Comments Add Comment

सिद्धार्थनगर भैरहवाले ल्यायो १ अर्ब १८ करोडको बजेट

१० असार, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि १ अर्ब १८ करोडको बजेट ल्याएको छ ।

मंगलबार भैरहवामा आयोजित पाँचौं नगर सभामा नगर उपप्रमुख उमा काफ्लेले १ अर्ब १८ करोड ४७ लाख ६४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् ।

बजेटमा पूँजीगततर्फ १ अर्ब रुपैयाँ र चालुतर्फ समाजिक सुरक्षा समेत २६ करोड ५९ लाख १८ हजार विनियोजन गरिएको छ । जसमा संघीय सरकारबाट समानीकरणतर्फ १८ करोड १२ लाख, राजश्व बाँडफाँटबाट १० करोड, सशर्त अनुदानबाट १८ करोड ५६ लाख, सामाजिक सुरक्षातर्फ ७ करोड, र सडक बोर्डबाट १ रुपैयाँ प्राप्त हुने जनाइएको छ ।

यस्तै, प्रदेश सरकारबाट समानीकरणतर्फ ४९ लाख ७६ हजार, राजश्व बाँडफाँटबाट १ करोड १७ लाख ७३ हजार र समपुरकबाट २ करोड प्राप्त हुने जनाइएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा काफ्लेले आन्तरिक आम्दानी १२ करोड ७० लाख १५ हजार प्राप्त गर्ने लक्ष्य राखिएको जनाइन् । नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाबाट ४० करोड, नगर विकास कोषबाट १ करोड ५ लाख, अन्य राजश्व बाँडफाँटबाट २ करोड प्राप्त हुने जनाइन् । यस्तै बजेटमा अरु आम्दानी ४ करोड ३७ लाख हुने अनुमान गरिएको छ ।

नगरपालिकाले लक्षित वर्गतर्फ ४८ लाख, नगर स्तरीय योजनातर्फ १८ करोड ३१ लख, वडास्तरीय योजनातर्फ ८ करोड ३१ लख, र विषयगततर्फ २ करोड ३५ लाख बजेट छुट्टयाएको छ ।

विषयगतमा कृषितर्फ २५ लाख, शिक्षातर्फ १ करोड १५ लाख, सहकारीतर्फ ५० लाख, महिला विकास कार्यक्रमतर्फ ३५ लाख, पशुसेवा तर्फ ४० लाख र स्वास्थ्यतर्फ १५ लाख विनियोजन गरेको छ । यस्तै क्षेत्रीय सहरी विकास आयोजनातर्फ ४३ करोड ५ लाख, मेसिनरी औजार लगायतमा ५० लाख, खानेपानी तथा सरसफाईतर्फ ३२ लाख, ससर्त अनुदानतर्फको खर्च १८ करोड ५६ लाख हुने जनाइएको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख काफ्लेले दिगो विकासका ५ स्तम्भहरु पृथ्वी, मानव, समृद्धि, शान्ति र साझेदारीलाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment