Comments Add Comment

पोखरामा रोपाइँ महोत्सव : गोरु दौडाउने, माछा समाउने !

यस वर्ष पनि हिलोमा रमाउनेछन् देश–विदेशका पर्यटक

१० असार, पोखरा । असार १५ अर्थात किसानको विशेष दिन । रोपाइँ महोत्सव भनिने यस दिनलाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउँछ । असार १५ मा हिलो छुनुपर्ने नेपाली समाजको मान्यता छ । त्यही मान्यतालाई पोखराले महोत्सवको रुपमा मनाउँछ ।

असार १५ को दिन प्रत्येक वर्ष पोखरामा रोपाइँ महोत्सव मनाइन्छ । हरेक वर्षजस्तै यसपालि पनि पोखरा महानगरपालिका वडा नं. १७ महतगौंडामा रोपाइँ महोत्सव हुने छ । पोखरा पर्यटन परिषदले आयोजना गर्ने महोत्सवमा हल गोरु दौडाएर, हिलोमै माछा समाएर, हिलो छ्यापाछ्याप गरेर र दही चिउरा खाएर रमाइलो गरिने छ ।

महतगौंडा बिरुवाफाँटमा किसान ऋषिराम भण्डारीको करिब ४ सय रोपनी खेतमा किसानमात्रै हुँदैनन्, सहरका सुकिला मुकिला पनि हिलोमा रमाउन पुग्छन् । विदेशी पर्यटक हिलो छ्यापाछ्याप गरेर रमाउँछन् । हिलोमा रमाउनकै लागि देशी–विदेशी पर्यटक महतगौंडा पुग्छन् । यसपटक पनि ५ सयभन्दा बढी विदेशी पर्यटक हिलोमा रमाउन आउने आयोजक पर्यटन परिषदको विश्वास छ । स्वदेशी पर्यटकसमेत गरी २५ सय जना रोपाइँ महोत्सवमा सहभागी हुन आउने पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल बताउँछन् ।

अमेरिकाको रोट्रेडम युनिभर्सिटीबाट प्रत्येक वर्ष यही मौका पारेर पाहुना आउने गरेका छन् । जापान, सिंगापुर, चीन, जर्मन, इटाली, फ्रान्सलगायतका देशका पर्यटक पनि हिलोमा रमाउन पोखरा आउँछन् । हिलोमा रमाउन र यहाँको परम्परागत खेती प्रणालीको अनुभव लिन पनि विदेशी पर्यटन पोखरा आउने गरेका छन् । धान रोपाइँ नदेखेका र हिलोमा नखेलेकाहरु त्यसमा रमाउँदैनन् मात्र, अभ्यास पनि गर्छन् ।

आजभन्दा १६ वर्षअघि जतिबेला पोखरामा त्यति ठूलो संख्यामा पर्यटक आउँदैनथे । त्यसमा पनि असारदेखि भदौसम्मको महिनालाई पर्यटकीय अपसिजन मान्ने गरिएको छ । ‘पोखरा सबै मौसमका लागि’ नाम दिएर रोपाइँ महोत्सवको परिकल्पना गरिएको थियो ।
हल गोरुको दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा महिला, पुरुषको दौड, विदेशी पर्यटक र पत्रकारको दौड, हिलोमै हुने रस्साकस्सी रोपाइँ महोत्सवका विशेषता हुन् । असारे गीत, दही चिउरा र विभिन्न खानाका परिकार र सांस्कृतिक कार्यक्रमले महोत्सवमा रौनक थप्छ ।

‘यस पटक महतगौंडामा हुने रोपाइँ महोत्सवमा अझ बढी पर्यटक सहभागी गराउने तयारी गरिरहेका छौं,’ पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले भने, ‘पोखरामा हुने यो उत्सवले देशकै पर्यटनमा टेवा पुर्‍याउने छ ।’

रोपाइँ महोत्सव पोखराको ‘ब्राण्ड’ बनिसकेको पर्यटन व्यवसायी वासु त्रिपाठी बताउँछन् । ‘पोखरामा आएर हिलोमा रमाएको फोटो, भिडियो र डकुमेन्ट्रीसमेत बनाएर विदेशी पर्यटक फर्कन्छन्,’ त्रिपाठीले भने, ‘त्यो देखेर हिलोमा रमाउनकै लागि आउने पर्यटक पनि छन् । त्यसले नेपालकै पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याएको छ ।’

पर्यटकको आचारसंहिता
महोत्सवलाई सफल बनाउन अध्यक्ष पोखरेलकै संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति र १८ वटा उपसमिति गठन गरिएको सचिव डिल्लीप्रसाद गौतमले जानकारी दिए । महोत्सवमा रमाउन आउने पाहुनाका लागि आचारसंहितासमेत बनाइएको छ । जसले उच्छृंखल गतिविधि हुन नदिने आयोजकको दाबी छ ।

गोरु दौड प्रतियोगितामा पहिलो हुनेले ५ हजार तथा दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । असारे रोपाइँ तथा गीत प्रतियोगितामा पनि त्यति नै राशीको पुरस्कार राखिएको छ । महोत्सव सफल बनाउन १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment