Comments Add Comment

नयाँ फुटबल प्रशिक्षक भन्छन् : नेपाललाई साफ च्याम्पियन बनाउँछु

१२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम सम्हाल्ने तयारीमा रहेका स्वीडिस प्रशिक्षक योहान कालिनले आफ्नो लक्ष्य साफ च्याम्पियनसिप भएको बताएका छन् । आवश्यक पर्ने कागजात मिलाउन काठमाडौं आएका उनले पत्रकारसँग कुरा गर्दै नेपाली खेलाडीहरुको प्रशंसा समेत गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार गरेको पत्रकार सम्मेलनमा कालिनले भने, ‘नेपाली खेलाडी प्रतिभाशाली छन् । यो दुई वर्षे अवधिमा नेपाली फुटबलको स्तर उक्सिनेछ ।’

‘मेरो कार्यकालमा नेपाललाई साफ च्याम्पियन बनाउने छु’ उनले अघि भने ।

कालिनले अहिलेसम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भएर भने कुनै टिम सम्हालेका छैनन् । उनको लागि पनि यो एउटा अवसर हो भने नेपाली फुटबलका लागि प्रगति गर्ने मौका छ । कालिन भन्छन्, ‘प्रेसर त छ तर, चुनौतीको सामना गर्न म तयार छु । मेरो लागि यो अवसर पनि हो ।’

उनले २०१० मा यूईएफएबाट लाइसेन्स लिएका थिए । त्यस्तै स्वीडेनको तेस्रो डिभिजन क्लबबाट उनले व्यवसायिक प्रशिक्षण सुरु गरेका थिए ।

२०७० सालमा शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबलाई प्रशिक्षण दिन उनी नेपाल आएका थिए । त्यसको करिब पाँच वर्षपछि उनी नेपाली राष्ट्रिय फुटबल टिम सम्हाल्न आएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले उनीसँग भएको पारिश्रमिकको सम्झौताका बारेमा केही भन्न नमिल्ने बताए । अध्यक्ष शेर्पाले भने ‘नेपाल सरकारसँगको श्रम स्वीकृतिविना केही भनिहाल्न मिल्दैन । सबै प्रक्रिया पूरा भएपछि तपाईहरुलाई जानकारी गराउने छौं ।’

योहान बन्लान् त सफल प्रशिक्षक ?

नेपाली फुटबल टिम हेर्न नियुक्ति हुदै गर्दाको अभिब्यक्तिलाई नियाल्ने हो अहिलेसम्मका कुनै पनि विदेशी प्रशिक्षक सफल भएका छैनन् । सबै विदेशी प्रशिक्षकको मुख्य लक्ष्य साफ च्याम्पियन बन्ने नै थियो र छ पनि ।

सन् १९९९ को साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलसम्मको यात्रा पार गरेको थियो । यो बेला नेपालका प्रशिक्षक थिए, जर्मनीका टोरस्टेन स्पिट्लर । २०११ ग्रहम रोबर्टस नेपालका मुख्य प्रशिक्षक हुँदा पनि नेपालले साफ च्याम्पियनसिपको सेमिफाइनल यात्रा पार गरेको थियो ।

सन् २०१३ मा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा स्थान बनाउँदा मुख्य प्रशिक्षक थिए, ज्याक स्टोफोनस्की । अहिलेसम्म १४ जना विदेशी प्रशिक्षकले नेपाली फुटबल टिमको प्रशिक्षण सम्हालिसकेका छन् । योहान नेपाली फुटबल सम्हाल्ने १५औं प्रशिक्षक हुन् ।

नतिजालाई मात्र हेर्ने हो भने जापानका ग्योतुकी कोजीलाई सफल प्रशिक्षक मान्न सकिन्छ । किनभने उनकै प्रशिक्षणमा नेपालले एएफसी सोलिडारिटी कप फुटबलको अन्तर्राष्ट्रिय उपाधि उचालेको थियो । यो उपाधि नै नेपालको एक मात्र सिनियर टिमले जितेको ठूला अन्तर्राष्ट्रिय उपाधि हो ।

नयाँ प्रशिक्षक कालिनसँग राष्ट्रिय टिम सम्हालेको अनुभव छैन । उनको लागि यो एउटा अवसर हो ।

योहानको अन्डरमा बालगोपाल !

गत सेम्टेम्बरमा इन्डोनेसियामा सम्पन्न एसियन गेम्ससम्म कोजीले नेपाली फुटबल टिम हेरे । एसियन गेम्सपछि भिसा सकिएको कारण उनी नेपाल नआई जापान लागे ।

त्यसलगतै नेपाली फुटबल टिमको जिम्मा सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई दिइएको थियो । बालगोपालकै मुख्य प्रशिक्षणमा नेपालले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म यात्रा तय गर्‍यो । बालगोपाल नेपाललाई साफ च्याम्पियनसिपमा सेमिफाइनलमा पुर्‍याउने पहिलो नेपाली प्रशिक्षक पनि हुन् । तर अब उनको भूमिका के ?

उनी योहानको अन्डरमा रहेर काम गर्छन् त ? प्रशिक्षक बालगोपालले भने, ‘यू-२३, उमेर समूह अथवा एन्फाले चाहेको अवस्थामा म उपस्थित हुने छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment