Comments Add Comment

माग नै नगरिएको पदमा कर्मचारी भर्नाको विज्ञापन

चैनपुर नगरपालिकाले मन्त्रालयलाई भन्यो– विज्ञापन रद्द गर

१२ असार, काठमाडौं । देशभरका स्थानीय तहका लागि लोक सेवा आयोगले ९ हजार १६१ पदमा विज्ञापन आह्वान गर्‍यो । यो विज्ञापनमा संखुवासभाको चैनपुर नगरपालिकाका २७ जना कर्मचारी माग गरिएको छ ।

दरखास्त दिने म्याद सकिनै लाग्दा चैनपुर नगरपालिका आफैंले विज्ञापन रद्ध गरिदिन आग्रह गर्दै बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । लोक सेवा आयोगलाई बोधार्थ दिइएको पत्रमा चैनपुर नगरपालिका प्रमुख भरत कुमार खत्रीको हस्ताक्षर छ । चलानी नं. २०५१ को पत्रमा यदि चैनपुर नगरपालिकामा कर्मचारी पठाइए नियुक्ति नदिने चेतावनीसमेत दिइएको छ ।

माग नगरेको पदमा विज्ञापन !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखाले स्थानीय तहहरुलाई २०७५ वैशाख ११ गते परिपत्र गर्दै आफूलाई आवश्यक कर्मचारीको विवरण पठाउन भनेको थियो । विवरण संकलन गरी लोक सेवा आयोगलाई कर्मचारीको विज्ञापन गरिदिन भनिएको थियो ।

कर्मचारी माग फारममा स्थानीय तहको प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर हुनुपर्ने भनिएको थियो । तर चैनपुर नगरपालिका प्रमुख खत्रीले माग फारममा आफ्नो हस्ताक्षर नै नभएकाले कर्मचारीको विज्ञापन रद्ध गर्न पत्रमार्फत् भनेका छन् ।

उनले अनलाइनखबरसँग भने, ‘हामीले अहिले कर्मचारी मागेका थिएनौं । २०७४ सालमै ८५ जना कर्मचारी आवश्यक छ, व्यवस्था गरिदेऊ भनेर मन्त्रालयलाई भनेका थियौं । अहिले त २७ जना कर्मचारीको पो विज्ञापन खोलियो । त्यही भएर मैले जानी–जानी २७ जना कर्मचारी चाहिएन भनेर पत्र पठाएको हुँ ।’

उनले भने, ‘अहिले मैले २७ जना कर्मचारी चाहियो भनेर फारम भरेको छैन । यदि ती कर्मचारी भर्ना गरियो र यहाँ नियुक्तिका लागि पठाइयो भने हामीले नियुक्ति दिँदैनौं ।’ उनले चैनपुर नगरपालिकाका सबै शाखाहरु प्रमुखविहीन भएकाले पहिले ती कर्मचारीहरुको व्यवस्था मन्त्रालयले गरिदिनुपर्ने बताए ।

विज्ञापन खुलिसक्यो, अब के हुन्छ ?

देवीप्रसाद सुवेदी

सामान्य प्रशासन मन्त्रालयका अधिकारीले भने चैनपुर नगरपालिकाको पत्र नआइसकेकाले अहिले केही भन्न नसकिने जनाएका छन् ।

लोक सेवा आयोगका अधिकारीले पनि चैनपुर नगरपालिकाको पत्रबारे अनभिज्ञता व्यक्त गरेका छन् । लोक सेवा आयोगको विज्ञापन तथा सूचना शाखा प्रमुख देवीप्रसाद सुवेदीका अनुसार सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार नै लोक सेवा आयोगले कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलेको हो ।

उपसचिव सुवेदीका अनुसार परीक्षा सुरु हुनुभन्दा अगाडि नै पत्र प्राप्त भए विज्ञापन रद्ध हुने बताए । ‘यो विद्यमान कानून अनुरूपकै प्रकृया हो । लोक सेवा आयोग ऐनको दफा २८ अनुसार यदि विज्ञापन अनुरोधकर्ताले नै लिखित परीक्षा अगावै विज्ञापन रद्द गर्न अनुरोध गरेमा आयोगले विज्ञापन रद्द गर्दछ । लिखित परीक्षा सञ्चालन भइसकेपछि भने रद्द गर्न मिल्दैन ।’

यदि चैनपुर नगरपालिकाको मात्र विज्ञापन भएको रहेछ भने परीक्षा रद्द हुने र आवेदकको दरखास्त दस्तुरसमेत फिर्ता हुने उनले जानकारी दिए ।

सुवेदीले भने, ‘यदि चैनपुर नगरपालिकाको मात्र विज्ञापन भएको रहेछ भने आवेदकको दरखास्त दस्तुर फिर्ता हुन्छ । अन्यथा सो विज्ञापन नम्बरबाट उक्त नगरपालिकाको संख्या घट्छ, तर दरखास्त दिनेहरूले अन्य पदका लागि परीक्षा दिन्छन्, राजस्व फिर्ता हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment