Comments Add Comment

इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश

११ असार, काठमाडौं । विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो । अष्ट्रेलिया जारी विश्वकप क्रिकेटमा सेमिफाइनल पुग्ने पहिलो टिम पनि बनेको छ ।

२८६ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा २२१ रन मात्रै बनाउन सक्यो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रन बनाए पनि अन्य खेलाडी भने सस्तैमा समेटिए । शून्य रन हुँदा नै पहिलो विकेटको रुपमा जेम्स भिन्चलाई गुमाएको इंग्ल्यान्डले १५ रन हुँदा दोस्रो विकेट गुमाएको थियो ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका जासन बेहरेन्र्डोफले पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४४ रन खर्चेर पाँच विकेट लिएका थिए । त्यस्तै, मिचेल स्र्टाकले चार विकेट लिए ।

यसअघि लन्डनस्थित लर्ड्समा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २८५ रन बनाएपछि इंग्ल्यान्डले मध्यम लक्ष्य पाएको थियो । अष्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले शतक बनाए । उनले ११५ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै शतक पूरा गरे । तर लगतैको बलमा भने उनी आउट हुन पुगे । उनले जारी विश्वकपमा योसहित दुई शतक बनाएका छन् भने तीन अर्धशतक पूरा गरेका छन् । यसअघि उनले श्रीलंकाविरुद्ध १५३ रन बनाउँदै शतक पूरा गरेका थिए ।

कप्तान फिन्चले शतक बनाउँदा अर्का ओपनर डेभिड वार्नरले अर्धशतक बनाए । उनले ५३ रन बनाएका थिए । तर अष्ट्रेलियाको मध्यक्रमका ब्याट्सम्यान चल्न सकेनन् । स्टेभन स्मिथ ३८ रनमा आउट हुँदा अर्का खेलाडी एलेक्स क्यारी ३८ रनमा अविजित रहे । उस्मान खवाजा २३ र ग्लेन म्याक्श्वेल १२ रनमा आउट भए ।

अष्ट्रेलियाका लागि पहिलो विकेटको रुपमा कप्तान फिन्च र वार्नरले १२३ रनको साझेदारी गर्दैै टिमलाई बलियो स्थितिमा ल्याएका थिए । तर मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा ठूलो स्कोर बनाउन सकेन । बलिङतर्फ भने क्रिस वोक्सले दुई विकेट लिए ।

सात खेलबाट ६ खेलमा जित र एक खेलमा हार ब्यहोरेको अष्ट्रेलिया १२ अंक बनाएर सेमिफाइनलमा पुगेको छ । अष्ट्रेलियाले अझै दुई खेल खेल्न बाँकी छ । यता, इंग्ल्यान्डको भने विश्वकप यात्रा झनै गाह्रो भएको छ । सेमिफाइनलमा पुग्नका लागि अबको बाँकी दुई खेल इंग्ल्यान्डले जित्नै पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment