Comments Add Comment

कांग्रेसको आरोप : शेरधन राई भोजपुरको मात्रै मुख्यमन्त्री बने

१२ असार, विराटनगर । नेपाली कांग्रेसले आगामी आर्थिक बर्षको बजेटमा मुख्यमन्त्री शेरधन राईले आफ्नो जिल्ला भोजपुरमा ठूला योजना र कार्यक्रम केन्द्रित गरेको आरोप लगाएका छन् ।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पुर्वाधार विकास मन्त्रालय र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशभरीको बजेट भोजपुर जिल्लामा केन्द्रित गरेको आरोप लगाएका हुन् ।

‘सरकारले ल्याएको बजेटमा मुख्यमन्त्रीलाई भोजपुर जिल्लाको समन्वय समितिको सभापति पो लगेर राख्न खोजेको देखिन्छ,’ उनले भने ‘धनकुटा, तेह्रथुम, संखुवासभा जस्ता जिल्लाका योजनामा हजार/हजारमा छन्, भोजपुर हेर्दा करोड/करोडमा छ ।’

कार्कीले मुख्यमन्त्रीको जिल्ला भोजपुरमा २३ वटा सडक, २१ वटा पुल, २७ वटा भवन, खानेपानी २६ वटा लगायतका अन्य क्षेत्रगत बजेटमा पनि उस्तै रहेको दृष्टान्त प्रस्तुत गरे ।

उनले भोजपुर जिल्लामा लाख र करोड भन्दा कमको योजना र कार्यक्रम नरहेको भन्दै मुख्यमन्त्रीलाई प्रदेश १ को मुख्यमन्त्री नबनाएर भोजपुर जिल्लाको मुख्यमन्त्री जस्तो मात्र बनाएकाले सबै खुसी हुने ठाउँ समेत नरहने बताए ।

उनले भने ‘मुख्यमन्त्री सबैले मुख्यमन्त्री हो । नेकपाको मात्र होइन, नेकपाले बनाएको मुख्यमन्त्री हो, मेरो पनि मुख्यमन्त्री हो’ उनले भने । तर बजेट हेर्दा मुख्यमन्त्री सबैको बन्न नसकेको देखिने कार्कीले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment