
१५ फागुन, काठमाडौं । बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा मन्त्री अधिकारीका पर्सनल सेक्यूरिटी अफिसर (पीएसओ) अर्जुन घिमिरे पनि छन् ।
सैनिक मुख्यालय जंगी अड्डाको अभिलेख अनुसार उनी २०५८ सालमा नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए । उनी १० भदौदेखि मन्त्री अधिकारीको गार्ड कमाण्डर भएर खटिएको सैनिक प्रवक्ता यामप्रसाद ढकालले अनलाइनखबरलाई बताए ।
हाल घिमिरे सेनाको जमदार पदमा कार्यरत् थिए ।
एक वर्षअघि मात्रै बुबाको निधन
०३९ सालमा जन्मिएका घिमिरेको स्थायी घर रामेछापको साबिक गुम्देल गाविस–७, हाल उमाकुण्ठ गाउँपालिका–१ मा छ । केहीवर्ष अघि सेनाको शान्ति मिसनमा गएर उनले कीर्तिपुरमा घर पनि बनाएका थिए ।
हाल कीर्तिपुरस्थित घरमा उनकी श्रीमती शैलु घिमिरे र १० वर्षीय छोरा असिम घिमिरे छन् । उनी स्थानीय विद्यालयमा अध्ययनरत् छन् ।
घिमिरेका आफन्त सञ्चारकर्मी समेत रहेका टपेन्द्र कार्कीका अनुसार उनको बुबा उद्योगबहादुर घिमिरेको निधन भएको एक वर्ष पनि पुगेको छैन । ‘उनको बुबाआमा दुवै जना खेती किसानी गर्नु हुन्थ्यो । सामान्य परिवार हो’, कार्कीले अनलाइनखबरसँग भने, ‘आमा चाहिँ गाउँमै हुनुहुन्थ्यो । अहिले काठमाडौं आउन लाग्नु भएको छ ।’
घिमिरे परिवारको जेठो छोरा भएको कार्कीको भनाइ छ । ५ जना छोराछोरी मध्ये ३ बहिनीहरुको विवाह भइसकेको छ भने अर्का छोरा भिमसेन घिमिरे पनि नेपाली सेनामै कार्यरत् छन् ।
‘ऊ सबैलाई माया र आदर गर्ने स्वभावको थियो । अन्तरमुखी खाल्को पनि थियो, धेरै बोल्दैनथ्यो’, कार्की भन्छन् ।
घिमिरेले डिप्लोमा तहसम्मको पढाइ सकेका छन् । उनले ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा पढेका थिए । प्रारम्भिक शिक्षा भने जनसेवा माविबाट लिएका थिए भने एसएलसी हिममगंगा मावि, सोलुखुम्बुबाट दिएका थिए ।
कार्कीका अनुसार उनको घरबाट विद्यालय पुग्न करिब दुई घन्टा लाग्थ्यो । ‘उसको पढाइ भने औसत थियो’, कार्की भन्छन् ।
प्रतिक्रिया 4