Comments Add Comment

गृहमन्त्रीलाई प्रश्न– इन्काउन्टर नै हो भने छानविन किन ?

१० असार, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलमाथि गोली प्रहारसम्बन्धी विषयलाई लिएर संसदीय समितिमा प्रश्न उठ्ने क्रम मंगलबार पनि जारी रह्यो । गृहमन्त्री रामबहादुर थापा बादलले यो घटनालाई इन्काउन्टर बताए पनि छानविन गर्छु भनेर विरोधभाषपूर्ण अभिव्यक्ति दिएको सांसदले आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रामबहादुर विष्टले भने, ‘गृहमन्त्रीले एकातिर इन्काउन्टरमा मारिएको भन्ने, अर्कोतिर छानविन समिति गठन गर्न सकिन्छ भन्नुको अर्थ के हो ?’

शुरुमा आंतककारी समूह भन्ने र पछि राजनीतिक शक्ति भन्ने विगत स्मरण गराउँदै विष्टले देशभरि यस्ता घटना कहाँ–कहाँ भइरहेका छन्, जानकारी गराउन माग गरे ।

सांसदहरूले नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको ‘इन्काउन्टर’ नभई हत्या भएको बताएका छन् ।

सांसद् रामेश्वर राय यादवले प्रश्न गरे, ‘हरेक अपराधमा सजाय गर्ने कानून हुँदाहुँदै हत्याको बाटो किन रोज्यो ?’ निर्वाध रुपमा बाँच्न पाउने अधिकार सरकारले हनन गरेको उनको भनाइ छ ।

घटनाको प्रकृति र प्रत्यक्षदर्शीको भनाइ सुन्दा हत्या नै भएको देखिएको यादवको भनाइ छ ।

संसदको राज्य व्यवस्था समितिले सोमबार घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइसकेको छ ।

विप्लव समूह जिल्ला इन्चार्ज पौडेलको असार ५ गते लालबन्दीमा ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment