Comments Add Comment

तिलोत्तमाको बजेट एक अर्ब ५४ करोड, शिक्षामा बढी

१० असार, बुटवल । शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एक अर्ब ५४ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ ।

पाँचौं नगरसभामा नगर उप–प्रमुख जागेश्वरी चौधरीले मंगलबार आर्थिक वर्ष २०७६/७७ को लागि एक अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

यो वजेट चालु आर्थिक वर्षको भन्दा झण्डै १९ करोड बढी हो । बजेटमा चालू खर्चतर्फ ५३ करोड ३९ लाख अर्थात् ३४ दशमलव ५९ प्रतिशत र पूँजीगत खर्चतर्फ एक अर्ब ९९ लाख ४० हजार अर्थात् ६५ दशमलव ४१ प्रतिशत रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । जसमध्ये शिक्षातर्फ सबैभन्दा बढी अर्थात् ३१ करोड ६६ लाख २७ हजार विनियोजन गरिएको छ । यसमा शिक्षक, कर्मचारीहरुको तलबका अतिरिक्त सामुदायिक विद्यालयहरुको भवन तथा पूर्वाधार निर्माणमा ६ करोड, दिवा खाजा, यातायातलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ ।

बजेटको स्रोतको रुपमा आन्तरिक राजस्वबाट ५० करोड १२ लाख ७० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ७६ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् २ करोड ५० लाख, गत वर्षको मौज्दात १ करोड रहेको छ ।

यसैगरी स्वास्थ्यतर्फ ५ करोड ३३ लाख ७६ हजार, कृषि, पशुपालन र सिंचाईतर्फ ७ करोड २७ लाख ५७ हजार रकम विनियोजन गरिएको छ । नगर क्षेत्रभित्रका जीर्ण सडकको मर्मतसम्भार तथा स्तरोन्नती, गत वर्ष पूरा हुन नसकेका अधुरा सडक निर्माण, नाली तथा ढल निर्माणलगायत पूर्वाधार विकासका लागि ३६ करोड ८६ लाख ६५ हजार विनियोजन गरिएको छ ।

तिलोत्तमा उद्योगग्राम, तिलोत्तमा कोशेली घर, सीपमूलक तालिम संचालन समेतका कार्यक्रम कार्यान्वयन गर्न १ करोड १२ लाख रकम विनियोजन गरिएको छ । यसैगरी वन, वातावरण, हरियाली प्रवद्र्धनमा ४ करोेड १५ लाख, खेलकुद र युवा तर्फ १ करोड ९७ लाख ३० हजार रकम विनियोजन गरिएको छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ १७ करोड ८७ लाख रकम छुट्टाएको तिलोत्तमा नगरपालिकाले खानेपानी तथा सरसफाइमा ६८ लाख, फोहोरमैला व्यवस्थापनमा ५० लाख रकम विनियोजन गरेको छ । नगरस्तरीय योजनाबाहेक जनसंख्या, क्षेत्रफल, खर्चको आवश्यकता, राजस्व परिचालन क्षमता समेतलाई दृष्टिगत गरी प्रत्येक वडालाई बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment