Comments Add Comment

मन्त्रीको राजीनामाले क्यानाडाका प्रधानमन्त्री थप संकटमा

Photo Credit : GETTY IMAGES. पदबाट राजीनामा दिएकी मन्त्री फिलपोट र प्रधानमन्त्री जस्टिन ।

२१ फागुन, काठमाडौं । विपक्षीले राजीनामा माग गरिरहेका बेला क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अर्को झट्का लागेको छ । उनको सरकारका एक प्रमुख मन्त्रीले राजीनामा दिएकी छन् ।

राजीनामा दिने मन्त्री तथा ट्रजरी बोर्डकी अध्यक्ष जेन फिलपोटले भनेकी छन् , ‘म आफ्नो आधारभूत सिद्धान्त, नैतिक उत्तरदायित्व र संवैधानिक प्रतिवद्धताहरुद्वारा बाँधिएको छु ।’

फिलपोटको राजीनामाले ट्रुडोलाई थप निराश बनाएको छ । साथै सरकारको भविष्यमा पनि प्रश्न चिन्ह लागेको छ ।

के हो विवाद ?

क्यानाडामा हाल उत्पन्न विवाद इन्जिनियरिङ कम्पनी एसएनसी–लाभालिनसँग जोडिएको छ । क्यूबेकको उक्त कम्पनी विश्वकै सबैभन्दा ठूलो इन्जिनियरिङ र निर्माण कम्पनीमा पर्छ ।

एसएनसी–लाभालिन र यसका सहयोगीहरुले सन् २००१ देखि ११ सम्ममा लिबियाका तत्कालीन राष्ट्रपति मुआमर गद्दाफीलगायत सरकारी पदाधिकारीहरुलाई ३ करोड ६० लाख डलर घुस खुवाएर विभिन्न विकास परियाजना हात पारेको खबर सार्वजनिक भएको थियो । कम्पनीले यस विषयमा मुद्दा रोक्न सम्झौताको प्रयास गर्दै आयो । पूर्व पदाधिकारीहरुको गलत कार्यका लागि अहिलेका हजारौं कामदारहरुलाई साजय दिन नहुने कम्पनीको भनाइ छ ।

तर, सन् २०१२ मा क्यानाडाको प्रहरीले भ्रष्टाचार गरेको र सरकारलाई ढाँटेको भन्दै एसएनसी–लाभालिनमाथि छानविन अगाडि बढायो । यसले गर्दा कम्पनीको सेयर मूल्यमा तीव्र गिरावट आएको छ । यदि आरोप प्रमाणित भएमा कम्पनीमाथि क्यानाडामा १० वर्षको प्रतिवन्ध लाग्न सक्छ, जुन कम्पनीको लागि ठूलो धक्का हुनेछ ।

अहिले यो विवादले राजनीतिक रुप लिइरहेको छ । क्यूबेकका राजनीतिक दलहरुले कम्पनीलाई कारवाही गर्नु नहुने पक्षमा लविङ गरिरहेका छन् । यदि कारवाही गरिएमा हजारौंको रोजगारी गुम्ने, क्युबेक प्रान्तको अर्थतन्त्र बिग्रिने र क्यनाडाको अर्थतन्त्रमा समेत मन्दी आउने उनीहरुको दाबी छ ।

यही बीच गत फेबु्रअरी ८ मा क्यानाडाको चर्चित अखबर ‘द ग्लोब एन्ड मेल’ ले प्रधानमन्त्री ट्रुडोको कार्यालयले एसएनसी–लाभालिनको मुद्दामा कारवाही अगाडि नबढाउन न्याय मन्त्रालयलाई दबाव दिएको समाचार प्रकाशित गर्‍यो ।

प्रधानमन्त्री ट्रुडोले भने यसलाई अस्वीकार गरे । तर, फेबु्रअरी १२ मा न्यायमन्त्री जोडी विल्सन–रेबल्डले राजीनामा दिइन् । उनले प्रधानमन्त्री कार्यालयबाट कम्पनीविरुद्ध कारवाही अघि नबढाउन दबाव आएको स्वीकार गरिन् । यसको काउन्टरमा फेब्रुअरी १२ मा न्यायमन्त्री जोडी विल्सन रेबल्डले राजीनामा दिए । प्रधानमन्त्री कार्यालयले न्यायमन्त्रीलाई कुनै दबाव नदिएको उनले बताएका छन् ।

अहिले विपक्षी कन्जरभेटिभ पार्टीले ट्रुडोको राजीनामा मागिरहेको छ भने ट्रुडोले आफ्नो बचाउ गरेका छन् । तर, मन्त्री जेन फिलपोटको राजीनामापछि भने प्रधानमन्त्रीमाथि ठूलो नैतिक दबाव परेको छ । सरकारको निरन्तरतामा समेत प्रश्न उठेको छ । यस प्रकरणबाट प्रधानमन्त्रीको लोकप्रियता खस्किएको विभिन्न अध्ययनले देखाएका छन् । आउँदो अक्टोबरमा हुने आम चुनावमा उनको पार्टी धराशयी हुन सक्ने अनुमान पनि गरिदैछ ।

के भने फिलपोटले ?

मन्त्री फिलपोटले सोमबार राजीनामा दिने घोषणा गर्दै प्रष्ट रुपमा एसएनसी–लाभालिनको सन्दर्भ उल्लेख गरेकी छन् । राजीनामा पत्रमा उनले पूर्वमहान्यायधिवक्तालाई एसएनसी–लाभालिन संलग्न अपराधिक मुद्दामा हस्तक्षेप गर्न दबाव दिइनु गम्भीर चिन्ताको विषय भएको बताएकी छन् ।

‘दुःखपूर्वक भन्नुपर्दा, यो विषयलाई सरकारले जसरी सम्बोधन गर्नुपथ्र्यो, त्यसरी नगरेको मैले पाएँ,’ उनले भनेकी छन्, ‘त्यसैले सरकारप्रतिको मेरो भरोसा टुट्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment