जानकारी एउटा हट्लाइनमा फोन गरेर प्राप्त गर्ने अवस्थाको सिर्जना गर्नु राज्यको दायित्य बनिदियोस् यदि साँच्चै नै कृषिमा आत्मनिर्भर उन्मुख हुने हो भने । नभए त कतिन्जेल चढ्न सकिएला र त्यो आउनेवाला रेल अनि पुगिएला ल्हासासम्म, आफन्तले परदेशबाट पठाइदिएको पैसामा। कतिन्जेल सकिएला र पानीजहाजमा सयर गर्न, गंगासम्म ? त्यो पनि रेमिट्यान्सकै भरमा।

झन्डै २ दशक अघिसम्म भान्साका लागि चाहिने कुनै पनि (नुनबाहेक) सर-सामान बर्षैभरि किन्नु पर्दैनथ्यो। बा’ले मास्टरी गरेर कमाउनुभएको मासिक ६,५०० रुपैयाँ, अधिकांश बचत हुन्थ्यो। लत्ताकपडा, गर-गहना, औषधोपचार तथा यातायात बाहेक अन्य खर्च गर्ने ठाउँ थिएनन्।

हाम्रोमा मात्रै हैन १४ घरधुरी रहेको गाउँमा सबैको आ-आफ्नो बारी थियो (बारीचाहिँ आज पनि छ, तर, उत्पादन छैन) बारीमा केही न केही उत्पादन भैरहन्थ्यो। खेतमा काम गर्ने मजदुर सस्तै तथा सजिलै पाइन्थे। अधियाँ, ठेक्का वा आफैंले जन लगाएर गरिएको धान-गहुँ लगायतका उत्पादनले आफ्नो परिवारको आवस्यकतापूर्ण भैकन बेच्न पुग्थ्यो।

त्यसबेलाका केटाकेटी हामी अहिले तन्नेरी भएका छौं । तर, आफ्नो गाउँ र माटो छोडेर उज्जवल भविश्यको खोजीमा सदरमुकाम, राजधानी तथा बिदेशसम्म फैलिएका छौँ। ऊ बेला खेतमा खटिएर बाली लगाउने-उठाउने हाम्रा अविभावकहरु अब बिस्तारै बृद्दावस्थामा प्रवेश गर्दै हुनुहुन्छ, कति त रोगले थलिइसक्नुभयो।

यद्यपि जेनतेन खेत बाँझो हुन दिनुभएको छैन, प्रतिफल लागतभन्दा न्युन भए पनि। हामी तन्नेरी, श्रीमान-श्रीमती, दाजु-भाइ, दिदी-बहिनी दिन-रात नभनी खटिरहेका हुन्छौँ, त्यही पनि बुवाको उसबेलाको एकल कमाइले सारा परिवारलाई दिने खुशी हामी स्वयंलाई दिन सकिरहेका हुँदैनौँ, न त हामीसँग एकछिन फुर्सद नै हुन्छ ! आखिर किन यस्तो भइरहेको होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment