Comments Add Comment

नेपालीलाई भारत हुँदै खाडीका नौ देश जान मात्रै नो अब्जेक्सन लेटर

११ असार, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् ।

नयाँ पत्रिका दैनिकले भारतका विमानस्थल हुँदै जुनसुकै तेस्रो मुलुक जाँदा नेपाली नागरिकलाई नो अब्जेक्सन लेटर (एनओसी) चाहिने नियम अध्यागमनले परिमार्जन गरेको लेखेको छ ।

भारतले एक वर्षदेखि आफ्नो देश हुँदै जाने नेपालीका लागि यस्तो नियम लागू गर्दै आएको थियो । तर, अब खाडी क्षेत्रका नौ मुलुकबाहेक अन्यत्र जाँदा नेपाली दूतावास दिल्लीबाट एनओसी बुझाउनु नपर्ने भएको छ ।

नेपाली दूतावासले ६ असारमा जारी गरेको सूचना उद्धृत गर्दै नयाँ पत्रिकाले लेखेको छ– अब नेपाली नागरिकले साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, इराक, लिबिया, लेबनान, ओमन र बहराइन जाँदा मात्रै दिल्लीस्थित अध्यागमनमा एनओसी बुझाउनुपर्नेछ ।

आन्दोलनकारीले घरको झ्याल फुटाएको भन्दै बिर्तामोडका मेयरले ३० लाख क्षतिपूर्ति लिए पनि सोही घटनाका घाइतेले गोली निकालेको खर्चसम्म नपाएकोलाई नयाँ पत्रिकाले आज मुख्य समाचार बनाएको छ । यसबाहेक युवाको युवाको दुर्व्यसनी लत, एसईई परीक्षाफल सार्वजनिकको तयारीलगायत विषयलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा प्राथमिकतापूर्वक छापेको छ ।

देशका महानगरपालिकाले ल्याएको बजेटमा केन्द्रित छ, आजको कान्तिपुर दैनिक । कान्तिपुरका अनुसार देशका ६ वटै महानगरले पूर्वाधारलाई मुख्य प्राथमिकता दिँदै आर्थिक वर्ष ०७६/७७ को बजेट ल्याएका छन् ।

काठमाडौं महानगरपालिकाले मंगलबार ल्याएको १५ अर्ब ५० करोड ७० लाख १२ हजार बजेटमध्ये भौतिक पूर्वाधारमा ३९ प्रतिशत रकम छुट्याइएको छ ।

यसअघि रोपिएका हजारौं बिरुवाबारे बेखबर सरकारले करोड बिरुवा रोप्ने योजना बनाएकोलाई पनि कान्तिपुरले समेटेको छ ।

छोरा हेर्न उपमेयरले पतिलाई जागिर दिएको अर्को रोचक खबरलाई कान्तिपुरले एंकर बनाएको छ ।

‘बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले स्वकीय सचिवको व्यवस्था नभए पनि आन्तरिक स्रोतबाट तलब दिनेगरी श्रीमान् मंगल चौधरीलाई खरिदारसरहको दरबन्दी सिर्जना गरेर नियुक्त गरेकी हुन्’, कान्तिपुरले ‘छोरा हेर्न पतिलाई जागिर शीर्षक समाचारमा लेखेको छ ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अलमलमा परेको निष्कर्ष अन्नपूर्णले निकालेको छ । समाचार अनुसार ओली के आधारमा कसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनेर टुंगोमा पुग्न सकेका छैनन् । यसका लागि उनी आफूनिकटका नेतासँग परामर्शमा जुटेको समाचारमा उल्लेख छ ।

अन्नपूर्णले मन्त्रिपरिषद् पुनर्गठनका लागि ओलीसँग  ३ विकल्प रहेकाे जनाएकाे छ । पहिलो, प्रभावकारी कार्यसम्पादन गर्न नसक्ने मन्त्रीलाई बिदा दिने । दोस्रो सबै मन्त्रीलाई हटाएर नयाँ टिम ल्याउने र अर्काे पर्यटन मन्त्रालयमा मात्र पदपूर्ति गर्ने ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment