Comments Add Comment

मार्जिन ट्रेडिङले सेयर लगानीकर्ता उत्साहित, बजारमा के पर्ला असर ?

१२ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बिहीबार ६ वटा ब्रोकर कम्पनीहरुलाई मार्जिन ट्रेडिङ सम्बन्धी कारोबार गर्न अनुमति दिएको छ । नेप्सेले एक कार्यक्रम गरेर ती कम्पनीहरुलाई अनुमति पत्र वितरण गर्‍यो ।

क्रिस्टल कंचनजंघा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सेक्योर्ड सेक्यूरिटिज, श्री कृष्ण सेक्यूरिटिज, प्राईमो सेक्यूरिटिज र नेपाल स्टक हाउसले मार्जिन ट्रेडिङका लागि नेप्सेबाट अनुमति पाएका छन् । लामो समयदेखि ब्रोकरहरुले यो सुविधाको माग गर्दै आएका थिए । यसले सेयर बजारलाई सकारात्मक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

के हो मार्जिन ट्रेडिङ ?

मार्जिन कारोबार भनेको सेयर कारोबारका लिन पाइने कर्जाको सुविधा हो । आफूसँग पर्याप्त रकम नहुँदा ब्रोकर कम्पनीबाटै ऋण लिएर लगानीकर्ताले सेयर किन्न सक्छन् ।

यसमा लगानीकर्ताले ५० प्रतिशत रकम आफैंले हाल्नुपर्छ भने त्यसमा ५० प्रतिशतसम्म ब्रोकरले हालिदिन्छन् । मानौ, लगानीकर्तासँग २ हजार रुपैयाँ मात्रै छ तर ४ हजार रुपैयाँको सेयर किन्न चाहन्छ भने अपुग २ हजार रुपैयाँ ब्रोकर कम्पनीले कर्जाको रुपमा उपलब्ध गराउन सक्छ ।

ब्रोकर कार्यालयबाट मार्जिन कारोबारको सुविधा पाउने भएपछि लगानीकर्ताहरुले यसको स्वागत गरेका छन् । ढिलै भए पनि सेयर बजारलाई उकास्न एउटा राम्रो काम भएको उनीहरुको प्रतिक्रिया छ ।

नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ, सेयर बजार लगानीकर्ता दबाव समूह लगायतसंगठनले नेप्सेको कदम स्वागतयोग्य भएको बताएका छन् ।

सेयर मार्जिन कारोबार शुरु भएपछि बजारमा सकारात्मक प्रभाव पार्ने उनीहरुको आशा छ । इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले मार्जिन ट्रेडिङका लागि ब्रोकरहरुले अनुमति पाउनु एकदमै राम्रो भएको बताए । उनले मार्जिन कारोबारले सेयर ब्रोकर र लगानीकर्ता दुबैलाई फाइदा पुग्ने उनको भनाइ छ ।

‘दैनिक कारोबार गर्नेहरुका लागि यो खुसीको कुरा हो, आफूसँग आधामात्रै पैसा भए पनि सेयर किन्न सकिन्छ,’ अनलाइनखबरसँको कुराकानीमा अध्यक्ष रौनियारले भने, ‘यो राम्रो विषय हो, यसले सकारात्मक असर पक्कै गर्नेछ ।’

ब्रोकर कार्यालयहरुले बैंकबाट कर्जा ल्याएर लगानी गर्नुपर्ने भएकाले ब्याज भने महंगो हुने उनी बताउँछन् । ब्याजदर महंगो भए पनि अल्पकालका लागि गरिने भएकाले लगानीकर्ताहरुलाई खासै फरक नपर्ने उनको विश्वास छ ।

नेपाल पुँजी बजार लगानीकर्ता संघले पनि नेप्सेको कदमलाई स्वागतयोग्य भनेको छ । संघकी अध्यक्ष राधा पोखरेलले ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबारको सुविधा दिनु राम्रो भएको बताइन् ।

‘पहिल्यै आउनु पर्ने थियो, ढिला आए पनि राम्रो आयो । नेप्सेको निर्णयको संघ स्वागत गर्दछ,’ अध्यक्ष पोखरेलले भनिन्, ‘मार्जिन कारोबारले सेयर बजारमा राम्रो प्रभाव पार्ने र लगानीकर्ताहरुलाई राहत मिल्ने विश्वास लिएका छौं ।’

चार महिना पहिले सेयर बजार सुधारको माग राख्दै आमरण अनसन बसेका लगानीकर्ता हरि ढकालले पनि मार्जिन कारोबारको स्वागत गरे । सेयर बजार लगानीकर्ता दबाब समूहका अध्यक्षसमेत रहेका ढकालले आफू र आफ्नो समूहले यस्तै विषय सम्वोधनका लागि आमरण अनसन बस्नुपरेको उल्लेख गरे ।

उनले भने, ‘हाम्रो माग सबै ब्रोकरहरुलाई दिनुपर्ने थियो । यसले लगानीकर्ताहरुलाई प्रोत्साहन हुनेछ ।’

नेप्सेका महाप्रवन्धक पनि खुशी

नेपाल स्टक एक्सचेञ्जका महाप्रवन्धक चन्द्रसिंह साउदले सेयर बजारका लागि यो महत्वपूर्ण उपलब्धी भएको बताए । नेपालको इतिहासमा पहिलो पटक मार्जिन ट्रेडिङको सुविधा आएको भन्दै उनले यसको सेयर बजारमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरे ।

‘यसअघि सेयर लोन मात्रै थियो, यो नेपालका लागि नयाँ र एतिहासिक हो,’ महाप्रबन्धक साउदले भने, ‘यसले सेयर बजारमा सकरात्मक प्रभाव पार्छ, यो सबैको खुसीको कुरा हो ।’

अब ब्रोकरहरुको कार्यक्षेत्र विसतार भएको र लगानीकर्ताहरुलाई लगानीका लागि थप सहज भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment