Comments Add Comment

गाउँपालिकाको नयाँ कार्यक्रम : गरीवसंग अध्यक्ष, महिलासंग उपाध्यक्ष

१२ असार, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा दुईवटा नयाँ कार्यक्रम घोषणा गरेको छ । ती हुन् ‘गरीबसँग अध्यक्ष’ र ‘महिलासंग उपाध्यक्ष’ कार्यक्रम ।

मंगलबार गाउँसभामा पेश गरिएको आगामी आर्थिक बर्षको कार्यक्रम तथा वजेटमा यी दुई नयाँ कार्यक्रमहरु समावेश गरिएको छ । गाउँपालिकाभित्रका बिपन्न परिवारलाई प्रत्यक्ष सहयोग पुर्‍याउनका लागि ‘गरीबसंग अध्यक्ष’ कार्यक्रम प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष कमल गड्सिला ‘एनान’ ले जानकारी दिए ।

उनले भने ‘आर्थिक अवस्था कमजोर भएकै कारण गरीव परिवारका घरका छाना खरले छाएका छन्, घर चुहिएर बर्षामा राम्रोसंग सुत्न पनि सक्दैनन् । यस कार्यक्रम अन्तरगत पहिलो काम गरीव परवारका घरको छानामा टिन लगाउने हुनेछ ।’

उनले गाउँपालिकाले गरीव परिवारको सूचीकरण गरी साँझ बिहान छाक टार्न पनि धौ धौ भएका परिवारहरुलाई उत्पादनमूलक क्षेत्रमा जोड्ने गरी कार्यक्रम बनाइने बताए । ‘विपन्न परिवारका बालबालिकाहरुको शिक्षा, स्वास्थ्यको बिषयमा पनि गाउँपालिकाले ठोस नीति बनाउने छ’ अध्यक्ष एनानले भने ‘गाउँपालिकाले पहिलो प्राथमिकता उनीहरुको घर मर्मतलाई दिन्छ ।’

यस्तै अर्को कार्यक्रम “महिलासंग उपाध्यक्ष” मा महिलाहरुको क्षमता विकास, प्राविधिक शिक्षासम्मका क्रियाकलापहरु यस कार्यक्रममा समावेश गर्ने योजना रहेको उपाध्यक्ष भगवती बमले बताइन् । ‘पहिलो प्राथमिकता महिलाहरुको क्षमता विकासमा दिइनेछ’ उनले भनिन् ।

महिलाहरुलाई उत्पादनमा सहभागि गराउँदै आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप यो कार्यक्रम ल्याइएको उपाध्यक्ष बमले बताइन् ।

‘दुवै कार्यक्रमहरु गाउँसभामा पेश भएका छन्, गाउँपालिकाको लागि दुवै महत्वपूर्ण कार्यक्रम हुन्’ प्रमुख प्रशासकीय अधिकृत शंकर सुचीकारले भने ‘यी दुवै कार्यक्रमको प्रभावकारिता हेरी आगामी बर्षमा पनि निरन्तरता दिइनेछ ।’

गाउँ कार्यपालिकाले ‘गरीबसंग अध्यक्ष’ कार्यक्रमका लागि ५० लाख र ‘महिलासंग उपाध्यक्ष’ कार्यक्रमका लागि १२ लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment