+
+
Shares

भारतीय पाइलटले सोधे– यो भारत हो कि पाकिस्तान ?

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १६ गते २०:०२

१६ फागुन, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय वायू सेनाका विङ कमान्डर अभिनन्दन वर्धमानलाई रिहा गर्ने घोषणा गरेका छन् । यससँगै भारतमा खुशी छाएको छ ।

बुधबार पाकिस्तानले आफ्नो आकाशमा आएको भारतीय विमानलाई आक्रमण गरेको थियो । विमान पाकिस्तानी इलाकामा खसेपछि पाइलट अभिनन्दन पक्राउ परे । तर, उनी पक्राउ पर्दाको विस्तृत विवरण भने बाहिर आएको थिएन ।

बीबीसीले पाकिस्तान प्रशासित काश्मिरको भिम्बर जिल्लास्थित होर्रान गाउँमा पुगेर एक प्रत्यक्षदर्शीसँग कुराकानी गरेको छ । उक्त गाउँका सरपञ्च मोहम्म रजाक चौधरीले बीबीसीसँग घटनाक्रम यसरी वर्णन गरेका छन् :

भिम्बर जिल्लामा नियन्त्रण रेखाभन्दा सात किलोमिटर टाढा होर्रान गाउँका मानिसहरुले आकाशमा लडाकु विमानहरुको छिनाझप्टी देखे । हेर्दाहेर्दै दुई विमान आपसमा ठोक्किए र एउटा तीव्र गतिमा नियन्त्रण रेखाभन्दा पारी गयो । अर्को चाहिँ आगो लाग्यो र तल खस्यो ।

विमानमा आगो लाग्नुअघि नै पाइलट अभिनन्दन वर्धमानले प्यारासुट खोलेर हाम्फालिसकेका थिए । उनी सुरक्षित र सकुशल थिए । तत्काल गाउँका मानिसहरुले उनलाई घेरिहाले । प्यारासुटमा भारतीय झण्डा भएकाले उनी भारतीय हुन् भनेर चिन्न कठिन भएन तर, अभिनन्दनले भेउ पाउन सकेनन् कि यो पाकिस्तान हो या भारत ।

उनले जम्मा भएका गाउँलेहरुलाई सोधे, ‘यो भारत हो कि पाकिस्तान ?’

एक चलाख युवाले भनिदिए, ‘भारत हो भारत ।’

त्यसपछि अभिनन्दन ठूलो स्वरले चिच्याउँदै ‘जय भारत माता’ भन्दै नारा लगाउन थाले । आफ्नो भूमिमा भारतको जयगान गरेपछि गाउँलेहरु आक्रोशित भए र पाइलटलाई ढुंगा हाने । अनि बल्ल अभिनन्दनलाई थाहा भयो कि पाकिस्तानी भूमिमा छु भन्ने ।

त्यसपछि उनले आफ्नो बन्दुक निकाले र गाउँलेहरुतर्फ तेस्र्याउँदै भाग्न थाले । गाउँलेहरु बन्दुकसँग नडराई उनको पिछा गरे । अभिनन्दन एउटा तलाउमा हाम्फाले । अनि आफूसँग भएको केही कागजात खल्तीबाट निकालेर पानीमा डुबाइदिए ।

एकैछिनमा गाउँबासीले उनलाई नियन्त्रणमा लिएर पिट्न थाले । उनको शरीरभरी चोट लाग्यो र रगत बग्न थाल्यो । तर, केहीबेरमै पाकिस्तानी सेना त्यहाँ आयो र गाउँवासीहरुलाई रोक्यो । अनि अभिनन्दनलाई पक्राउ गरेर लग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?