Comments Add Comment

विश्वकप क्रिकेटः आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

१० असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र घरेलु टोली इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित लर्ड्समा हुने विश्वकप खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । यी दुई टिमबीचको खेल यो अर्थमा पनि महत्वपूर्ण छ कि अष्ट्रेलिया सेमिफाइनल प्रवेश नजिक छ भने इंग्ल्यान्ड पनि सेमिफाइनल दौडमा छ ।

आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले पराजित गरेको अष्ट्रेलियाले दोस्रो खेलमा वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो । तर तेस्रो खेलमा भने भारतसँग ३६ रनले पराजित भएको थियो । त्यसपछि लगातार तीन खेलमा जित निकाल्ने क्रममा अष्ट्रेलियाले पाकिस्तानलाई ४१, श्रीलंकालाई ८७ र बंगलादेशलाई ४८ रनले हराउन सफल भयो ।

यी सबै टिमलाई पराजित गर्दा अष्ट्रेलियाका ब्याटिङ बलिङ दुवै पक्ष बलियो देखियो । विशेषगरी ब्याटिङलाई अष्ट्रेलियाको एकदमै राम्रो छ । १० अंक बनाएर अंक तालिकाको दोस्रो स्थानमा रहेको अष्ट्रेलिया इंग्ल्यान्डविरुद्ध पनि स्पष्ट जित निकाल्न चाहन्छ ।

यता, सुरुवात दमदार गरेको इंग्ल्यान्डले पहिलो खेलमा नै दक्षिण अफि्रकालाई १०४ रनले पराजित गरेको थियो । तर दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले पराजित भएको इंग्ल्यान्डले तेस्रो खेलमा भने बंगलादेशलाई १०६ रनले हराएको थियो । त्यसपछि वेष्ट इन्डिजलाई ८ विकेट र अफगानिस्तानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको इंग्ल्यान्डले श्रीलंकाविरुद्धको खेलमा भने नराम्ररी हार ब्यहोर्‍यो । श्रीलंकाविरुद्ध २० रनले हार्दै इंग्ल्यान्डले ६ खेलमा ८ अंक मात्रै बनाउन सकेको हो ।

एरोन फिन्च

अष्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दै गर्दा इंग्ल्यान्डलाई त्यो २०१५ को विश्वकप क्रिकेटको याद झलझल्ती आउनेछ । त्यसमाथि झनै याद आउनु पर्छ एरोन फिन्चको प्रदर्शन ।

अष्ट्रेलियाले २०१५ को विश्वकप क्रिकेटको उपाधि पाँचौ पटक जित्दा फिन्च महत्वपूर्ण सदस्य थिए भने अहिले उनी कप्तानको जिम्मेवारीमा छन् । इंग्ल्यान्डविरुद्धको समूह चरणको खेलमा फिन्चले शतक प्रहार गरेका थिए । उनकै शतकको मद्दतमा अष्ट्रेलियाले त्यो खेलमा इंग्ल्यान्डलाई १११ रनले पराजित गरेको थियो । उक्त खेलमा उनले १३५ रन बनाएका थिए ।

जारी विश्वकपमा पनि कप्तान फिन्च उच्च लयमा देखिएका छन् । उनले यो विश्वकपमा एक शतक र तीन अर्धशतक बनाइसकेका छन् । ६ खेलबाट ३९६ रन बनाइसकेका उनको स्ट्राइक रेट १०९.६९ रहेको छ ।

कप्तान फिन्च मात्रै हैन, डेभिड वार्नर पनि एक प्रभावशाली उच्च लयमा रहेका खेलाडी हुन् । उनले जारी विश्वकपमा दुई शतक बनाइसकेका छन् भने सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् । ब्याटिङमा कप्तान फिन्चसँगै वार्नर, स्टेभन स्मिथ, ग्लेन म्याक्श्वेल, सान मार्स, उस्मान खवाजा, मार्कुस स्टोइनिस जस्ता खेलाडीको सिकार इंग्ल्यान्डका बलर हुन सक्छन् ।

बलिङतर्फ पनि मिचेल स्टार्क, पट कुम्मिन्स, एडम जाम्पा, नाथन कउल्टर नाइल जस्ता बलर छन् ।

इयोन मोर्गन

इयोन मोगर्न इंग्ल्यान्डका त्यस्ता खेलाडी हुन् जसले जारी विश्वकपमा विश्व रेकर्ड कायम गरेका छन् । उनी जुनसुकै अवस्थामा पनि आफ्नो टिमलाई जिताउन सक्छन् । कप्तान मोर्गनले १७ छक्का प्रहार गर्दै विश्व रेकर्ड कायम गरेका थिए ।

जारी विश्वकपमा निकै उच्च फर्ममा रहेका मोर्गनले एक शतक बनाएका छन् भने एक अर्धशतक बनाएका छन् । ६ खेलबाट २७० रन बनाएका कप्तान मोर्गन अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्डको विश्वकप सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ ।

त्यसो त, इंग्ल्यान्डका जो रुटले दुई शतक बनाएका छन् भने तीन अर्धशतक प्रहार गरेका छन् । इंग्ल्यान्डका जोनी बैरस्टोब, जोस बटलर, ज्यासन रोय, मोइन अली, बेन स्टोक्स जस्ता ब्याट्सम्यानले खेल जिताउने साहस राख्छन् ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन कउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा ।

इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment