Comments Add Comment

पार्टी शुद्धीकरणमा होमिन चिनियाँ राष्ट्रपति सीको आह्वान

११ असार, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी विश्वकै फलामे अनुशासन भएको चुस्त मानिन्छ । धेरैले चीनको छलाङ र विश्वव्यापी प्रभावलाई पार्टी अनुशासनकै उपज मान्छन् ।

तर, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङ अझै पनि पार्टीको पछिल्लो गतिविधि र अवस्थाबाट उति सन्तुष्ट छैनन् । उनले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक पार्टी शुद्धीकरणमा लाग्न केही समयदेखि आहृवान गर्न थालेका छन् ।

पार्टीलाई नयाँ युगमा लैजान र लामो समयसम्म शासन गर्न पनि आन्तरिक शुद्धीकरण अपरिहार्य भएको सीको भनाइ छ ।

सिन्हृवा समाचार एजेन्सीका अनुसार, पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोले आयोजना गरेको समूहगत अध्ययन सत्रको अध्यक्षता ग्रहण गर्दै सीले सोमबार पार्टीका नेता-कार्यकर्तालाई आन्तरिक शुद्धीकरणमा होमिन गम्भीरतापूर्वक आहृवान गरेका छन् ।

‘चिनियाँ कम्युनिस्ट पार्टीले दीर्घकालसम्म शासन गर्नका लागि आन्तरिक शुद्धीकरण अपरिहार्य भएको छ’, पार्टीको वास्तविक उद्देश्य स्मरण गराउँदै सीले कार्यक्रममा व्यक्त गरेको भनाइ उद्धृत गर्दै सिन्हृवाले लेखेको छ ।

पार्टी शुद्धीकरणका लागि केही सैद्धान्तिक पद्धतिसमेत उनले अघि सारेका छन् । जसबाट पार्टी थप गतिशील हुने उनको विश्वास छ ।

सिले मार्क्सवादी ढंगले शासन गर्ने जीवन्त पार्टी निर्माणका लागि जोड दिँदै यसले नै जनताको वास्तविक चाहना पूर्ति गर्ने पनि प्रष्ट पारेका छन् । त्यसका लागि पार्टी कमजोर पार्ने गतिविधि निर्मूल पार्नुपर्ने भन्दै त्यसमा जुट्न सीले नेता-कार्यकर्तालाई अपिल गरे ।

चिनियाँ कम्युनिस्ट पार्टीको ९८ औं स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रममा सीले पार्टी स्थापनाको लक्ष्य स्मरण गराउँदै त्यसमा उदाहरणीय ढंगले पेश हुन आहृवान गरेको सिन्हृवा समाचारले लेखेको छ ।

मन्तव्यका क्रममा सीले चिनियाँ जनताको खुसी र पार्टीको स्थापनाकालीन उद्देश्य नेता-कार्यकर्तालाई पटक-पटक स्मरण गराएका थिए ।

‘चिनियाँ कम्युनिस्ट पार्टी जनताको खुसी र आफ्ना नागरिकको आकांक्षा पूरा गर्ने लक्ष्यमा निरन्तर लागिरहेको छ’, सीको भनाइ उद्धृत गर्दै समाचारमा लेखिएको छ । यही कारण निरन्तर चिनियाँ जनताको माया पाएको पनि उनले उक्त अवसरमा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment