Comments Add Comment

नक्कली बमको त्रास : कहीँ माटो र तार, कहीँ झोलाभित्र किताब

Photo Credit : सुदर्शन रञ्जित/अनलाइनखबर

१० असार, काठमाडौं । महानगरीय प्रहरी वृत्त, कीर्तिपुरको कार्यालयमा मंगलबार बिहानै एक स्थानीयले टेलिफोन गरे, ‘नयाँबजार गेटनजिकै बम छ, आइदिनुपर्‍यो ।’

स्थानीयको खबरलगत्तै बम भनिएको स्थानमा प्रहरी पुग्यो । त्यतिबेलासम्म त्यहाँ हेर्नेको भीड नै लागिसकेको थियो । सडकमा भीड लागेकाले सवारी आवागमनसमेत रोकिएको थियो । त्यसपछि प्रहरीले शंकास्पद वस्तुलाई घेरा हाल्यो र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलायो ।

शंकास्पद वस्तु बम भएको आशंकामा सेनाको टोली निष्क्रिय पार्ने प्रयासमा जुट्यो । तर, उक्त वस्तु बम नभएको पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका अनुसार प्लाष्टिकको भाँडोभित्र माटो र तारमात्र भेटिएको छ ।

कीर्तिपुरको नयाँबजारमा बम भएको हल्लापछि भेला भएकाहरू । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर

कीर्तिपुर मात्रै होइन, ललितपुरको जावलाखेल पनि मंगलबार बिहान यस्तै नक्कली बमको हल्लाले मंगलबार बिहान त्रस्त बन्यो । जावलाखेलस्थित खेल मैदान नजिकैको एक सटरमा शंकास्पद वस्तु भेटियो । बेवारिसे अवस्थामा फेला परेको कालो झोलाभित्र बम भएको आशंका स्थानीयको थियो ।

तर, अनुसन्धानको क्रममा त्यो झोलाभित्र किताब र कापी मात्र फेला पर्‍यो । ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले भने, ‘एक जना विद्यार्थीको झोला रहेछ । खोलेर हेर्दा कापी किताबमात्र भेटियो ।’

पोखरामा पनि नक्कली बम

काठमाडौं उपत्यकामाजस्तै देशका विभिन्न स्थानमा मंगलबार बिहानैदेखि भेटिएका शंकास्पद वस्तु नेपाल प्रहरी र सेनाका लागि टाउको दुखाइको विषय बनेको छ ।

बम भएको खबर पाएपछि पोखराको तरकारी बजारमा पुगेका सुरक्षाकर्मी । तस्वीर : युनिस गुरुङ/अनलाइनखबर

पोखराको सिद्धार्थ चोकस्थित तरकारी बजारमा भेटिएको शंकास्पद वस्तु पनि बम नभएको पुष्टि भएको छ । कागजमा ‘टाइम बम’ लेखेर राखिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको टोली निष्कृय पार्न तरकारी बजारमा पुगेको थियो । तर अनुसन्धानको क्रममा बम नभएको पत्ता लागेको पोखरास्थित अनलाइनखबरकर्मी विकास रोकामगरले जनाएका छन् ।

झापाको कन्काई पुल, झापाकै भद्रपुर नगरपालिका, बर्दियाको गुलरियास्थित बन कार्यालय नजिक र नुवाकोटको विदुर नगरपालिकाका मेयर सन्जु पण्डितको निवासमा पनि शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment