Comments Add Comment

६० किलोमिटर लामो ‘नेपाली ग्रेटवाल’ बनाइँदै

११ असार, काठमाडौं । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय केन्द्र हेलम्बुलाई लक्षित गरी ‘ग्रेट ट्रेल’ निर्माणको सोचका साथ लामो पर्खालले घेर्न सुरु गरिएको छ । हेलम्बु गाउँपालिकाले यसलाई पर्खाललाई ‘नेपाली ग्रेट वाल’ को संज्ञा दिएको छ ।

पर्खालको सुरुवाती एक सय मिटर निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । चालु आर्थिक वर्षमा सुरुवात गरेको महत्वकांक्षी पर्यटकीय परियोजना तीव्ररुपमा अघि बढाइने उनले जानकारी दिए ।

चीनको ग्रेटवाल हेर्न पुग्दा त्यहाँ पर्यटकको लहर देखेपछि ‘हेलम्बु ग्रेटवाल’ को सोच आएको अध्यक्ष शेर्पा बताउँछन् । ६० किलोमिटर लामो हुने पदमार्गले समुन्द्री सतहबाट २५ सय उचाईमा पर्ने सेर्माथाङलाई पनि छुनेछ ।

हेलम्बुु गाउँपालिका १ बुद्घपार्कबाट सुरु हुने पदमार्ग ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङगुफा, सेमीसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर सकिने छ ।

पदमार्गमा स्थानीय स्लेट ढुंगा छापिने छ । छापिएको ढुंगामा स्थानीय संस्कृती झल्काउने शिलालेख खोपिने र हरेक खण्डमा दशवटा खुड्किला हुनेछन् । पर्यटक बिसौनी र रातको समयमा सोलार बत्ति ट्रेलको आकर्षणको रुपमा रहने गाउँपालिकाले जनाएको छ । ह्योल्मो जातिको लोपोन्मुख संस्कृति नेपालको हेलम्बुमा मात्रै देख्न पाइने र यहाँको गुम्बाहरु पर्यटकहरुको पहिलो आकर्षणको केन्द्र रहेकाले ट्रेलको उच्च महत्व रहेको अध्यक्ष शेर्पा बताउँछन् ।

सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय केन्द्र हेलम्बुलाई ग्रेट ट्रेलको पर्खालले घेर्ने छ । गोसाईकुण्ड र लाङटाङ पर्यटकीय पदयात्राको सिन्धुपाल्चोक प्रवेशद्वार पनि ग्रेट ट्रेलमा पर्नेछ । रसुवा, सिन्धुपाल्चोक र दोलखा जिल्लाका हिमशृखंला ग्रेट ट्रेलबाट हेर्न सकिने छ ।

पुसको दोस्रो साताबाट ट्रेलका अधिकांस क्षेत्रमा हिमपात हुन्छ । लोपोन्मुख वन्यजन्तु रेडपान्डा, प्राकृतिक र पर्यवरणीय दृश्य एवं स्थानीय धर्म, संस्कृति अवलोकन ट्रेलका विशेषता रहेको गाउँपालिकाले जनाएको छ ।

लागत कति ?

महत्वाकांक्षी परियोजनाको प्रारम्भिक १० किलोमिटर क्षेत्रको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) गाउँपालिकाले चालू आर्थिक वर्षमा निर्माण गरेको थियो । गाउँपालिकले बनाएको डिपिआरलाई टेकेर प्रदेश सरकारले पर्यटन पूर्वाधार शीर्षकामा चालू आर्थिक वर्षको बजेटबाट ५० लाख विनियोजन गरेको थियो ।

सोही बजेटबाट सुरुवाती एक सय मिटर ग्रेट ट्रेल निर्माण सकिएको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए । उक्त परियोजनालाई आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्याक्रममा पनि गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष शेर्पाले बताए ।

यस वर्षको बजेटबाट एक करोड रुपैयाँ परियोजनालाई विनियोजन गर्ने तयारी गाउँपालिकाको छ । कुल एक अर्व लागत अनुमान गरिएको परियोजनाको लागि आवश्यक बजेटका लागि प्रदेश र संघिय सरकार एवं पर्यटन बोर्डलाई अपिल गरिएको गाउँपालिकाले जनाएको छ । परियोजना निर्माण सम्पन्न भएपछि हेलम्बू क्षेत्रका स्थानीयको आर्थिक हैसियातले काचुँली फेर्ने विश्वास गाउँपालिकाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment