Comments Add Comment

नेपाली मुलका धरेलले जिते क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड

नगद पुरस्कार नेपाली मन्दिरलाई दिने घोषणा

टोरोन्टो । नेपाली मुलका डा. तुल्सी धरेलले क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड २०१९ जित्न सफल भएका छन् ।

क्यानडामा रहेका विभिन्न देशका २५ जनालाई उत्कृष्ट आप्रवासी अवार्ड दिने गरिन्छ । रोयल बैंक अफ क्यानडाको मुख्य प्रायोजनमा क्यानडियन इमिग्रेन्ट म्यागेजिनले पेशा, सामाजिक कार्य लगायत विभिन्न पक्षहरु विचार गरेर हरेक वर्ष उत्कृष्ट २५ जनालाई यो अवार्ड दिने गर्दछ ।

एक हजार बढी आप्रवासीबीच भएको प्रतिस्पर्धामा डा. धरेल पनि उत्कृष्ट २५ भित्र परेर अवार्ड जित्न सफल भए । नेपाली मूलका धरेलसँगै सिरिया, लेबनान, दक्षिण कोरिया, भियतनाम, जमैका, भेनेजुएला, युगाण्डा, चिन, हङकङ, नाइजेरिया, इरान, भारत, पाकिस्तान, फिलिपिन्सका २५ आप्रवासी यस वर्षको अवार्डबाट सम्मानित भएका छन् ।

टोरोन्टोमा आयोजित एक समारोहमा अवार्ड पाएपछि स्थानिय सञ्चारमाध्यमसँग कुरा गर्दै डा. धरेलले विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका दूत गौतम बुद्ध र गोर्खालीले चिनिएको नेपालको प्रनिधित्व गर्दै आफूले यो अवार्ड ग्रहण गरेको बताए ।

डा. धरेलले आफूले प्राप्त गरेको नगद पुरस्कार नेप्लिज क्यानडियन हेरिटेज (नेपाली शिव मन्दिर)लाई दिने घोषणा पनि गरे ।

यो अवार्डबाट आफ्नो समुदायमा अझै प्रतिबद्ध भएर काम गर्न ऊर्जा मिलेको उनले बताए । साथै आफूलाई जिताउन अनलाइन भोट गरेर सहयोग पुर्‍याउने क्यानडावासी नेपालीलगायत देश विदेशबाट पनि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment